images
images
  • ओभरटनको पाँच विकेटपछि इंग्ल्यान्डले अस्ट्रेलियालाई हरायो, शृङ्खलामा अग्रता

    काठमाडौं – अस्ट्रेलियाविरुद्धको टी–२० क्रिकेट शृङ्खलामा इंग्ल्यान्डले दोस्रो जित हात पारेको छ । तेस्रो टी–२० खेलमा इंग्ल्यान्डले घरेलु टोली अस्ट्रेलियालाई डकवर्थ–लुइस–स्टर्न (डीएलएस) पद्धतिका आधारमा सात विकेटले पराजित गरेको हो ।

    लगातार दोस्रो जित निकालेको इंग्ल्यान्डले पाँच खेलको शृङ्खलामा २–१ को अग्रता बनाएको छ। यसअघि मंगलबार भएको दोस्रो खेलमा पनि इंग्ल्यान्डले अस्ट्रेलियालाई आठ विकेटले हराएको थियो ।

    ब्रिस्बेनस्थित गाबा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलिया १६ ओभर ४ बलमा १०८ रनमा समेटियो । घरेलु मैदानमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अलआउट हुँदै बनाएको यो अस्ट्रेलियाको अहिलेसम्मकै न्यून योगफल हो ।

    अस्ट्रेलियाका लागि साम हार्परले सर्वाधिक २६ रन बनाए । कप्तान मिचेल मार्स, जेक फ्रेजर म्याकगर्क र टिम डेभिडलगायतका ब्याटरले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

    इंग्ल्यान्डका जेमी ओभरटनले उत्कृष्ट बलिङ गर्दै १२ रन खर्चिएर पाँच विकेट लिए। यो उनको करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन हो । अन्तर्राष्ट्रिय क्रिकेटमा उनले पहिलोपटक पाँच विकेट लिएका हुन् । स्पिनर लियाम डसनले १६ रन दिएर तीन विकेट हात पारे ।

    १०९ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले पनि सुरुवातमा दबाब सामना गर्नुपर्‍यो । ४९ रन जोड्दा तीन विकेट गुमाएको इंग्ल्यान्डको इनिङ्स वर्षाका कारण तीनपटक रोकिएको थियो ।

    वर्षाले खेल प्रभावित भएपछि डीएलएस पद्धतिअनुसार इंग्ल्यान्डले ९३ रनको संशोधित लक्ष्य पाएको थियो। इंग्ल्यान्डले १२ ओभर ५ बलमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । इंग्ल्यान्डका ओपनर एन्युरिन डोनाल्डले १३ बलमा आक्रामक ३२ रन बनाए। जोर्डन कोक्स ३३ रनमा अविजित रहे। अस्ट्रेलियाका राइली मेरिडिथले तीन विकेट लिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images