images
images
  • कुन–कुन दलको समीकरणमा बन्ला प्रदेश सरकार ?

    काठमाडौं– सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सत्ता साझेदारीमा आएको विवादपछि देशभरका प्रदेश सरकारहरूमा नयाँ राजनीतिक समीकरणको चर्चा तीव्र बनेको छ ।

    कांग्रेस–एमाले सहकार्य कमजोर बन्दै गएसँगै दुवै दलले नेकपासँग सहकार्यको सम्भावना खोज्न थालेका छन् ।

    सुदूरपश्चिममा बजेट पुनर्लेखन र नेकपालाई सरकारमा सहभागी गराउने विषयमा मतभेद बढेपछि मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेका छन् ।

    त्यससँगै कर्णालीमा पनि सत्ता समीकरण परिवर्तनको प्रक्रिया अघि बढेको छ ।

    प्रदेशहरूको अंकगणित हेर्दा अधिकांश स्थानमा सरकार गठनका लागि नेकपा निर्णायक शक्तिका रूपमा देखिएको छ ।

    कोशी प्रदेशमा एमाले र नेकपाबीच गठबन्धन बने सहज बहुमत पुग्ने अवस्था छ ।

    बागमती र गण्डकीमा भने कांग्रेस–नेकपा गठबन्धनले स्पष्ट बहुमत जुटाउन सक्छ ।

    मधेश प्रदेशमा जसपा नेपाल निर्णायक शक्तिका रूपमा रहेको छ ।

    कांग्रेस–नेकपा वा एमाले–नेकपा कुनै पनि गठबन्धनले जसपा नेपालको समर्थनबिना सरकार गठन गर्न सक्ने अवस्था छैन ।

    लुम्बिनी प्रदेशमा दुवै सम्भावित गठबन्धनलाई बहुमतका लागि साना दलहरूको साथ आवश्यक पर्ने देखिएको छ ।

    कर्णाली प्रदेशमा भने नेकपा जससँग मिले पनि सरकार गठन सम्भव हुने अंकगणित छ ।

    कांग्रेसले सरकारबाट बाहिरिएपछि त्यहाँ राजनीतिक गतिविधि तीव्र बनेको छ ।

    यस्तै, सुदूरपश्चिम प्रदेशमा कांग्रेस–नेकपा गठबन्धन सहज बहुमतमा पुग्ने देखिएको छ ।

    एमाले–नेकपाले सरकार बनाउन भने नागरिक उन्मुक्ति पार्टीको समर्थन अनिवार्य पर्नेछ ।

    राजनीतिक विश्लेषकहरूका अनुसार प्रदेश सरकारहरूको भावी समीकरण अब कांग्रेस–एमाले सम्बन्धभन्दा पनि नेकपाले कुन पक्ष रोज्छ भन्ने निर्णयमा निर्भर रहनेछ ।

    विशेषगरी सुदूरपश्चिम र कर्णालीमा देखिएको राजनीतिक घटनाक्रमले अन्य प्रदेशको सत्ता समीकरणमा समेत प्रभाव पार्ने संकेत देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images