काठमाडौं– पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले महिला क्रिकेटरहरूको केन्द्रीय सम्झौताको सङ्ख्या २० बाट घटाएर आठमा सीमित गरेको छ । व्यापक कटौतीका बीच बोर्डले पाकिस्तान महिला क्रिकेट टोलीकी कप्तान फातिमा सना र स्पिनर सादिया इकबाललाई शीर्ष केन्द्रीय सम्झौता श्रेणीमा यथावत् राखेको छ ।
सिद्रा अमिन, मुनीबा अलि र नशरा सन्धुलाई श्रेणी ‘बी’ मा राखिएको छ भने आयशा जफर, गुल फिरोजा र सदफ शमसलाई श्रेणी ‘सी’ मा समावेश गरिएको छ । गत वर्ष केन्द्रीय सम्झौताबाट बाहिर रहेकी आयशा जफर यस वर्ष सम्झौता पाउने एक्ली नयाँ खेलाडी हुन् ।
गत वर्ष २० मध्ये १२ वटा सम्झौता प्रदान गरिएका श्रेणी ‘डी’ र ‘ई’ यस पटक पूर्ण रूपमा खारेज गरिएका छन् ।
विशेषगरी श्रेणी ‘ई’ खारेज गरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । गत वर्ष सम्झौता घोषणा गर्दा पाकिस्तान क्रिकेट बोर्डले युवा तथा प्रतिभाशाली खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले यसलाई ‘उदीयमान खेलाडी श्रेणी’ का रूपमा प्रस्तुत गरेको थियो ।
गत वर्ष श्रेणी ‘ई’ अन्तर्गत सम्झौता पाउने दुई खेलाडी इमान फातिमा र शवाल जुल्फिकार यस वर्ष भने बाहिर रहे । त्यस्तै आलिया रियाज, डायना बैग, रामिन शमीम, नाजिहा अल्वी, नतालिया परवेज, ओमैमा सोहेल, सिद्रा नवाज, आरुब शाह, तुबा हसन, उम्मे हानी र वाहिदा अख्तर पनि यस वर्षको केन्द्रीय सम्झौताबाट बाहिरिएका छन् ।
नयाँ केन्द्रीय सम्झौता सन् २०२६ जुलाई १ देखि लागू हुनेछन् र आगामी वर्षको जुन मसान्तसम्म कायम रहनेछन् ।
पीसीबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खेलाडीहरूको पछिल्लो प्रदर्शन र फिटनेसलाई मूल्याङ्कन गरेर विभिन्न श्रेणी निर्धारण गरिएको हो । नियमित रूपमा फिटनेस परीक्षण गरिनेछ र केन्द्रीय सम्झौतामा रहेका खेलाडीले सम्झौता अवधिभर तोकिएको शारीरिक तन्दुरुस्तीको मापदण्ड कायम राख्नुपर्नेछ ।’
२४ वर्षीया फातिमा सनालाई ब्याटिङ र बलिङ दुवैतर्फ निरन्तर उत्कृष्ट प्रदर्शन गरेबापत शीर्ष श्रेणीमा राखिएको बोर्डले जनाएको छ । उनी हालै इङ्ल्यान्डको ‘द हन्ड्रेड’ र अस्ट्रेलियाको ‘वुमन्स बिग बास लिग’ मा खेल्ने पहिलो पाकिस्तानी महिला क्रिकेटर बनेकी थिइन् ।
यसैगरी सादिया इकबालले पनि पाकिस्तानका प्रमुख खेलाडीमध्ये आफ्नो स्थान कायम राखेकी छन् । बायाँ हाते स्पिनर सादिया यसअघि महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको बलिङ वरीयतामा शीर्ष स्थानमा पुगिसकेकी छन् ।
मुनीबा अलि सिद्धिकी, नशरा सन्धु र सिद्रा अमिनलाई विभिन्न क्रिकेट प्रारूपमा निरन्तर प्रदर्शन र योगदानका आधारमा श्रेणी ‘बी’ मा राखिएको पीसीबीले जनाएको छ । त्यस्तै ओपनिङ जोडी गुल फिरोजा र सदफ शमसलाई अनुभवी खेलाडी आयशा जफरसँगै श्रेणी ‘सी’ मा समावेश गरिएको छ ।
बोर्डका अनुसार उनीहरूलाई समावेश गर्नुको कारण पछिल्लो समय घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको उत्कृष्ट प्रदर्शन र टोलीको भावी आवश्यकतालाई ध्यानमा राख्नु हो ।
११ टोली सहभागी आईसीसी महिला च्याम्पियनसिपको अङ्कतालिकामा पाकिस्तान हाल पाँचौँ स्थानमा छ । पाकिस्तानले आफ्ना तीनमध्ये दुई वटा एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला गुमाइसकेको छ ।
पाकिस्तानले आगामी महिना क्यारेबियन भ्रमण गर्नेछ । उक्त भ्रमणमा उसले वेस्ट इन्डिजसँग टी-२० अन्तर्राष्ट्रिय र एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने कार्यक्रम छ ।
-एजेन्सी/इस्लामवाद





















