काठमाडौ– देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको छ । हाल देशभर साधारणतया बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति पनि देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
रातिको समयमा पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भने धेरै भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहन सक्छ ।
वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी हुने मौसमसम्बन्धी सूचनामा अद्यावधिक भइरहन अनुरोध गरिएको छ ।























