काठमाडौं– लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण काठमाडौं जोड्ने प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएपछि हेटौंडामा सवारीसाधनको चाप बढेको छ ।
पृथ्वी राजमार्ग तथा नारायणगढ–मुग्लिङ सडकखण्डका विभिन्न स्थानमा अवरोध भएपछि काठमाडौं जाने मालवाहक ट्रक तथा यात्रुवाहक बसहरू वैकल्पिक मार्गतर्फ केन्द्रित भएका छन् ।
हेटौंडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ, फाखेल र सिस्नेरी मार्गमा समेत विभिन्न स्थानमा अवरोध भएपछि अहिले त्रिभुवन राजपथमा सवारीको चाप बढेको हो ।
वैकल्पिक सडकहरूमा समेत आवागमन सहज नभएपछि काठमाडौं जाने सवारीसाधन हेटौंडामै रोकिँदा सडक क्षेत्रमा लामो लाइन देखिएको छ । विशेषगरी मालवाहक ट्रक र यात्रुवाहक बसको संख्या बढेको स्थानीय प्रशासनले जनाएको छ ।
सडकको क्षमता तथा यातायात सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले सवारी सञ्चालनका लागि समय तथा भारसम्बन्धी सीमा तोकेको छ । सोहीअनुसार सवारीसाधन सञ्चालन गरिँदै आएको छ ।
लगातारको वर्षाका कारण मुख्य राजमार्ग तथा वैकल्पिक सडकमा समेत पहिरो र सडक अवरोध देखिएपछि काठमाडौं–हेटौंडा आवागमन प्रभावित भएको छ। सडक खुलाउने तथा यातायात व्यवस्थापनका लागि सम्बन्धित निकायले काम गरिरहेका छन् ।


विश्व खबर 

















