images
images
  • पानी पार्ने, बर्खा लाउने बादल आइपुग्यो नेपाल, सतर्क रहन आग्रह

    काठमाडौं– मनसुन सक्रिय भएसँगै आगामी दुई दिन देशका अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाले असार १५ र १६ गतेको मौसम पूर्वानुमान सार्वजनिक गर्दै विशेषगरी कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने चेतावनी दिएको छ ।

    महाशाखाका अनुसार सोमबार (असार १५) देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ ।

    तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ ।

    कोशी र गण्डकी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

    सोमबार राति पनि देशभर बदली कायम रहनेछ ।

    कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा तथा मधेश, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

    यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

    यस अवधिमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images