काठमाडौं – मनाङको नार–फू क्षेत्रमा पर्ने ७ हजार १२६ मिटर अग्लो हिमलुङ हिमालमा हिमपहिरो जाँदा १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन भएका छन् ।
नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पाका अनुसार हिमपहिरोपछि १० देखि १५ जनासम्म आरोही सम्पर्कविहीन भएको जानकारी आएको छ । खराब मौसमका कारण उद्धार टोली घटनास्थलसम्म पुग्न सकेको छैन ।
शेर्पाले उद्धारका लागि एउटा टोली प्रभु हेलिकोप्टरमार्फत मनाङतर्फ गएको जानकारी दिए । मौसममा सुधार आएपछि घटनास्थलमा पुगेर खोजी तथा उद्धार कार्य अघि बढाउने तयारी गरिएको छ ।
एक्सपिडिसन अपरेटर्स एसोसिएसन नेपालका महासचिव ऋषि भण्डारीले भने हिमपहिरोमा परी १० जना सम्पर्कविहीन भएको जानकारी दिएका छन् । उनका अनुसार इम्याजिन नेपाल प्रालिका दुई जना र हिमालयन होलिडेज नेपालका आठ जना सम्पर्कविहीन छन् ।
सम्पर्कविहीन आरोही तथा सहयोगीको खोजीका लागि सम्बन्धित टोली परिचालन गरिएको भण्डारीले बताए । तर, प्रतिकूल मौसमका कारण खोजी तथा उद्धार कार्य प्रभावित भएको छ ।
घटनास्थलमा उद्धार टोली पुग्न नसकेका कारण सम्पर्कविहीनहरूको अवस्थाबारे थप विवरण प्राप्त हुन सकेको छैन । मौसम अनुकूल भएपछि खोजी तथा उद्धारलाई तीव्रता दिने तयारी गरिएको छ ।


विश्व खबर 


















