images
images
  • सुनसरीबाट मधेशसम्म फैलियो आक्रोशको आगो, सरकार चार दिनपछि मात्र सक्रिय

    काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा सामान्य विवादबाट सुरु भएको हिंसा चार दिनभित्रै कोशी हुँदै मधेसका विभिन्न जिल्लासम्म फैलिएको छ ।

    घटनामा हालसम्म तीन जनाको ज्यान गएको छ, १५ भन्दा बढी घाइते भएका छन् ।

    सुनसरी, धनुषा र सिराहाका संवेदनशील क्षेत्रमा कर्फ्यु लगाइएको छ भने वीरगञ्जमा निषेधाज्ञा जारी गरिएको छ ।

    तर, यति ठूलो संकटबीच सरकार चार दिनसम्म प्रभावकारी रूपमा सक्रिय नदेखिएको भन्दै व्यापक आलोचना भइरहेको छ ।

    तनाव विराटनगर, जनकपुर र सिरहाको गोलबजारसम्म फैलिन थालेपछि मात्रै प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ सक्रिय देखिएका छन् ।

    प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेका छन् भने गृहमन्त्री घटनाको चौथो दिन सुनसरी पुगेका छन् ।

    चार दिनपछि सुनसरी पुगे गृहमन्त्री

    प्रधानमन्त्रीको निर्देशनपछि गृहमन्त्री गुरुङ प्रभावित क्षेत्रको स्थलगत निरीक्षण, सुरक्षा निकायसँग छलफल तथा स्थानीय सरोकारवालासँग भेटघाटमा जुटेका छन् ।

    उनले प्रहरीको गोली लागेर मृत्यु भएका २४ वर्षीय ओमप्रकाश मेहता र उपचारका क्रममा ज्यान गुमाएका २२ वर्षीय जयप्रकाश मेहताका परिवारसँग भेट गरी राहत, छानबिनको प्रगति र शान्ति स्थापनाबारे जानकारी लिएका छन् ।

    स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता पनि सुनसरी पुगेका छन् ।

    सरकारको मौनतामाथि प्रश्न

    घटना भएको चार दिनसम्म प्रधानमन्त्री र गृहमन्त्री मौन बसेको भन्दै सरकारको चर्को आलोचना भएको थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा समेत सरकारको निष्क्रियताको विषय उठाइएको थियो ।

    सहभागी नेताहरूले यस्तो संवेदनशील अवस्थामा सबै दलसँग समन्वय गर्नुपर्नेमा सरकार मौन बसेको भन्दै असन्तुष्टि जनाएका थिए ।

    सामाजिक सञ्जालमा पनि प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि लगातार प्रश्न उठेपछि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाइएको, गृहमन्त्रीलाई घटनास्थल पठाइएको र प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन् ।

    मृत्यु हुनेको संख्या तीन पुग्यो

    आइतबार राति बोलबम यात्राका क्रममा डिजे बजाउने विषयलाई लिएर दुई समुदायबीच विवाद भएको थियो ।

    विवाद झडपमा परिणत भएपछि स्थिति नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भयो ।

    गम्भीर घाइते जयप्रकाश मेहताको बिहीबार विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारकै क्रममा मृत्यु भयो ।

    यसैबीच, सुनसरी घटनाको विरोधमा सिरहामा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर औरही–२ का अन्दाजी २० वर्षीय गणेश यादवको पनि मृत्यु भएको छ ।

    यससँगै घटनासँग सम्बन्धित मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

    विराटनगरदेखि जनकपुरसम्म फैलियो तनाव

    तनाव सुनसरीमा मात्र सीमित नरही मोरङको विराटनगर, धनुषाको जनकपुर, सिराहाको गोलबजारलगायत मधेसका विभिन्न क्षेत्रमा फैलिएको छ ।

    प्रदर्शन र सुरक्षा चुनौती बढेपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञा कडा बनाएको छ ।

    सुनसरीमा देवानगञ्ज, कप्तानगञ्ज, महेन्द्र राजमार्ग आसपास र इनरुवा क्षेत्रमा कर्फ्यु विस्तार गरिएको छ ।

    धनुषामा जनकपुरधाम, लक्ष्मीनिया र नगराइनका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ भने सिराहाको लहान, गोलबजार र चोहर्वामा पनि कर्फ्यु लागू गरिएको छ ।

    वीरगञ्जमा सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको छ ।

    पीडित परिवारलाई १० लाख राहत

    देवानगञ्ज गाउँपालिकाले ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारलाई जनही १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

    घाइतेलाई दुई लाख तथा मध्यम र सामान्य घाइतेलाई ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय पनि गरिएको छ ।

    साथै मृतकलाई शहीद घोषणा गर्न सरकारसँग माग गर्ने निर्णय गरिएको छ ।

    ओली, राष्ट्रपति र पूर्वराजाको शान्ति अपिल

    नेकपा -एमाले) अध्यक्ष केपी शर्मा ओलीले संवाद र सहमतिबाट निकास खोज्न आग्रह गर्दै राजनीतिक दलहरूलाई आरोप–प्रत्यारोपभन्दा माथि उठेर शान्ति र स्थायित्वका लागि सहकार्य गर्न आह्वान गरेका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक, धार्मिक र जातीय सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका छन् ।

    पूर्वराजा ज्ञानेन्द्र शाहले पनि संयम अपनाउन र आपसी मेलमिलाप जोगाउन अपिल गरेका छन् ।

    राष्ट्रका नाममा प्रधानमन्त्रीको सम्बोधन

    प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरी, सिराहा लगायतका क्षेत्रमा भएका हिंसात्मक घटनालाई सरकारले अत्यन्त गम्भीर रूपमा लिएको बताएका छन् ।

    उनले निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही, घाइतेको उपचार र सामाजिक सद्भाव जोगाउन सरकार पूर्ण रूपमा सक्रिय रहेको बताए ।

    अफवाह, घृणा फैलाउने सामग्री र समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न उनले सबैलाई आग्रह गरे ।

    दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याइने प्रधानमन्त्रीको भनाइ छ ।

    रविको सन्देश– आगो निभाउने पानी छैन भने नबोल्दा हुन्छ

    रास्वपा सभापति रवि लामिछानेले अहिलेको समय आरोप–प्रत्यारोप गर्ने नभई हिंसा रोक्ने समय भएको बताए ।

    हामीले बोलेको बोलीले शान्ति कायम हुन्छ भने बोल्नु राम्रो हो, तर त्यसले आगो झन् बल्छ भने त्यस्ता अभिव्यक्ति दिनु हुँदैन, उनले भने ।

    प्रधानमन्त्री–राष्ट्रपति भेट

    राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री शाह राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका थिए ।

    भेटमा तराई–मधेसमा बढ्दो तनाव, सामाजिक सद्भाव र शान्ति सुरक्षाको अवस्थाबारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्रीले सरकार परिस्थिति नियन्त्रणमा लिन सक्रिय रहेको जानकारी गराएका थिए भने राष्ट्रपतिले थप सचेत भएर अघि बढ्न सुझाव दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images