images
images
  • पञ्जाबबाट कमाएर फर्किएका रघुनाथपुर मन्दिरमा सहायक पूजारीको हत्या

    जनकपुरधाम– धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित हनुमान मन्दिरमा सुतिरहेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन्। प्रारम्भिक अनुसन्धानका आधारमा उनको हत्या भएको आशंका गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा डीएसपी मधुसुदन न्यौपानेका अनुसार मृतक हँसपुर नगरपालिका निवासी अन्दाजी ४५ वर्षीय बन्ठु राउत हुन्। उनी मन्दिरमा सहायक पूजारीको रूपमा बस्दै आएको स्थानीयले बताएका छन्, तर त्यसको आधिकारिक पुष्टि भने भइसकेको छैन।

    स्थानीयका अनुसार राउत करिब १५ वर्षदेखि सोही मन्दिरमा बस्दै आएका थिए। कहिले बाहिर मजदुरी गर्न जाने र फेरि मन्दिरमै फर्केर बस्ने गरेको उनीहरूले बताएका छन्। मन्दिरका मुख्य पूजारी अर्कै व्यक्ति रहेको र राउत सहायक पूजारीको रूपमा पूजापाठमा संलग्न रहने गरेका थिए।

    एक स्थानीयले दिएको जानकारी अनुसार राउत केही दिनअघि भारतको पञ्जाबबाट कमाएर गाउँ फर्किएका थिए। उनीसँग रहेको रकम लुटपाट गर्ने उद्देश्यले हत्या गरिएको हुन सक्ने आशंका स्थानीयले गरेका छन्।

    प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। घटनाको वास्तविक कारण, हत्या कसरी भयो र यसमा संलग्न व्यक्ति को हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोस्टमार्टम रिपोर्टपछि घटनाबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images