images
images
  • हिमालयन रिइन्स्योरेन्सको ‘कमिसन’देखि सुलभ अग्रवालको खातासम्म : ५० लाखको कारोबारको भित्री कथा

    काठमाडौं – हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरमार्फत बाहिरिएको करोडौँ रुपैयाँको कारोबारमा ‘कमिसन’को आवरणमा रकम कसरी विभिन्न व्यक्ति तथा कम्पनीसम्म पुगेको थियो भन्ने विषय अनुसन्धानको मुख्य कडी बनेको छ ।

    नेपाल बीमा प्राधिकरणको निरीक्षण प्रतिवेदनलाई आधार बनाएर केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानपछि जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको सार्वजनिक विवरणले यो कारोबारको एउटा महत्वपूर्ण कडी व्यवसायी सुलभ अग्रवाल अध्यक्ष रहेको मोबिलोन ट्रेड इन्टरनेशनल प्रालिसम्म पुगेको देखाएको छ ।

    अभियोगपत्रमा उल्लेख विवरणअनुसार हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरले ब्रोकर कमिसनका नाममा ३ करोड ८२ लाख ५८ हजार ५० रुपैयाँभन्दा बढी प्राप्त गरेको देखिन्छ ।

    यही रकमको कारोबारको क्रममा ५० लाख रुपैयाँ अग्रवाल अध्यक्ष रहेको कम्पनीको खातामा पुगेको अनुसन्धानमा उल्लेख छ ।

    पहिलो प्रश्न : कमिसन वास्तवमै कसका लागि ?

    अनुसन्धानले उठाएको मुख्य प्रश्न नै यही हो – हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई भुक्तानी गरिएको रकमको वास्तविक आधार के थियो रु सार्वजनिक अनुसन्धान विवरणअनुसार ट्रष्ट इन्स्योरेन्स ब्रोकरले विभिन्न बीमा कम्पनीबाट आएको पुनर्बिमासम्बन्धी काम आफ्नै कम्पनीबाट भएको देखाउन कागजात तयार गरी कमिसन भुक्तानी गर्ने गरेको आरोप छ ।

    यसरी तयार गरिएको कारोबारमार्फत रकम बाहिरिएको अनुसन्धानको निष्कर्ष रहेको सार्वजनिक रिपोर्टमा उल्लेख छ । यसमा अर्को महत्वपूर्ण पक्ष के छ भने बीमा प्राधिकरणको निरीक्षण प्रतिवेदन नै सीआईबीको अनुसन्धानको आधार बनेको थियो। यही अनुसन्धानका आधारमा ट्रष्ट ब्रोकरसँग जोडिएका व्यक्तिहरूविरुद्ध मुद्दा अघि बढाइएको हो ।

    ट्रष्टको खाताबाट मृदुलाको खातामा ३ करोड ८० लाख

    अनुसन्धानका क्रममा ट्रष्ट इन्स्योरेन्स ब्रोकरको खाताबाट मृदुला सरियाको खातामा करिब ३ करोड ८० लाख रुपैयाँ पुगेको देखिएको छ ।

    मृदुलाले अनुसन्धानका क्रममा उक्त रकम झापास्थित आफ्नो जग्गा बिक्री गर्ने क्रममा ‘बैना’का रूपमा लिएको बयान दिएकी छन् । तर उक्त जग्गा हालसम्म पास नभएको र बाँकी रकमसमेत आफूले नलिएको उनको बयानमा उल्लेख छ ।

    यहाँबाट कारोबारको अर्को तह सुरु हुन्छ ।मृदुलाको बयानअनुसार उनले प्राप्त रकममध्ये करिब २ करोड ५० लाख रुपैयाँ संजयकुमार गुप्ताको नाममा र करिब १ करोड ३० लाख रुपैयाँ अर्को कम्पनीको नाममा चेकमार्फत भुक्तानी गरेकी थिइन् ।

    अर्थात्, अनुसन्धानमा देखिएको रकमको बाटो एउटै खातामा रोकिएको थिएन । ट्रष्ट ब्रोकरबाट निस्किएको रकम विभिन्न व्यक्ति तथा कम्पनीसम्म पुगेको देखिन्छ ।

    ५० लाख कहाँ पुग्यो ?

    यही रकमको प्रवाह पछ्याउँदा अनुसन्धान सुलभ अग्रवाल अध्यक्ष रहेको मोबिलोन ट्रेड इन्टरनेशनल प्रालिसम्म पुगेको देखिन्छ ।

    अभियोगपत्रअनुसार मृदुला सरियाबाट ५० लाख रुपैयाँ मोबिलोन ट्रेड इन्टरनेशनल प्रालिको खातामा पुगेको थियो । कम्पनीको बैंक खाता अग्रवालको एकल हस्ताक्षरबाट सञ्चालन हुने गरेको अनुसन्धानमा उल्लेख छ ।

    अग्रवालले पनि अनुसन्धानका क्रममा आफ्नो कम्पनीले मृदुलाबाट ५० लाख रुपैयाँ प्राप्त गरेको स्वीकार गरेका छन् । तर यहाँ उनको बयान र अनुसन्धानको निष्कर्षबीच महत्वपूर्ण भिन्नता देखिन्छ ।

    अग्रवालले उक्त रकम सापटीका रूपमा लिएको बताएका छन् । साथै उक्त रकमको स्रोत हिमालयन रिइन्स्योरेन्सबाट आएको विषयमा आफूलाई जानकारी नभएको उनको बयान छ ।

    उनका अनुसार बैंक तथा वित्तीय संस्थाबाट कम्पनीले थप कर्जा लिन कर्जा सीमा नपुगेका कारण व्यक्तिगत स्रोतबाट सापट लिइएको हो । यसले अनुसन्धानमा एउटा महत्वपूर्ण प्रश्न जन्माउँछ–सापटीका रूपमा प्राप्त भएको भनिएको ५० लाखको वास्तविक स्रोत र त्यसअघि भएको कारोबारबीच कस्तो सम्बन्ध थियो रु

    रकमको स्रोत र अन्तिम लाभग्राहीको प्रश्न

    अनुसन्धानमा कुनै कारोबारको वैधता जाँच्दा रकम कहाँबाट आयो भन्ने मात्र होइन, त्यो रकम कुन प्रयोजनका लागि र अन्ततः कसको नियन्त्रण वा लाभमा पुग्यो भन्ने प्रश्न पनि महत्वपूर्ण हुन्छ। यस प्रकरणमा हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट ब्रोकरसम्म रकम पुगेको देखिन्छ। त्यसपछि ट्रष्टबाट मृदुलाको खातामा ठूलो रकम गएको छ ।

    मृदुलाबाट विभिन्न व्यक्ति तथा कम्पनीतर्फ रकम गएको देखिन्छ । त्यही क्रममा ५० लाख रुपैयाँ मोबिलोन ट्रेड इन्टरनेशनलको खातामा पुगेको अभियोगपत्रमा उल्लेख छ ।

    तर अग्रवालले भने उक्त रकमको स्रोतबारे आफूलाई जानकारी नभएको बयान दिएका छन् । यसैले यो प्रकरणको ५० लाख रुपैयाँको बैंकिङ ट्रेल मात्र नभई त्यसको कारोबारगत प्रयोजन र स्रोतबीचको सम्बन्ध हो ।

    ‘कमिसन’बाट ‘सापटी’सम्म

    कारोबारको कागजी स्वरूप हेर्दा रकमका लागि फरक–फरक प्रयोजन देखिन्छ।हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट ब्रोकरतर्फ रकम ‘कमिसन’का रूपमा गएको देखिन्छ ।

    त्यसपछि मृदुलाको खातामा पुगेको रकमलाई जग्गा कारोबारको ‘बैना’का रूपमा व्याख्या गरिएको छ। अन्ततः अग्रवाल अध्यक्ष रहेको कम्पनीमा पुगेको ५० लाखलाई अग्रवालले ‘सापटी’ भनेका छन् ।

    यसरी एउटै रकमको प्रवाहमा कमिसन, जग्गाको बैना र सापटीजस्ता फरक कारोबारको आवरण देखिन्छ। अनुसन्धानकर्ताको चासो यही कारोबारबीचको सम्बन्धमा केन्द्रित भएको देखिन्छ ।

    हिमालयन रिइन्स्योरेन्सभित्रको निर्णय प्रक्रिया पनि प्रश्नमा

    यो प्रकरण केवल ब्रोकरको खाताबाट रकम बाहिरिएको विषयमा सीमित छैन । सार्वजनिक विवरणअनुसार नेपाल बीमा प्राधिकरणको निरीक्षण प्रतिवेदनलाई आधार बनाएर सीआईबीले अनुसन्धान गरेको थियो ।

    प्राधिकरणले हिमालयन रिइन्स्योरेन्सका तत्कालीन पदाधिकारी तथा कार्यकारी प्रमुखसँग सम्बन्धित विषयमा समेत अनुसन्धान सिफारिस गरेको विवरण सार्वजनिक भएको छ ।

    यसले अर्को प्रश्न उठाउँछ–ब्रोकरलाई कमिसन दिने निर्णय कसरी भयो, त्यसको आधार के थियो र कम्पनीको आन्तरिक नियन्त्रण प्रणालीले यस्तो कारोबार किन रोक्न सकेन रु यद्यपि सार्वजनिक अनुसन्धान विवरणमा देखिएका सबै आरोप अदालतबाट प्रमाणित भइसकेका छैनन् ।

    सुलभ अग्रवालको नाम किन जोडियो ?

    सुलभ अग्रवालको नाम जोडिनुको प्रत्यक्ष कारण ५० लाख रुपैयाँ उनको अध्यक्षतामा रहेको कम्पनीको खातामा पुगेको कारोबार हो । अग्रवालले रकम प्राप्त भएको स्वीकार गरेका छन् ।

    तर रकम सापटीका रूपमा लिएको र यसको स्रोत हिमालयन रिइन्स्योरेन्सबाट आएको आफूलाई जानकारी नभएको उनको बयान छ । अर्कोतर्फ, अभियोगपत्रमा रकमको पूर्ववर्ती कारोबार र त्यसपछि भएको भुक्तानीको श्रृंखलालाई अनुसन्धानको आधार बनाइएको छ ।

    यसकारण अग्रवालको हकमा मुख्य प्रश्न ५० लाख प्राप्त भयो कि भएन भन्नेभन्दा पनि उक्त रकमको स्रोत, प्रयोजन र पूर्ववर्ती कारोबारसँगको सम्बन्ध के थियो भन्ने बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images