काठमाडौं– अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानविरुद्धको सैन्य कारबाहीलाई नियन्त्रण गर्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ ।
प्रस्ताव २१५ विरुद्ध २०८ मतले स्वीकृत भएको हो ।
प्रस्तावको पक्षमा मतदान गर्ने क्रममा चार जना रिपब्लिकन सांसदहरूले आफ्नै पार्टीको लाइनविपरीत डेमोक्र्याट सांसदहरूसँग सहकार्य गरेपछि प्रस्ताव पारित हुन सफल भएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अमेरिकी संसद्मा युद्ध तथा सैन्य हस्तक्षेपजस्ता विषयमा सार्वजनिक रूपमा देखिएको यस्तो मतभेद दुर्लभ मानिन्छ ।
प्रस्तावले राष्ट्रपति ट्रम्पले कांग्रेसको स्पष्ट स्वीकृतिबिना इरानविरुद्ध सैन्य कारबाही अघि बढाउन नपाउने व्यवस्था गर्न खोजेको छ ।
आलोचकहरूले ट्रम्प प्रशासनले युद्धसम्बन्धी संवैधानिक अधिकार प्रयोग गर्दा कांग्रेसको अनुमतिलाई बेवास्ता गरेको आरोप लगाउँदै आएका छन् ।
ट्रम्पको युद्धसम्बन्धी अधिकार सीमित गर्न गरिएको यो चौथो प्रयास भएको बताइएको छ ।
यद्यपि प्रतिनिधिसभाबाट पारित भएको उक्त प्रस्तावले कानुनी मान्यता पाउन अझै रिपब्लिकन बहुमत रहेको सिनेटबाट अनुमोदन हुन बाँकी छ ।
सिनेटबाट पनि पारित भएमा राष्ट्रपति ट्रम्पले यसलाई भिटो गर्ने सम्भावना रहेको विश्लेषण गरिएको छ ।
यदि ट्रम्पले भिटो गरेमा त्यसलाई निष्प्रभावी बनाउन प्रतिनिधिसभा र सिनेट दुवैमा दुई तिहाइ बहुमत आवश्यक पर्नेछ, जुन प्राप्त गर्न कठिन मानिएको छ ।
यसअघि पनि सिनेटले मे महिनामा यस्तै प्रकृतिको प्रस्ताव पारित गरेको थियो ।
तर त्यसलाई पूर्ण सदनबाट अन्तिम स्वीकृति प्राप्त हुन सकेको थिएन ।


विश्व खबर 




















