images
images
  • वर्तमान व्यवस्थाप्रति प्रम बालेनका ३ व्यवहार शंकास्पद

    काठमाडौं– प्रतिपक्षी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कठिन समयमा राजनीतिक दलबीच संवाद र सहकार्य नै नेपालको सबैभन्दा ठूलो उपलब्धि भएको बताएका छन् ।

    प्रतिनिधिसभामा बोल्दै उनले शान्ति प्रक्रिया, संविधान निर्माण, मधेस आन्दोलन र २०७२ को भूकम्पपछि पुनर्निर्माणसम्मका उदाहरण दिँदै विगतमा सहकार्यबाट देशले निकास पाएको स्मरण गराए ।

    प्रचण्डले अहिलेको सरकारले भने त्यस्तो राजनीतिक संस्कार आत्मसात् गर्न नसकेको आरोप लगाए ।

    उनले प्रधानमन्त्री बालेन शाहका तीन व्यवहार शंकास्पद भएको बताए, सर्वदलीय बैठकमा अनुपस्थित हुनु, राष्ट्रपतिको सम्बोधन चलिरहँदा संसदबाट बाहिरिनु र गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन नगर्नु ।

    उनले सबै दलसँग संवाद र सहकार्य गर्नुपर्ने भूमिका प्रधानमन्त्रीले खेल्नुपर्नेमा त्यसको पहल रास्वपा सभापति रवि लामिछानेबाट भएको टिप्पणी गरे ।

    सरकारका पछिल्ला गतिविधिले निश्चित वर्गको हितमा मात्र केन्द्रित भएको हो कि भन्ने प्रश्न उठेको पनि उनले बताए ।

    संविधान संशोधनको नाममा कतै संविधान पुनर्लेखनतर्फ जान खोजिएको त होइन भन्ने शंका व्यक्त गर्दै प्रचण्डले लोकतान्त्रिक परम्परा कमजोर नपार्न सरकारलाई आग्रह गरे ।

    प्रधानमन्त्रीले विवादित अभिव्यक्तिबारे संसदमा आएर स्पष्टीकरण दिनुपर्ने लोकतान्त्रिक अभ्यास भएको उनले उल्लेख गरे ।

    अन्त्यमा उनले सरकार असफल भए देश नै अप्ठ्यारोमा पर्न सक्ने चेतावनी दिँदै संवाद, सहकार्य र उदार राजनीतिक व्यवहार अपनाउन प्रधानमन्त्री र रास्वपालाई आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images