काठमाडौं– सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने समयसीमा सकिनुअघि राजीनामा दिने तयारी गरेका छन् ।
एमालेले समर्थन फिर्ता लिएपछि उनी ३१ असारदेखि अल्पमतमा छन् र २८ साउनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
मुख्यमन्त्रीनिकट स्रोतका अनुसार बहुमत जुट्ने सम्भावना नरहेकाले विश्वासको मत लिनुभन्दा राजीनामा दिने तयारी गरिएको हो ।
यस विषयमा छलफल गर्न कांग्रेस संसदीय दलको बैठक आज दिउँसो २ बजे बोलाइएको छ ।
शाहको राजीनामासँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ ।
नेकपा र एमालेबीच सत्ता–सहकार्यको सहमति भइसकेकाले नेकपा संसदीय दलका नेता खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने सम्भावना बलियो छ ।
प्रदेशमा बजेट पारित हुन नसक्दा सुदूरपश्चिम अहिले बजेट शून्यताको अवस्थामा छ ।
५३ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ, र नेकपा–एमालेसँग स्पष्ट बहुमत रहेको छ ।























