images
images
  • भोटेकोशी–त्रिशूलीको बाढीले सडक बगाएपछि रसुवागढी जोड्न वैकल्पिक मार्ग निर्माण सुरु

    काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले रसुवागढीसम्म जोड्ने अन्तर्राष्ट्रिय सडकको अधिकांश भागमा क्षति पुर्‍याएपछि नुवाकोटबाट रसुवा जोड्ने वैकल्पिक सडक निर्माण तथा स्तरोन्नतिको काम सुरु भएको छ ।

    नदी किनारको सडकमा ठूलो क्षति पुगेपछि सूर्यगढी गाउँपालिकाले पुरानो सडकको मार्गलाई वैकल्पिक रूपमा प्रयोग गर्ने गरी सुधार तथा विस्तारको काम अघि बढाएको हो ।

    गाउँपालिकाका अध्यक्ष शान्तबहादुर लामाका अनुसार चोगदेदेखि गैरीखर्क, कुवापानी, मस्याङभञ्ज्याङ हुँदै ओख्ले बगरस्थित फलाखुखोलासम्मको सडक सुधार तथा फराकिलो बनाउने काम सुरु गरिएको छ ।

    अध्यक्ष लामाले पुरानो सडकको मार्गलाई आवश्यकताअनुसार स्तरोन्नति र फराकिलो बनाएर वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बताए ।

    प्रारम्भिक सडक सुधारको काम करिब एक महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए ।

    फलाखुखोलामा बेलिब्रिज बनाइने

    सडक सुधारको काम सम्पन्न भएपछि पूर्वाधार विकास कार्यालयमार्फत फलाखुखोलाको ओख्ले बगरमा बेलिब्रिज निर्माण गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

    बेलिब्रिज निर्माण भएपछि नुवाकोटबाट रसुवा प्रवेश गर्ने वैकल्पिक सडक सञ्चालनमा आउनेछ । यसबाट रसुवाको दक्षिणी तथा उत्तरी क्षेत्रमा आवतजावत सहज हुने स्थानीयको अपेक्षा छ ।

    स्थानीयका अनुसार ओख्ले बगरमा पुल निर्माण भएपछि पाहाखोला दोभान तथा क्रसर क्षेत्रबाट धुसेनी, सिम्लेभोर्ले, अधिकारी तथा देवकोटा टोल हुँदै धारापानी, जीवजीवे र घुम्तीमोडस्थित पासाङल्हामु मार्गसम्मको यात्रा सहज हुनेछ ।

    रसुवा–धुसेनीका स्थानीय धर्मदत्त अधिकारीले वैकल्पिक सडक सञ्चालनमा आए जिल्लाको दक्षिणी र उत्तरी भेगबीचको आवागमन सहज हुने बताए । उनका अनुसार वैकल्पिक मार्ग प्रयोग गर्दा धुन्चेबाट काठमाडौंसम्मको यात्रा करिब साढे चार घण्टामा गर्न सकिनेछ ।

    नदी किनारबाट सडक सार्न सुझाव

    बाढीबाट प्रभावित नुवाकोटको त्रिशूली–ढुंगे बजारदेखि रसुवागढीसम्मको सडकलाई पुनर्निर्माण गर्दा साविकको नदी किनारभन्दा सुरक्षित भूभागतर्फ केही माथि सारेर निर्माण गर्नुपर्ने स्थानीयको सुझाव छ ।

    नागरिक समाजले ढुंगेबाट बाद्रे, सिम्बुटार, गेर्खुखोला, फूलबारी, गेर्खुटार, गैरीखर्क, सियाले, रिठ्ठेघारी, फलाखुखोला, पालेको वन, बनुवा, भलायोडाँडा, राम्चेको पलेप, पुरानो ठाडेगाउँ, भिमली, धुन्चे, ठूलोभार्खु, सानुभार्खु, ब्राबल, ठूलोस्याफ्रुको पुछार, भञ्ज्याङ, वृद्धिम र खैदी हुँदै रसुवागढीसम्म जोडिने वैकल्पिक अन्तर्राष्ट्रिय सडक मार्गको प्रस्ताव अघि सारेको छ ।

    नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले नदी तथा खोलाको तटीय क्षेत्रभन्दा सुरक्षित भूभागबाट सडक निर्माण गर्न सके भविष्यमा बाढीपहिरोबाट हुने क्षति कम गर्न सकिने बताए ।

    “अन्तर्राष्ट्रिय व्यापारिक मार्गलाई पटकपटक प्राकृतिक विपत्तिको जोखिममा राख्नु हुँदैन,” उनले भने, “सुरक्षित भूभागबाट दीर्घकालीन सडक निर्माण गर्न सके चीनसँगको व्यापारिक नाका जोड्ने मार्ग दिगो र भरपर्दो बनाउन सकिन्छ।”

    भूगर्भीय अध्ययनमा जोड

    आधुनिक सडक सञ्जालको विकाससँगै रसुवागढी नेपाल–चीनबीचको महत्वपूर्ण व्यापारिक नाकाका रूपमा स्थापित भएकाले यसलाई जोड्ने सडकलाई भरपर्दो र सुरक्षित बनाउनुपर्ने नागरिक समाजको माग छ ।

    रणनीतिक तथा व्यापारिक महत्वको सडक पुनर्निर्माण गर्दा भूगर्भीय अवस्था, बाढीको जोखिम, पहिरोको सम्भावना र वातावरणीय प्रभावको अध्ययनलाई प्राथमिकता दिनुपर्ने अध्यक्ष तामाङले बताए ।

    सूर्यगढी गाउँपालिकाले सुरु गरेको वैकल्पिक सडक निर्माणको कामले तत्कालीन आवागमन सहज बनाउनुका साथै दीर्घकालीन रूपमा सुरक्षित सडक सञ्जाल विकासको आधार तयार गर्ने स्थानीयको अपेक्षा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images