काठमाडौं– सुनसरी घटनापछि तराई–मधेशमा बढेको तनाव नियन्त्रण गर्न सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी थप करिब २ हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।
उच्च सुरक्षा अधिकारीसहितको टोली मोरङ, सुनसरी, सिरहा, धनुषा लगायत संवेदनशील जिल्लामा खटिएको छ ।
प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार गण, तालिम केन्द्र, पहाडी जिल्ला र प्रधान कार्यालयबाट समेत थप प्रहरी मधेश पठाइएको हो ।
सशस्त्र प्रहरीले पनि करिब १ हजार सुरक्षाकर्मी फिल्डमा उतारेको जनाएको छ ।
तनावपूर्ण अवस्था नियन्त्रण, सम्भावित घटना रोकथाम, सूचना संकलन र सुरक्षा समन्वयका लागि एआईजी, डीआईजी र एसएसपी स्तरका अधिकारीहरू परिचालित छन् ।
गृहमन्त्री सुधन गुरुङ समेत तराईमै रहेर सुरक्षा अवस्थाको अनुगमन गरिरहेका छन् ।
प्रहरीका अनुसार हिजोको तुलनामा आज तराई–मधेशको अवस्था क्रमशः शान्तिपूर्ण बन्दै गएको छ ।























