काठमाडौं–अविरल वर्षाका कारण नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । सडक खुलेसँगै पोखराबाट नारायणगढतर्फ र नारायणगढबाट पोखरातर्फ जाने सवारीसाधन तथा ढुवानीका साधन चल्न थालेका छन् ।
सडक डिभिजन कार्यालय चितवनका अनुसार नाम्सीखोलामा बिहान ७ः५५ बजे लेदोसहितको पहिरो खसेको थियो । कार्यालयका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार पहिरो पन्छाएपछि दिउँसो १२ः१५ बजेदेखि सडक सञ्चालनमा आएको हो ।
यता, लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डका विभिन्न ११ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार शीलतबजारमा लेदो र रुखसहितको पहिरो खसेको छ भने सडक छेउसमेत भासिएको छ । बेनिघाट बजारनजिक गोमती खोलामा लेदोसहितको पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
कृष्णभीरमा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ । ज्यामिरेघाट–चौकीभीर क्षेत्रमा ढुंगा र लेदोसहितको पहिरो खसेको छ । हुग्दी खोलादेखि जवाङखोलासम्म ठाउँठाउँमा ढुंगासहितका साना पहिरो खसेका छन् ।
फिस्लिङ आसपासका तीन स्थानमा गरी करिब २०० मिटर सडकमा ढुंगा, लेदो र रुखसहितको पहिरो खसेको छ । त्यहाँ करिब ३० मिटर सडकको आधा भाग चर्किएको छ । चुम्लिङटारमा समेत ढुंगासहितको पहिरो खसेको छ ।
धारापानीका दुई स्थानमा गरी करिब ५० मिटर सडकको आधा भाग भत्किएको मिश्रले जानकारी दिए । सोही क्षेत्रमा कल्भर्ट खुलाउने काम भइरहेको छ ।
घोप्टेभीर र सिमलधारामा ठूला ढुंगा तथा लेदोसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । अवरुद्ध सबै स्थानमा पहिरो पन्छाउने काम भइरहेको सडक आयोजनाले जनाएको छ ।
मिश्रका अनुसार थप ठूलो पहिरो नखसेमा अवरुद्ध सडक साँझसम्म पन्छाएर यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । पहिरो पन्छाउन सडक निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीका उपकरणसमेत परिचालन गरिएको छ ।


विश्व खबर 


















