धनगढी– सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्री फेरबदलको विषयमा नेकपा (एमाले)भित्र विवाद चुलिएको छ ।
नेपाली कांग्रेसले आफ्ना सबै मन्त्री परिवर्तन गरी नयाँ टोलीलाई शपथ गराउँदा एमाले भने आन्तरिक किचलोका कारण मन्त्री हेरफेर गर्न असफल भयो ।
अध्यक्ष केपी शर्मा ओलीको निर्देशनअनुसार चक्रबहादुर मल्ल, दमनबहादुर भण्डारी, सन्तोषकुमारी शर्मा थापा र जानकी ऐर बमलाई मन्त्री बनाउने तयारी गरिएको थियो ।
शपथको तयारीसमेत पूरा भइसकेको अवस्थामा अन्तिम समयमा ओली सचिवालयबाट बजेटको समय भएकाले हालका मन्त्रीलाई यथावत् राख्न निर्देशन आएपछि प्रक्रिया रोकियो ।
निर्णय उल्टिएपछि मन्त्री बन्ने तयारीमा रहेका नेताहरू र उनका समर्थक असन्तुष्ट बने ।
उनीहरूले संसदीय दलका नेता राजेन्द्र सिंह रावलमाथि एकलौटी निर्णय गरेको आरोप लगाउँदै नाराबाजी गरे ।
धनगढीस्थित एमाले प्रदेश कार्यालयमा तालाबन्दीसमेत गरिएको छ ।
पार्टीभित्र पुराना मन्त्रीलाई निरन्तरता दिने र नयाँ टोली पठाउने पक्षबीचको विवादका कारण मन्त्री फेरबदल रोकिएको एमाले स्रोतले जनाएको छ ।
असन्तुष्ट पक्षले प्रदेश नेतृत्वले केन्द्रमा गलत रिपोर्टिङ गरेर अन्तिम समयमा निर्णय बदलाएको आरोप लगाएको छ ।























