images
images
  • बाढीपहिरोले विद्युत् संरचनामा क्षति, करिब २०० मेगावाट उत्पादन प्रभावित

    काठमाडौं –अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको छ । संरचनामा क्षति पुग्दा केही क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ भने बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको उत्पादनसमेत प्रभावित भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका अनुसार कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको कुश्मासम्मको खण्डमा टावर नम्बर २१ र २२ मा क्षति पुगेको छ । त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गत कुश्मा–नयाँबुटवल खण्डको प्रसारण लाइनमा समेत फल्ट आएको छ ।

    यसका कारण कालीगण्डकी करिडोर प्रसारण लाइनमा जोडिएका करिब २०० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ ।

    दर्जनौँ जलविद्युत् आयोजनाको उत्पादन बन्द

    बाढीका कारण १४० मेगावाटको कालीगण्डकी, २५ मेगावाटको माथिल्लो मादी, ४४ मेगावाटको सुपर मादी, २० मेगावाटको नामार्जुन मादी, ४० मेगावाटको सेती नदी, २५ मेगावाटको अपर दोर्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ६९ मेगावाटको मर्स्याङ्दी तथा मोदीलगायत आयोजनाको विद्युत् उत्पादन बन्द भएको छ ।

    बाढीपहिरोका कारण २२० केभी, १३२ केभी, ३३ केभी र ११ केभीका प्रसारण तथा वितरण संरचनामा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

    मर्मतका लागि प्राविधिक टोली परिचालन

    प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार क्षतिको प्रारम्भिक विवरण संकलन, विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रको पहिचान तथा क्षतिग्रस्त संरचनाको मर्मतका लागि प्राविधिक तथा मर्मत टोली विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको छ ।

    विद्युत् आपूर्ति अवरुद्ध भएका क्षेत्रमा सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत आपूर्ति सञ्चालन गर्ने व्यवस्था मिलाइएको श्रेष्ठले बताउनुभयो ।

    क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरेर विद्युत् आपूर्ति क्रमशः पुनःस्थापना गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

    भारी वर्षा, बाढीपहिरो र सडक अवरुद्ध हुँदा कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ । सडक तथा पहुँचमार्ग खुलेपछि थप प्राविधिक टोली र आवश्यक उपकरण परिचालन गरी मर्मत तथा विद्युत् आपूर्ति पुनःस्थापनाको काम तीव्र बनाइने श्रेष्ठले बताउनुभयो ।

    प्राधिकरणले विपद्का कारण विद्युत् संरचनामा क्षति पुगेका क्षेत्रमा आपूर्ति यथाशीघ्र पुनःस्थापना गर्न सबै स्रोतसाधन परिचालन गरिएको जनाएको छ ।

    साथै, प्राधिकरणले उपभोक्तालाई क्षतिग्रस्त विद्युत् संरचना, ढलेका तार तथा पोल नजिक नजान र विपद्को अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images