काठमाडौं– लुम्बिनी प्रदेशमा साढे तीन वर्षको अवधिमा चार मुख्यमन्त्रीसहित ५० जना मन्त्री बनिसकेका छन् ।
८७ सदस्यीय प्रदेश सभामध्ये ३६ सांसदले सरकारमा सहभागी हुने अवसर पाएका छन् ।
हालै एमाले र जसपाका पाँच मन्त्री फेरबदल गरिएका छन् भने बजेटपछि कांग्रेसका मन्त्रीहरू पनि परिवर्तन गर्ने तयारी छ ।
प्रदेशमा २०७९ यता चार पटक सरकार फेरिएको छ ।
एमालेका लीला गिरी, कांग्रेसका डिल्लीबहादुर चौधरी, माओवादीका जोखबहादुर महरा र हाल एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनेका छन् ।
केही सांसद चार पटकसम्म मन्त्री बनिसकेका छन् ।
यस्तै, सुदूरपश्चिम प्रदेशमा पनि साढे तीन वर्षमा चार सरकार गठन भएका छन् भने २० पटक मन्त्रिपरिषद् गठन र पुनर्गठन गरिएको छ ।
५३ सांसदमध्ये ३६ जना मन्त्री बनिसकेका छन् ।
प्रदेशमा मन्त्री बन्ने प्रतिस्पर्धा र केन्द्रको सत्ता समीकरण परिवर्तनले सरकारहरू अस्थिर बन्दै गएको विश्लेषण गरिएको छ ।
राजनीतिक विश्लेषकहरूले बारम्बार हुने मन्त्रिपरिषद् हेरफेरले सुशासन र विकासमा असर परेको तथा प्रदेश संरचनाप्रति जनविश्वास कमजोर बनेको बताएका छन् ।























