काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रदेश अधिवेशनमा बहालवाला सभापति तथा सांसदहरू नै पराजित भएका छन् ।
पार्टीको सर्कुलरविपरीत उम्मेदवारी दिएका केही सांसदहरू नेतृत्व दौडमा असफल भएका हुन् ।
बागमती प्रदेशमा वर्तमान सभापति तथा प्रतिनिधिसभा सदस्य डा.अच्युतम लामिछाने २ मतले पराजित हुँदा उत्सव अर्याल ४१६ मतसहित विजयी भए ।
लामिछानेले ४१४ मत प्राप्त गरे ।
गण्डकी प्रदेशमा बहालवाला सभापति तथा सांसद राजन गौतम ५२ मतान्तरले पराजित भए ।
नवीन त्रिपाठी २३४ मतसहित सभापतिमा निर्वाचित हुँदा गौतमले १८२ मत पाए ।
लुम्बिनी प्रदेशमा समानुपातिक सांसद मञ्जु ज्ञवाली भुसाल पनि नेतृत्व दौडमा असफल भइन् ।
पहिलो चरणमा कसैले बहुमत नल्याएपछि शालिकराम घिमिरे सर्वसम्मत रूपमा सभापतिमा चयन भए ।
हालसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको नेतृत्व चयन भइसकेको छ भने विवादका कारण मधेस प्रदेशको अधिवेशन स्थगित भएको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको अधिवेशन भने निर्धारित कार्यतालिकाअनुसार हुने भएको छ ।























