धनगढी– सुदूरपश्चिम प्रदेशमा वर्तमान मुख्यमन्त्री कमलबहादुर शाह सरकार अल्पमतमा परेपछि नयाँ सरकार गठनको तयारी तीव्र बनेको छ ।
नेकपा (एमाले)ले समर्थन फिर्ता लिएसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता खगराज भट्ट पाँचौँ मुख्यमन्त्री बन्ने चर्चामा छन् ।
कांग्रेस, एमाले र नेकपाबीच नयाँ सत्ता समीकरणबारे छलफल जारी रहेको छ ।
स्रोतका अनुसार कांग्रेस र एमाले दुवैले भट्टको नेतृत्व स्वीकार्न सकारात्मक देखिएका छन् भने सत्ता साझेदारी र मन्त्रालय बाँडफाँटमा अन्तिम सहमति हुन बाँकी छ ।
मुख्यमन्त्री शाहले अब संविधानअनुसार विश्वासको मत लिनुपर्नेछ ।
तर प्रदेश सभाको अंकगणित हेर्दा उनले बहुमत जुटाउने सम्भावना कमजोर देखिएको छ ।
यदि विश्वासको मत गुमे वा त्यसअघि राजीनामा दिए, नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।
यसैबीच नेकपाकी नेतृ रञ्जिता चौधरीले सुदूरपश्चिममा नेकपाकै नेतृत्वमा सरकार बन्ने दाबी गर्दै गठबन्धनबारे अन्तिम निर्णय केन्द्रबाट हुने बताएकी छन् ।
यदि अन्तिम समयमा ठूलो राजनीतिक फेरबदल भएन भने खगराज भट्ट दोस्रो प्रदेश सभाका पाँचौँ मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ ।























