images
images
  • डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताको नारासहित आज विश्व पर्यटन दिवस मनाइँदै

    काठमाडौं – ४७औँ विश्व पर्यटन दिवस आज नेपालमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर २७ मा मनाइने दिवसका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, संयुक्त राष्ट्रसङ्घीय पर्यटन संस्था र नेपाल पर्यटन बोर्डको सहकार्यमा विभिन्न कार्यक्रम आयोजना गरिएको हो ।

    यस वर्षको विश्व पर्यटन दिवसको मूल नाराका रूपमा ‘पर्यटनलाई पुनःसंरचना गर्न डिजिटल कार्यसूची र कृत्रिम बुद्धिमत्ता’ तय गरिएको छ ।

    यही नारासहित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा मुख्य कार्यक्रम आयोजना गरिएको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए ।

    दिवसका अवसरमा बागमती प्रदेशको उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयले साइकल यात्रा आयोजना गरेको छ ।

    पाटन दरबार क्षेत्रबाट सुरु भएको साइकल यात्रा पुल्चोक, कुपण्डोल, माइतीघर, रामशाहपथ, जयनेपाल, नक्साल, टङ्गाल, बालुवाटार, नारायणगोपाल चोक हुँदै धुम्बाराहीस्थित होटलसम्म पुगेको थियो ।

    साइकल यात्रामा बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिसहित पर्यटन व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा युवाको सहभागिता रहेको थियो ।

    यसैगरी नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सले काठमाडौंको वसन्तपुर दरबार क्षेत्रबाट ‘नेपाल निम्तो–सम्पदा दौड–२०२६’ आयोजना गरेको छ ।
    काठमाडौं र ललितपुरका ऐतिहासिक तथा सांस्कृतिक सम्पदालाई जोड्ने उद्देश्यले आयोजना गरिएको दौड वसन्तपुरबाट सुरु भई विशालबजार, न्युरोड गेट, रत्नपार्क, सहिदगेट, थापाथली, साझा पेट्रोल पम्प र लबिम मल हुँदै पाटन दरबार क्षेत्रमा पुगेर सम्पन्न भएको हो ।

    करिब ६ किलोमिटर दूरीको दौडमा पर्यटन व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा युवाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

    पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार प्रतिबद्ध

    बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले प्रदेशभित्रका पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार प्रयासरत रहेको बताएका छन् ।

    विश्व पर्यटन दिवसका अवसरमा बागमती प्रदेश पर्यटन कार्यालयले आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रका समस्या गहन रूपमा अध्ययन गरी समाधानका लागि केन्द्र, प्रदेश र स्थानीय तहबीच समन्वय गरिने बताए ।

    “बागमतीभित्रको पर्यटन, उद्योग र यातायात क्षेत्रका समस्या समाधानका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्नेछौँ,” उनले भने ।

    उनले संस्कृति र प्रकृति नेपालको पर्यटनका मुख्य आकर्षण भएकाले तिनको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताए। पर्यटन व्यवसायी र संस्कृतिकर्मीबीच पनि सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।

    पर्यटनलाई रोजगारी र अर्थतन्त्रसँग जोड्नुपर्ने

    बागमती प्रदेश उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले नेपाललाई विश्वको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने बताए ।

    पर्यटन घुमफिरमा मात्र सीमित नभई रोजगारी सिर्जना र अर्थतन्त्रलाई बलियो बनाउने क्षेत्र भएको उनले बताए । विभिन्न समयमा आएका अवरोधका कारण पर्यटन क्षेत्र प्रभावित भएको उनको भनाइ थियो ।

    मन्त्रालयकी सचिव अनिता निरौलाले स्वास्थ्य तथा आरामसँग सम्बन्धित पर्यटन र कृत्रिम बुद्धिमत्तालाई पर्यटनसँग जोडेर अघि बढाउनुपर्ने बताइन्। मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि बागमती प्रदेशले विभिन्न कार्यक्रम अघि बढाएको उनले जानकारी दिइन् ।

    बाढीपहिरोले पर्यटन क्षेत्रमा ठूलो क्षति

    नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य सहदेव धमलाले बागमती प्रदेशले पछिल्लो बाढीपहिरोबाट पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति व्यहोरेको बताए ।

    उनका अनुसार बाढीका कारण १८५ होटल र ६५ रेष्टुरेन्टमा क्षति पुगेको छ भने पर्यटन क्षेत्रमा कार्यरत सयौँ श्रमिक प्रभावित भएका छन् ।

    होटल सङ्घ नेपाल बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले भोटेकोशी बाढीपछि नेपालको पर्यटनबारे अन्तर्राष्ट्रियस्तरमा नकारात्मक सन्देश गएको भन्दै त्यसलाई चिर्न सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए ।

    उनले पर्यटन क्षेत्रको महत्वपूर्ण आधारका रूपमा रहेको होटल व्यवसायलाई पुनःस्थापित गर्न सरकारले विशेष कार्यक्रम तथा सहयोगका प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।

    पर्यटन कार्यालय बागमती प्रदेशका प्रमुख पवनकुमार पोखरेलले पनि भोटेकोशी बाढीको असर नेपालको पर्यटन क्षेत्रमा परेको बताए । विपद्का कारण पर्यटन व्यवसायी तथा पर्यटन क्षेत्रमा कार्यरत श्रमिक ठूलो प्रभावित भएको उल्लेख गर्दै उनले पर्यटन दिवसमार्फत विपद्पछि पनि नेपाल पर्यटकका लागि सुरक्षित रहेको सन्देश दिन सकिने बताए ।

    बागमतीको पर्यटन विकासमा जोड

    नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिजका पूर्वअध्यक्ष शिव अधिकारी, वर्ल्ड साइक्लिस्ट क्लब नेपालका पूर्वअध्यक्ष कपिल शाही, संस्कृतिविद् सुदर्शनराज तिवारी, अर्जुनमणि दीक्षित तथा जलवायु विज्ञ ङमिन्द्र दाहाललगायतले नेपाल आउने विदेशी पर्यटकमध्ये ठूलो हिस्सा बागमती प्रदेशमा आउने भएकाले प्रदेशको पर्यटन पूर्वाधार र गन्तव्य विकासमा विशेष ध्यान दिनुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images