काठमाडौं– पछिल्लो आमनिर्वाचनमा कोशी प्रदेशमा समानुपातिक मतका आधारमा दोस्रो ठूलो दल बनेको श्रम संस्कृति पार्टीले संगठन विस्तारलाई तीव्र बनाएको छ ।
अध्यक्ष हर्क साम्पाङ देश दौडाहामा सक्रिय हुँदा कोशीका पहाडी जिल्लादेखि तराई–मधेशसम्म पार्टीको प्रभाव विस्तार गर्ने रणनीति अघि बढाइएको हो ।
संखुवासभामा जसपाका दर्जनौँ नेता–कार्यकर्ता, धनकुटामा कांग्रेसका पुराना नेता तथा भोजपुरमा एमालेका जनप्रतिनिधिसमेत श्रम संस्कृतिमा प्रवेश गरेका छन् ।
एमालेले उपमेयर निर्मला शेर्पासहित केही नेतामाथि कारबाही प्रक्रिया अघि बढाइसकेको छ ।
पार्टीले ‘हातेमालो’ अभियान सम्पन्न गरेपछि अब मधेस प्रदेशमा कृषि उत्पादन र श्रम संस्कारसँग जोडिएको कार्यक्रममार्फत प्रवेश गर्ने तयारी गरेको छ ।
सहप्रवक्ता जीवन बिष्टका अनुसार स्थानीय उत्पादन र श्रम संस्कृतिलाई जोडेर पाइलट कार्यक्रम सञ्चालन गर्ने योजना छ ।
यसैबीच, श्रम संस्कृतिले सुदन किराँतीलाई कोशी प्रदेशको भावी मुख्यमन्त्री उम्मेदवार घोषणा गरेको छ ।
किराँतीले कांग्रेस, एमाले र नेकपाप्रतिको असन्तुष्टिलाई अवसरका रूपमा उपयोग गर्दै पार्टीलाई प्रदेशमा बलियो वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने रणनीति अघि बढाएका छन् ।























