काठमाडौं– जेनजी आन्दोलनपछि केन्द्र सरकारबाट बाहिरिएको एमाले अब प्रदेश सरकारहरू पनि गुमाउने अवस्थातर्फ पुगेको छ ।
कांग्रेसले एमालेसँगको सहकार्य अन्त्य गर्दै नेकपासँग नयाँ सत्ता समीकरण बनाउन थालेपछि कर्णालीबाट सरकार परिवर्तनको प्रक्रिया सुरु भएको छ भने अन्य प्रदेशमा पनि नयाँ गठबन्धनको सम्भावना बढेको छ ।
एमालेले अहिले कोशी, लुम्बिनी र कर्णाली प्रदेशको नेतृत्व गरिरहेको छ ।
कांग्रेस–नेकपा समीकरण सफल भए यी प्रदेशहरूमा पनि एमाले सत्ताबाट बाहिरिन सक्छ ।
सुदूरपश्चिम र बागमतीमा पनि सत्ता फेरबदलका गतिविधि तीव्र बनेका छन् ।
यसबीच एमाले अध्यक्ष केपी ओलीले आवश्यक परे प्रदेश सरकारबाट हट्न तयार रहेको संकेत दिएका छन् ।
उनले तीन दल मिलेर सरकार सञ्चालन गर्नुपर्ने पक्षमा आफूहरू रहेको दोहोर्याउँदै परिस्थितिअनुसार प्रतिपक्षमा बस्न पनि तयार रहेको बताए ।
साथै, एमालेलाई राजनीतिक रूपमा एक्ल्याउने प्रयास भइरहेको दाबी गर्दै पार्टीले सबै चुनौती सामना गर्ने बताएका छन् ।























