काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) बीचको राजनीतिक सहकार्य पछिल्लो समय दुई फरक प्रकृतिका विवादका कारण प्रहरी हिरासतमा हुनुपर्ने सभामुख डीपी अर्याल, पूर्वमन्त्री शरदसिंह भण्डारी राज्य सञ्चालनमा कमजोर देखिएका कुमार व्यञ्जनकार (बेन) ले उन्मुक्ति पाउँदै आएका छन्।
बेन, प्रहरी प्रशासन र सरकार शाही आयोगको बाटोमा ?
इनम सापकोटा प्रकरणमा प्रधानमन्त्रीका सल्लाहकार कुमार बेन, प्रहरी र सरकारसमेत शाही आयोगको बाटोमा अगाडि बढेको लक्षण देखिएको छ।
२०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि विरोधी तह लगाउन शाही आयोग गठन गरेका थिए। त्यसले अहिलेको सरकार, प्रहरी प्रशासनले जस्तै मन नपरेका दलका नेता कार्यकर्ताहरुमाथि अन्धाधुन्ध आक्रमण गरेको थियो। यसको विरोधमा सर्वोच्चमा मुद्दा परेपछि अदालतले यो आयोग नै खारेज गरिदिएको थियो।
यसबेला सरकार, प्रहरी प्रशासन र यसलाई परिचालन गर्ने प्रधानमन्त्रीको सचिवालय यही बाटोमा अगाडि बढेको झल्को दिएको छ। बिचौलियाको रूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा प्रहरी अनुसन्धानमा रहेका इनम सापकोटाले प्रहरीले यातना दिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोग गुहारेपछि सरकार शाही आयोगको भूमिकामा देखिएको हो। आफूलाई धम्क्याएर झुटो बयान लिइएको र परिवार मेत असुरक्षित रहेको उनले दाबी गरेका छन् ।
गत १ असोजमा पक्राउ परेका सापकोटामाथि जिल्ला प्रहरी परिसर, काठमाडौंले सम्पत्ति शुद्धीकरण र नेपाल राष्ट्र बैंक ऐनअनुसार अनुसन्धान गरिरहेको छ। आफूलाई प्रहरीले नै लेखेको कुरा पढ्न लगाएरसमेत अडियो रेकर्ड गरिएको उनको दाबी छ।
‘निजहरूले मलाई १४ गतेदेखि १५ गते साँझसम्म अज्ञात स्थलमा कालोपट्टी लगाएर नै राखेका थिए । सो अवधिमा मसँग विभिन्न कुराहरू सोधपुछ गरेका थिए’, उनले निवेदनमा भनेका छन्, ‘सोधपुछको क्रममा तिमीविरुद्ध हाम्रो व्यक्तिगत केही छैन भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, राजनीतिक दल नेपाली कांग्रेसका सभापति गगन थापा, कांग्रेसका नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटेलका नवीन तुलाधर, सर्वोच्च अदालतमा कार्यरत केही श्रीमानहरूविरुद्ध प्रमाण र बयान दिए छाडिदिने नत्र म मात्र होइन, मेरो परिवारसमेतलाई नराम्रो हुन्छ भनी धम्की दिइयो।’
अनुसन्धानमा झूटा प्रमाणहरू तयार गरिरहेको उनको दाबी छ। आफ्नो मोबाइल दुई दिनसम्म अनधिकृत व्यक्तिले राखेको पनि उनले उल्लेख गरेका छन्।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग मिलेर थुनामा रहेका दीपक भट्टलाई छुटाउन चलखेल गरेको सूचनाका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको थियो। प्रहरीले उनीमाथि अनुसन्धानको क्रममा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट तथा व्यवसायी महेश श्रेष्ठलाई समेत पक्राउ गरेको छ। उनीसँग शंकास्पद कारोबार देखिएका थप व्यक्तिहरूमाथि पनि अनुसन्धान जारी रहेको बेला सापकोटाले आयोगमा निवेदन दिएका हुन्।
अनुसन्धानको क्रममा उनको सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालसँगको मुद्दाका विषयमा भएको च्याट पनि सार्वजनिक भइसकेको छ।
मलेसिया प्रकरणमा सत्ता र शक्तिको चरम दुरुपयोग
एकातिर मलेसिया जाने नेपाली श्रमिकमाथि स्वास्थ्य परीक्षणका नाममा भएको भनिएको अर्बौं रुपैयाँको ठगी र रकम विदेश पठाउने प्रकरणमा रास्वपाका नेता तथा पूर्वश्रममन्त्री डीपी अर्यालमाथि प्रश्न उठाइएको छ। अर्कोतिर प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनको नाम इनम सापकोटाको मोबाइल फोन प्रकरणमा जोडिएपछि प्रधानमन्त्रीको सचिवालय र अनुसन्धान निकायको भूमिकामाथि गम्भीर प्रश्न उठेका छन्।
यी दुई प्रकरण एउटै घटनाका हिस्सा होइनन्। तर दुवैमा राजनीतिक पहुँच, सरकारी निर्णय प्रक्रिया, अनुसन्धानको निष्पक्षता र शक्तिशाली व्यक्तिहरूको जवाफदेहितासम्बन्धी प्रश्न जोडिएका छन्। यसको राजनीतिक महत्त्व अझ बढ्नुको कारण रवि-बालेन सहकार्यको प्रारम्भिक चरणमा डीपी अर्याल र कुमार बेन दुवैको उपस्थिति हुनु हो।
विगतमा यी दुई पक्षबीच भएको राजनीतिक संवादमा अर्याल र बेन सहभागी भएको समाचारसमेत सार्वजनिक भएको थियो।
यो रकम १७ पटक टेलिग्राफिक ट्रान्सफर (टीटी) मार्फत पठाइएको अनुसन्धान विवरणमा उल्लेख छ। रकम लक्ष्मी सनराइज बैंकको खाताबाट मलेसियास्थित बेस्टिनेट कम्पनीको मेलायन बैंकिङ बर्हाड खातामा पुगेको बताइएको छ।
चारपटक मन्त्रीस्तरीय निर्णय : डीपी अर्यालको कार्यकालमा के भएको थियो ?
सीआईबीको अनुसन्धानमा गैरकानुनी रूपमा संकलित रकम विदेश पठाउन चारपटक मन्त्रीस्तरीय निर्णय भएको विवरण सार्वजनिक भएको छ। अनुसन्धानमा तत्कालीन श्रममन्त्री रामेश्वर राय यादव र शेरबहादुर कुँवरको कार्यकालमा भएका निर्णयका कागजात फेला परेको छ।
यसबीच २०७६ सालपछि श्रममन्त्री बनेका गौरीशंकर चौधरी, विमलप्रसाद श्रीवास्तव, कृष्णकुमार श्रेष्ठ, डोलप्रसाद (डीपी) अर्याल र शरदसिंह भण्डारीको कार्यकाल पनि अनुसन्धानका क्रममा समीक्षा गरिएको थियो।
मलेसिया प्रकरणमा हिरासतमा रहेकाहरु र सभामुख डीपी अर्यालको घटना प्रकृति एउटै किसिमको छ। तर एउटै किसिमको घटनामा कसैलाई हिरासतमा राखिएको छ भने सभामुख अर्याल र पूर्वमन्त्री शरदसिंह भण्डारीले उन्मुक्ति पाएका छन्। अर्याल र भण्डारी दुवैले सत्ता र शक्तिको प्रयोग गर्दै यसरी उन्मुक्ति पाएको बताइएको छ। भण्डारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठका नाताले ससुरा पर्छन्।





















