सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि गाडी, मोटरसाइकल र स्कुटर खरिदमा ३० करोड ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मुख्यमन्त्री कार्यालयसहित सातवटै मन्त्रालय र प्रदेश सभाले नयाँ सवारीसाधन खरिद गर्ने योजना बनाएका छन् ।
मुख्यमन्त्री कार्यालयले मात्रै भिभिआइपी गाडी खरिदका लागि तीन करोड रुपैयाँ, विद्युतीय गाडीका लागि दुई करोड ४० लाख र स्कर्टिङ प्रयोजनका लागि ८५ लाख रुपैयाँ छुट्याएको छ ।
विभिन्न मन्त्रालय र प्रदेश मातहतका निकायहरूले पनि चारपांग्रे गाडी तथा मोटरसाइकल खरिदका लागि करोडौं रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
प्रतिपक्षी सांसद ओमविक्रम भाटले बजेट विकास निर्माणभन्दा सवारीसाधन र खरिदमुखी योजनामा केन्द्रित भएको भन्दै आलोचना गरेका छन् ।
उनका अनुसार सरकारले ठूला पूर्वाधार आयोजनाभन्दा गाडीघोडा र सामग्री खरिदलाई प्राथमिकता दिएको छ ।
यसैबीच, मुख्यमन्त्री कार्यालयमा फर्निचर तथा फिक्चर्स खरिदका लागि ५७ लाख रुपैयाँ, उच्चस्तरीय भेटघाट कक्ष निर्माणका लागि २२ लाख ८० हजार र लिफ्ट जडानका लागि ३० लाख ४० हजार रुपैयाँ बजेट छुट्याइएको छ ।























