images
images
  • प्रधानमन्त्रीले वैद्यखानाले गति लिएको बताएपछि पूर्वमन्त्री प्रदीप पौडेलले के भने ?

    काठमाडौं– पूर्व स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखानाको कारोबार ४ गुणा बढेको, १०५ बाट १५० प्रकारका औषधि उत्पादन गर्ने र ३५ प्रकारका नि:शुल्क औषधिमा आत्मनिर्भर बन्ने प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’को अठोटप्रति आभार व्यक्त गरेका छन् ।

    आइतबार सामाजिक सञ्जालमार्फत उनले विगतमा आफूले ल्याएका सुविचारित नीति र योजनाकै जगमा संस्थाले गति लिएकोमा खुसी व्यक्त गरेका हुन् ।

    नसर्ने रोग ३० प्रतिशतले घटाउन ‘राष्ट्रिय आयुर्वेद रणनीति (१० वर्षे) तथा २० औषधिमा खुम्चिएको ३७० वर्ष पुरानो वैद्यखानालाई ६० प्रतिशत बजार हिस्सा र ‘जीएमपी’सहित पुनर्जीवन दिन प्राथमिकता प्राप्त ‘पाँच वर्षे रणनीतिक योजना’ लागू गरिएको उनले स्मरण गरेका छन् ।

    असल नीतिको निरन्तरताले मात्र समृद्ध राष्ट्र बन्ने भन्दै उनले सरकारका सकारात्मक कदममा सदैव साथ रहने प्रतिबद्धता जनाएका छन् ।

    पौडेलले सार्वजनिक गरेका मुख्य उपलब्धिहरू:
    १. बूढानीलकण्ठ ‘पञ्चकर्म तथा योग केन्द्र’ सञ्चालन (अर्थबाट दरबन्दी स्वीकृत) र सुदूरपश्चिमबाट ’स्वर्ण बिन्दु प्राशन’ अभियान सुरु गर्दै निर्देशिका स्वीकृत ।

    २. सेवा नपुगेका १४४ सहित सबै पालिकामा ‘नागरिक आरोग्य कार्यक्रम’ विस्तार; बजेट दोब्बर गरी १ अर्ब ४० करोड विनियोजन तथा ५/१०/१५ शय्यामा योग/प्राकृतिक चिकित्सा सञ्चालन कार्यविधि ।

    ३. निर्यात प्रवर्द्धनका लागि ‘जीएमपी’ नीति (४ स्वदेशी कम्पनीलाई मान्यता, फर्मासिस्टलाई थोक बिक्रेता) र ‘सोवा रिग्पा’ विद्यार्थीलाई लाइसेन्स परीक्षामा समावेश ।

    ४. ‘ड्रग आर एण्ड डी युनिट’, ‘वनस्पति प्राधिकरण’ र ‘आयुर्वेद अध्ययन प्रतिष्ठान’ स्थापना सुरू । ‘आयुर्वेद औषधि नियमावली २०८१’ सहित कानुन मस्यौदा र ३५ नि:शुल्क औषधि वैद्यखानाबाटै किन्ने नीति ।

    ५. नरदेवीमा १०० शय्याका लागि स्रोत सुनिश्चितता, सेनाको अस्पताल र १६औं पञ्चवर्षीय योजनामा आयुर्वेद समावेश ।

    ६. छिमेकी देशसँग समझदारी, डब्ल्यूएचओ र बिमिस्टेकमा प्रस्तुति तथा नर्वे (बीसीईपीएस) सँग मिलेर स्वास्थ्य बीमामा समेट्न कस्टिङ अभ्यास सुरू ।

    सरकारलाई ६ सुझाव:

    १. वैद्यखानाको प्रगति त्यही ‘पाँच वर्षे रणनीतिक योजना’कै प्रतिफल भएकाले यसको हुबहु कार्यान्वयन गरियोस् ।

    २. ‘जडीबुटी प्रशोधन केन्द्र’ स्थापनालाई हामीले सुरु गरेको ‘ड्रग आर एण्ड डी युनिट’सँग जोडेर अनुसन्धानमा राज्यले विशेष लगानी गरोस् ।

    ३. ३५ प्रकारका नि:शुल्क औषधिलाई १४४ नयाँसहित देशभरिका ‘नागरिक आरोग्य केन्द्र’मार्फत जनताको घरदैलोमा पुर्‍याइयोस् ।

    ४. जीएमपी मापदण्ड हासिल गरेपछि अन्तर्राष्ट्रिय बजारमा नेपाली औषधि निर्यात गर्न कूटनीतिक पहल चुस्त बनाइयोस् ।

    ५. कच्चा पदार्थ खरिदलाई व्यवस्थित गर्दै जडीबुटी खेतीलाई विशेष प्रोत्साहन गरियोस् ।

    ६. विपन्नको पहुँच सुनिश्चित गर्न आयुर्वेदका विशिष्टीकृत सेवा र औषधिलाई स्वास्थ्य बीमामा आवद्ध गरियोस् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images