काठमाडौं– कोशी र बागमती प्रदेशमा मुख्यमन्त्री चयनको प्रक्रियासँगै नेकपा भित्र निर्णय प्रक्रियामा औपचारिक पार्टी संयन्त्रभन्दा सीमित शक्ति–केन्द्रको प्रभाव बढेको भन्ने चर्चा चुलिएको छ ।
कोशी प्रदेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्राथमिकता आफ्ना आन्तरिक प्रतिद्वन्द्वी मानिएका हिक्मत कार्कीलाई मुख्यमन्त्री बन्न नदिने रहेको राजनीतिक वृत्तमा चर्चा भइरहँदा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्राथमिकता भने इन्द्र आङ्बो मौसमलाई मुख्यमन्त्री बन्न नदिने रहेको दाबी गरिएको छ ।
मौसम संगठन र जनाधारका हिसाबले सक्षम तथा प्रभावशाली नेता मानिए पनि उनी पूर्व माओवादी नेता रामबहादुर थापा ‘बादल’ समूहसँगको राजनीतिक पृष्ठभूमिका कारण नेतृत्वको रोजाइमा नपरेको विश्लेषण गरिन्छ ।
मौसम मुख्यमन्त्री बन्नबाट रोकिएसँगै प्रचण्डकी छोरी गंगा दाहालको पार्टीभित्रको प्रभावबारे पनि चर्चा बढेको छ ।
पार्टीभित्र जीवन आचार्यलाई पूर्वी नेपालको राजनीतिमा स्थापित गराउने रणनीतिअन्तर्गत मौसमसहित केही नेताको भूमिका सीमित पार्ने प्रयास भएको आरोप आन्तरिक वृत्तमा सुनिन्छ ।
यद्यपि, यी दाबीहरूबारे सम्बन्धित पक्षबाट सार्वजनिक प्रतिक्रिया आएको छैन ।
पूर्वी नेपालमा लामो समय प्रचण्डनिकट मानिएका हरिबोल गजुरेल पनि जीवन आचार्यभन्दा इन्द्र आङ्बो मौसमलगायत अन्य नेतालाई प्राथमिकता दिएको कारण नेतृत्वको आन्तरिक घेराबाट टाढिएका भन्ने चर्चा पार्टीभित्र चल्दै आएको छ ।
यसै सन्दर्भमा सिन्धुली–२ मा जिल्ला कार्यदलले सर्वसम्मत रूपमा हरिबोल गजुरेल वा महेश्वर दाहालमध्ये एक जनालाई उम्मेदवार बनाउन सिफारिस गरे पनि अन्ततः सिफारिसमा नपरेका राजन दाहाललाई अघि सारिएको निर्णयलाई पनि धेरैले आन्तरिक शक्ति–सन्तुलन र अन्य स्वार्थसँग जोडेर हेर्ने गरेका छन् ।
यसबारे पनि आधिकारिक रूपमा पार्टी नेतृत्वले कुनै स्पष्ट धारणा सार्वजनिक गरेको छैन ।
उता बागमती प्रदेशमा नेकपाका ठूलो दलका रूपमा मुख्यमन्त्रीमा दाबी गर्न सक्ने अवस्थामा थियो ।
संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई स्वाभाविक दाबेदारका रूपमा हेरिएको थियो भने रत्न ढकाललाई पनि समन्वयकारी र स्वीकार्य विकल्प मानिएको थियो ।
तर अन्ततः पार्टीभित्र फरक समीकरण सक्रिय भएको चर्चा छ ।
पार्टी स्रोतहरूका अनुसार गंगा दाहालले सरल सहयात्रीलाई मुख्यमन्त्रीको प्रमुख दाबेदार बनाउन सक्रिय भूमिका खेलेको चर्चा छ ।
यद्यपि, संगठनात्मक प्रभाव र जनाधारको दृष्टिले जीवन आचार्य र सरल सहयात्री दुवै अपेक्षाकृत कमजोर रहेको टिप्पणी पार्टीभित्रै सुनिने गरेको छ ।
समग्रमा, कोशी र बागमती प्रदेशका पछिल्ला राजनीतिक घटनाक्रमले पूर्वमाओवादी केन्द्रभित्र औपचारिक संस्थागत निर्णय प्रक्रियाभन्दा नेतृत्व वरिपरिका सीमित प्रभावशाली व्यक्तिहरूको भूमिका बलियो बन्दै गएको भन्ने बहसलाई थप तीव्र बनाएको छ ।
यद्यपि, यी विषयमा पार्टी नेतृत्वले सार्वजनिक रूपमा कुनै औपचारिक स्वीकारोक्ति वा प्रतिक्रिया दिएको छैन, जसका कारण उठेका धेरै दाबीहरू राजनीतिक विश्लेषण र आन्तरिक चर्चाकै विषय बनेका छन् ।























