काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको तीव्र प्रभाव रहेको छ ।
मनसुनको न्यून चापीय रेखा नेपालको नजिक सरेकाले आज देशैभर मौसम बदली भई अधिकांश भू–भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना छ ।
मौसम महाशाखाले जारी गरेको आजको मुख्य चेतावनी र पूर्वानुमान यस प्रकार छ–
भारी वर्षाको उच्च जोखिम: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका साथै लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
लुम्बिनीमा धेरै भारी वर्षा: लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
दिउँसोको मौसम: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा कोशी, बागमती र मधेश प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ ।
रातिको मौसम: राति पनि देशभर बादल रहनेछ । हिमाली तथा पहाडी भू–भागमा वर्षाका साथै हिमपातको सम्भावना छ भने तराईका विभिन्न स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुनेछ ।
वर्षाका कारण नदी–नालामा बहाव बढ्न सक्ने, पहिरो जान सक्ने र चट्याङ्गको जोखिम रहेकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ ।























