काठमाडौं– अविरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड खुलाउन १० वटा हेभी इक्विपमेन्ट परिचालन गरिएको छ ।
विपद् व्यवस्थापन टोली र सडक डिभिजन कार्यालयको समन्वयमा डोजर तथा एक्साभेटर परिचालन गरी सडकमा थुप्रिएको लेदो, ढुंगा र माटो पन्छाउने काम भइरहेको छ।
लगातारको भारी वर्षाका कारण मलेखुदेखि मुग्लिङसम्मको सडकखण्डका विभिन्न स्थानमा ठूलो पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको हो। केही स्थानमा सडकमा लेदोसहितको पहिरो थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भएपछि यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका छन्। अवरुद्ध सडक खुलाउन डोजर, एक्साभेटर र लोडरसहित १० वटा भारी उपकरण संवेदनशील स्थानमा एकैसाथ परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
निरन्तर वर्षा भइरहनुका साथै माथिबाट ढुंगा खस्ने जोखिमका बीच प्राविधिक टोलीले पहिरो पन्छाउने काम गरिरहेको छ । तत्काल राजमार्गलाई कम्तीमा एकतर्फी सञ्चालनमा ल्याएर रोकिएका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाउने तयारी भइरहेको प्रशासनले जनाएको छ ।
मनसुन सक्रिय भएसँगै पहाडी क्षेत्रमा पहिरो र नदी–खोलामा बाढी आउने क्रम बढेको छ। पृथ्वी राजमार्गसहित विभिन्न रणनीतिक सडक अवरुद्ध हुँदा यात्रु आवागमन तथा ढुवानीसमेत प्रभावित भएको छ ।
सुरक्षा निकाय तथा सडक विभागले पहिरोको जोखिम भएका सडकमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेका छन् ।


विश्व खबर 

















