काठमाडौं – दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन् । शनिबार बिहान कर्णाली प्रदेश रंगशालामा भएको खेलमा दुवै टोलीले समान दुई गोल गरेपछि अंक बाँडेका हुन् ।
आफ्नो दोस्रो खेल जित्नैपर्ने दबाबमा रहेको सुदूरपश्चिम बराबरीमा रोकिएसँगै लिग चरणबाटै बाहिरिएको छ । खेलको सातौं मिनेटमा सुदूरपश्चिमका श्याम वादीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, एपीएफका गणेश पुलामीले १६औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। २६औं मिनेटमा अनिश क्षेत्रीले गोल गरेपछि एपीएफले पहिलो हाफमै २–१ को अग्रता बनाएको थियो।
पहिलो हाफमा एक गोलले पछि परेको सुदूरपश्चिमले दोस्रो हाफमा पुनरागमन गर्यो । खेलको ७२औं मिनेटमा सन्दीप सिंहले गोल गर्दै टोलीलाई २–२ को बराबरीमा पुर्याए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल बराबरीमा सकिएको म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए ।
उनका अनुसार खेलमा दुवै टोलीका एक–एक खेलाडीले पहेँलो कार्ड पाएका थिए। एपीएफका सुमन श्रेष्ठले ६०औं र सुदूरपश्चिमका विष्णु चौधरीले ८९औं मिनेटमा पहेँलो कार्ड पाएका थिए ।
दुई खेलबाट चार अंक जोडेको एपीएफ सेमिफाइनलमा प्रवेश गरेको छ भने समान खेलबाट एक अंक मात्रै जोडेको सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ। यसअघि पहिलो खेलमा सुदूरपश्चिम मधेश प्रदेशसँग पराजित भएको थियो ।





















