विराटनगर– कोशी प्रदेश सरकारमा सहभागी हुने तयारीमा रहेको नेकपाभित्र मन्त्री चयनलाई लिएर तीव्र आन्तरिक विवाद देखिएको छ ।
विशेषगरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्यलाई फेरि मन्त्री बनाउन नदिन प्रदेश नेताहरू सक्रिय भएका छन् ।
एमालेसँग सोमबार भएको दोस्रो चरणको वार्ता मन्त्रालयको भागबन्डा नमिल्दा निष्कर्षविहीन बनेको छ ।
नेकपाले चार मन्त्रालय मागेको छ, तर मुख्य विवाद कसले सरकारको नेतृत्व गर्ने भन्ने विषयमा केन्द्रित छ ।
यसअघि दुई पटक मन्त्री भइसकेका आचार्यले कि दलका नेता इन्द्रबहादुर आङ्बो सरकारको नेतृत्व गरेर जानुपर्ने, नत्र आफूलाई अवसर दिनुपर्ने भन्दै लबिङ गरिरहेको नेताहरूको दाबी छ ।
प्रदेश नेतृत्वले भने उनलाई पठाउँदा परिवारवादको आरोप र सम्भावित राजनीतिक क्षतिको जोखिम बढ्ने चिन्ता व्यक्त गरेको छ ।
कोशी इन्चार्ज राजेन्द्र राईले आङ्बोकै नेतृत्वमा सरकारमा जानुपर्ने अडान राखेका छन् ।
आङ्बोले आफू मन्त्री बन्ने दौडमा नरहेको सार्वजनिक रूपमा बताएका छन् ।
नेकपाभित्र जीवन आचार्यसँगै दुर्गाप्रसाद चापागाईं, गणेश उप्रेती र बाबुराम गौतम पनि मन्त्री बन्ने दौडमा छन् ।
मंगलबार मुख्यमन्त्री हिक्मत कार्की र आङ्बोबीच हुने छलफलबाट मन्त्रालय संख्या र सम्भावित मन्त्रीहरूको नामबारे प्याकेज सहमतिको प्रयास गरिने भएको छ ।























