काठमाडौं– नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच प्रदेश सरकारहरू संयुक्त रूपमा गठन गर्ने समझदारी बनेको छ ।
कांग्रेस–एमाले गठबन्धन टुटेपछि प्रदेश सरकारमा नेकपाको सहभागिता बढ्ने तयारी भएको हो ।
यस विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच निरन्तर छलफल भइरहेको छ ।
दुवै दलले कार्यदल बनाएर प्रदेश सरकारको नेतृत्व र भागबन्डा टुंग्याउने तयारी गरेका छन् ।
प्रारम्भिक सहमतिअनुसार एमालेले कोशी, लुम्बिनी, गण्डकी र कर्णालीमा मुख्यमन्त्री दाबी गरेको छ भने नेकपाले बागमती, सुदूरपश्चिम र कर्णालीमा दाबी गरेको छ ।
कर्णालीमा सहमति नजुटे गण्डकी नेकपालाई दिने विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।
मधेस प्रदेशमा भने कांग्रेस नेतृत्वको सरकारमा एमाले र नेकपा सहभागी रहेकाले त्यहाँको समीकरणबारे अझै निर्णय भइसकेको छैन ।
अन्तिम टुंगो कार्यदलको प्रतिवेदनपछि लाग्ने नेताहरूले बताएका छन् ।























