images
images
  • रास्वपाकै सांसदले गरे सरकारको आलोचना, भन्छन्– समृद्धि र सुशासनको रोडम्याप यही हो ?

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वमा एकल बहुमतको सरकार सञ्चालनमा रहेका बेला सत्तापक्षकै सांसदबाट सरकारको कार्यशैली र पार्टीका सांसदहरूको अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठेको छ ।

    रास्वपाका सांसद डा. अमरेशकुमार सिंहले सामाजिक सञ्जालमार्फत सरकार र सत्तारूढ दलभित्र देखिएको पछिल्लो प्रवृत्तिप्रति तीव्र असन्तुष्टि जनाउँदै सार्वजनिक संस्थामाथिको हस्तक्षेप, सुरक्षा निकाय तथा कर्मचारीको हुर्मत लिने प्रयास र सांसदहरूको अभिव्यक्तिलाई लिएर प्रश्न उठाएका छन् ।

    सिंहले आफ्नो फेसबुक पोस्टमा लेखेका छन्, ‘देशभरिको सार्वजनिक संस्था, सरकारी निकायमाथि हस्तक्षेप, सेना प्रहरी र कर्मचारीको हुर्मत लिने काम भइरहेको छ । सांसदहरूको वक्तव्य यस्तो कि सम्मानित संसदकै बेइज्जती भइरहेको छ । व्यापारीहरूको धरपकडले व्यापारीहरू त्रसित छन् ।’

    उनले सरकारको परराष्ट्र नीतिप्रति समेत गम्भीर प्रश्न उठाएका छन् । सिंहका अनुसार परराष्ट्र नीतिप्रति देशभित्रै विश्वासको सङ्कट देखिएको छ । उनले ‘परराष्ट्र नीति त झन् यस्तो कि कसैले विश्वास गरिरहेको छैन’ भन्दै सरकारको कूटनीतिक दिशामाथि गम्भीर प्रश्न गरेका छन् ।

    उनले सरकारको समृद्धि र सुशासनसम्बन्धी दाबीलाई समेत कटाक्ष गर्दै प्रश्न गरेका छन्– ‘के समृद्धि र सुशासनको रोडम्याप यही हो ? कि राज्यलाई अझै पछाडि धकेल्ने काम भइरहेको छ ? सोच्ने बेला भएको छैन ?’

    बहुमतप्राप्त सरकार सञ्चालन गरिरहेको आफ्नै दलका सांसदबाटै यस्तो धारणा सार्वजनिक हुनुले रास्वपाभित्र सरकारको कार्यशैली, निर्णय प्रक्रिया र सार्वजनिक अभिव्यक्तिको विषयमा असन्तुष्टि बढिरहेको सङ्केत गरेको छ ।

    विशेषगरी सेना, प्रहरी, कर्मचारी, सार्वजनिक संस्था, व्यापारीमाथिको कारबाही तथा सरकारको परराष्ट्र नीतिलाई एउटै अभिव्यक्तिमा जोड्दै सिंहले उठाएका प्रश्नले सरकारमाथि थप राजनीतिक र नैतिक दबाब सिर्जना गर्न सक्ने देखिएको छ ।

    सिंहको अभिव्यक्ति सार्वजनिक भएसँगै सत्तापक्षभित्रैबाट सरकारको कामकारबाहीमाथि प्रश्न उठ्न थालेको भन्दै राजनीतिक वृत्तमा यसको चर्चा सुरू भएको छ ।

    सरकारको नेतृत्व गरिरहेको दलकै सांसदले सार्वजनिक रूपमा ‘सोच्ने बेला भएको छैन ?’ भन्दै प्रश्न गरेपछि अब सरकार र पार्टी नेतृत्वले यी आरोप तथा प्रश्नबारे कस्तो जवाफ दिन्छ भन्ने विषय चासोको केन्द्रमा परेको छ ।

    त्यतिमात्र होइन स्थिर सरकारको यात्रामाथि समेत प्रश्न उठ्न थालेको जानकारहरू बताउँछन् ।

    Screenshot 2026 08 13 200316

    प्रतिक्रिया दिनुहोस्
    images
    images