काठमाडौं– सुनसरीको देवानगञ्ज र कप्तानगञ्जमा भएको झडप तथा प्रहरी गोलीकाण्डपछि सरकार तीव्र दबाबमा परेको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेस, नेकपा -एमाले), नेकपा, राप्रपा र अन्य दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको भूमिकामाथि प्रश्न उठाउँदै नैतिक जिम्मेवारी माग गरेका छन् ।
एमाले उपनेता पद्मा अर्यालले हिजो गोली चल्दा तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने, आज किन छुट ? भन्दै प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताइन् ।
कांग्रेस प्रमुख सचेतक वासना थापाले नागरिकको ज्यान जाने अवस्था किन आयो भन्ने प्रश्न गर्दै निष्पक्ष छानबिनको माग गरिन् ।
एमाले प्रमुख सचेतक ऐन महरले जेन–जी आन्दोलनको नजिर वर्तमान सरकारमा पनि लागू हुने दाबी गर्दै राजीनामाको प्रश्न उठाए ।
नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमतको दम्भ नदेखाउन र प्रतिपक्षसँग संवाद गर्न सरकारलाई चेतावनी दिए ।
राप्रपा सांसद खुश्बु ओलीले गोली कसले चलायो भन्ने सत्य सार्वजनिक गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग गरिन् ।
सत्तारूढ रास्वपाकै सांसद बुद्धिप्रसाद पन्तले सरकारबाट अपेक्षित परिवर्तन महसुस नभएको टिप्पणी गरे ।
बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवै अनुपस्थित रहेपछि विपक्षी दलहरूले थप आलोचना गरेका छन् ।
मधेसबाट निर्वाचित रास्वपा सांसदहरूले समेत गृहमन्त्रीले स्थानीय सांसदहरूसँग समन्वय नगरेको गुनासो गरेका छन् ।
प्रतिनिधिसभा बैठक फेरि साउन १९ गतेसम्म स्थगित गरिएको छ ।






















