images
images
  • पेचिलो बन्दै, कांग्रेसको क्रियाशील सदस्यता, देउवा पक्ष रुष्ट ।

    काठमाडौं:  नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीसँगै क्रियाशील सदस्यता अद्यावधिकको विषय विवादको केन्द्रमा पुगेको छ। पार्टी सभापति गगन थापाले असार ९ गते झापामा आयोजित कार्यक्रममा क्रियाशील सदस्यता नवीकरण नगर्ने व्यक्तिलाई पार्टी सदस्यका रूपमा नचिनिने बताएका थिए। उनको उक्त अभिव्यक्तिपछि विशेषगरी पूर्वसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइराला पक्षले असन्तुष्टि जनाएको छ।

    पार्टीको १४औँ महाधिवेशनमा ८ लाख ६६ हजार २०२ क्रियाशील सदस्य रहेकामा पछिल्लो डिजिटल अद्यावधिकका लागि ७ लाख ८२ हजार २०९ सदस्य योग्य रहेको कांग्रेसले जनाएको छ। तीमध्ये हालसम्म ६ लाख ८७ हजार ९३१ सदस्यको विवरण डिजिटल प्रणालीमा समावेश गरिएको छ भने करिब १ लाख ७८ हजार सदस्यको अद्यावधिक अझै हुन बाँकी छ। तीमध्ये धेरै सदस्य देउवा र कोइराला निकट जिल्लाका रहेको बताइएको छ। क्रियाशील सदस्यता व्यवस्थापन केन्द्रीय समितिका अनुसार ५ लाख ३८ हजार ६२२ सदस्यले वडा तहबाट अद्यावधिक पूरा गरिसकेका छन्। साथै, वडा बाहिर रहेका १ लाख ४९ हजार ३०९ सदस्यले स्वयं अद्यावधिकका लागि आवेदन दिएका छन्।

    तर, देउवा र कोइराला पक्षले पर्याप्त सहमति बिना प्रणाली लागू गरिएको, धेरै जिल्लामा प्राविधिक समस्या देखिएको तथा हजारौं पुराना सदस्य छुटेको आरोप लगाएका छन्। उनीहरूले सबै पक्षको सहमतिमा मात्र अन्तिम सदस्यता सूची सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। यसैबीच, सभापति थापाले सदस्यता अद्यावधिक अभियान अपेक्षाभन्दा सफल भएको दाबी गर्दै नवीकरण नगर्ने व्यक्ति पार्टी सदस्यका रूपमा नरहने स्पष्ट पारे। उनले सदस्यता अद्यावधिक रोक्न खोज्ने पदाधिकारीमाथि कारबाही हुने चेतावनी पनि दिएका छन्।

    वरिष्ठ नेता डा. शेखर कोइरालाले भने पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको आरोप लगाएका छन्। उनले सदस्यता अद्यावधिकको नाममा वडा सभापतिहरूमाथि कारबाही गरिनु तथा दबाब सिर्जना गर्नु लोकतान्त्रिक अभ्यासविपरीत भएको बताएका छन्।

    १५औँ महाधिवेशन नजिकिँदै जाँदा क्रियाशील सदस्यताको अन्तिम टुंगो कसरी लाग्छ भन्ने विषयले कांग्रेसको आन्तरिक राजनीति र भावी नेतृत्व चयनमा महत्वपूर्ण प्रभाव पार्ने देखिएको छ।

     

    नेपाली कांग्रेस, शेखर कोइराला, शेरबहादुर देउवा, गगन थापा

    प्रतिक्रिया दिनुहोस्
    images
    images