images
images
  • ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडियो

    काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले म्याग्दीमा निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

    रघुगंगा गाउँपालिकामा निर्माण भएको आयोजनाका २०–२० मेगावाट क्षमताका दुईवटा युनिटबाट विद्युत् उत्पादन सुरु गरी बुधबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

    आयोजनाबाट उत्पादित विद्युत् कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र आयोजनाबीच भएको विद्युत् खरिद–बिक्री सम्झौताअनुसार अब परीक्षण उत्पादन घोषणा गरिनेछ ।

    परीक्षण उत्पादन १५ दिनसम्म सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाबाट व्यावसायिक विद्युत् उत्पादन सुरु हुनेछ ।

    पिक समयमा दैनिक चार घण्टा पूर्ण क्षमतामा सञ्चालन

    प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले कमजोर तथा जटिल भौगोलिक अवस्था, कोभिड–१९ महामारी, बाढीलगायत चुनौतीका बाबजुद निरन्तरको प्रयासबाट आयोजना निर्माण सम्पन्न गरिएको बताए ।

    उनका अनुसार आयोजना विद्युत्को उच्च माग हुने साँझको पिक समयमा दैनिक चार घण्टासम्म पूर्ण क्षमतामा सञ्चालन गर्न सकिनेछ । यसले विशेषगरी सुक्खायाममा विद्युत् माग व्यवस्थापनमा योगदान पुर्‍याउने प्राधिकरणको अपेक्षा छ ।

    आयोजनाबाट वार्षिक २४ करोड ७९ लाख युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । कुल वार्षिक ऊर्जामध्ये करिब ३४ प्रतिशत विद्युत् सुक्खायाममा उत्पादन हुनेछ ।

    ९ अर्ब १७ करोड लागत

    निर्माण अवधिको ब्याजबाहेक आयोजनाको अनुमानित लागत ९ अर्ब १७ करोड रुपैयाँ रहेको छ । आयोजनाको वित्तीय व्यवस्थापनमा नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको लगानी तथा भारतको एक्जिम बैंकको लाइन अफ क्रेडिटअन्तर्गत प्राप्त सहुलियतपूर्ण ऋण प्रयोग गरिएको छ ।

    आयोजनाको सिभिल संरचना तथा हाइड्रोमेकानिकल कार्य इन्जिनियरिङ, खरिद तथा निर्माण ९इपिसी० ढाँचामा गर्न जयप्रकाश एसोसिएट्स लिमिटेड, भारतसँग २०७४ मंसिर ५ गते ठेक्का सम्झौता गरिएको थियो । उक्त सम्झौता २०७५ जेठ १० गतेदेखि कार्यान्वयनमा आएको थियो ।

    इलेक्ट्रोमेकानिकल कार्यका लागि भारत हेभी इलेक्ट्रिकल लिमिटेडसँग २०७६ असोज २८ गते ठेक्का सम्झौता गरिएको थियो । उक्त सम्झौता २०७६ मंसिर १८ गतेदेखि कार्यान्वयनमा आएको हो । आयोजनाको निर्माण सुपरिवेक्षण वाप्कोस लिमिटेड, भारतले गरेको हो ।

    ३२ मेगावाटबाट ४० मेगावाटमा विस्तार

    राहुघाट जलविद्युत् आयोजना सुरुमा नेपाल विद्युत् प्राधिकरण आफैंले निर्माण गर्ने गरी अघि बढाइएको थियो । त्यतिबेला आयोजनाको प्रारम्भिक क्षमता ३२ मेगावाट निर्धारण गरिएको थियो ।

    निर्माणका क्रममा निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन देखिएपछि प्राधिकरणले ठेक्का रद्द गरेको थियो । त्यसपछि आयोजनाको क्षमता बढाएर ४० मेगावाट कायम गर्ने र प्राधिकरणको सहायक कम्पनीमार्फत कम्पनी मोडेलमा निर्माण गर्ने निर्णय गरिएको थियो ।

    सोही निर्णयअनुसार रघुगंगा हाइड्रोपावर लिमिटेडमार्फत नयाँ ठेक्का सम्झौता गरी आयोजना निर्माण अघि बढाइएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images