काठमाडौं– निर्देशक राजु शाहको निर्देशनमा बनेको सामाजिक कथावस्तुमा आधारित नेपाली चलचित्र ‘जाँड’ आज (शुक्रबार)देखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आएको छ ।
मद्यपानका कारण परिवार र समाजमा उत्पन्न हुने समस्या तथा सामाजिक विकृति–विसंगतिलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रले दर्शकमाझ सशक्त सामाजिक सन्देश पुर्याउने अपेक्षा निर्माण पक्षले गरेको छ ।
यसअघि सार्वजनिक गरिएको ट्रेलरमा अत्यधिक मद्यपान गर्ने व्यक्तिको व्यवहारले परिवारमा निम्त्याउने तनाव, कलह र विखण्डनलाई यथार्थपरक ढंगले प्रस्तुत गरिएको छ ।
साथै, त्यस्ता व्यक्तिप्रति पत्नी, छोरी र समाजले राख्ने दृष्टिकोणलाई पनि चलचित्रले मार्मिक रूपमा चित्रण गरेको देखिन्छ ।
चलचित्रले मद्यपानको लतले पारिवारिक सम्बन्धमा ल्याउने दरार मात्र होइन, नेपाली समाजमा अझै गहिरो रूपमा विद्यमान ‘वंश धान्न छोरा नै चाहिन्छ’ भन्ने परम्परागत सोचमाथि पनि प्रश्न उठाएको छ ।
छोराप्रतिको अत्यधिक मोह र छोरीप्रति हुने विभेदका कारण परिवार तथा समाजमा सिर्जना हुने समस्यालाई कथावस्तुको केन्द्रमा राख्दै समानता र सचेतनाको सन्देश दिन खोजिएको निर्माण पक्षको भनाइ छ ।
राजेन्द्र भट्टको निर्माण रहेको चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना र स्मारिका खनाललगायत कलाकारहरूको अभिनय रहेको छ ।
सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्त रूपमा तयार पारेका हुन् ।
चलचित्रका निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह रहेका छन् ।
चलचित्रको मुख्य सहायक निर्देशकमा शम्भु गौतम र किशोर डंगोल रहेका छन् भने नरेन्द्रकुमार केसी सहनिर्देशकको भूमिकामा छन् ।
दीपेन बस्न्यातले छायांकन तथा सम्पादन गरेको चलचित्रमा योगेन्द्र श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।
निर्माण नियन्त्रकको जिम्मेवारी सुनिलप्रसाद श्रेष्ठले सम्हालेका छन् भने चलचित्रमा श्रीपुरुष ढकालका शब्द तथा रोशन बालुवाको संगीत र स्वर समावेश गरिएको छ ।




















