काठमाडौं- अहिले अफ्रिकाका तटीय सहरहरूको विषयमा अनौठो रहस्य पत्ता लागेको छ । केही नाम चलेका तटीय सहरहरूमा पानीको सतह बिस्तारै बढ्दै गएर पूर्वानुमान गरिएभन्दा चाँडो नै डुब्ने सम्भावना छ ।
युरोपियन एजेन्सीको स्याटलाइट सन्टाइन- १ ले आकाशबाट अफ्रिकाका २० तटीय सहरहरूको इमेज लिएर यो पत्ता लगाएका हो । यसरी दृश्य लिइएका सहरहरूमा नाइजेरियाको लागोसदेखि इजिप्टको अलेजान्द्रियासम्म छन् ।
यसअघि प्यानल अफ क्लाइमेट चेन्ज (आईपीसीसी) ले तय गरेका मापदण्डभन्दा फरक किसिमले चाँडो यी सहर डुबानमा पर्ने सम्भावना बढेको हो । यसका मूल कारणमा प्राकृतिक र केही मानवजन्य कारणहरू छन् ।
यस विषयमा भएका अध्ययनको अगुवाइ गरिरहेका ओलुओसे डालुले यसरी जमिन भासिन पानीको सतहको नजिक पुग्नुमा मान्छेले फाल्ने गरेको फोहोर नै मूल कारण भएको जनाएका छन् । उनले सो फोहोर बिस्तारै तल कतै जम्मा भएर बस्ने र यसले समस्या दिने गरेको बताए ।
विगतमा भएका केही अध्ययनहरू त्रुटिपूर्ण भएको पनि ठहर भएको छ । जमिनको चहलपहलका कारण प्रस्ट चित्र आउन नसकेको धेरै वैज्ञानिकहरूले बताएका छन् । यसका बाबजुद यस पटक यो प्रविधि अत्यन्त वैज्ञानिक रहेको एवम् सही दृश्य लिन सकिएको बताएका छन् ।

सेन्टिनेल- १ मा रहेर यसरी घुम्ने अन्वेषक मोनोस्च सिराइजाईले स्याटलाइटले जमिनमा राडार पठाउने र सो जमिनमा ठोक्किएर फेरि स्याटलाइटमा नै फर्कने गरेको थियो । यो शैली बारम्बार अपनाइएको थियो ।
स्याटलाइटले पठाएको राडार गएको समय र फर्किएको समयमा लागेको फरकको आधारमा जमिन कसरी सरेको छ भन्ने गणना गरिएको हो ।
अलेजान्द्रिया प्रतिवर्ष ६ मिलिमिटर तथा लागोस प्रत्येक वर्ष ५ मिलिमिटरका दरले डुबिरहेका छन् । यही क्रम यथावतै रहेमा सन् २०५० सम्ममा अलेजान्द्रियामा समुद्रको सतह आईपीसीसीले यसअघि गरेको अनुमानभन्दा ३६ प्रतिशतले वृद्धि हुनेछ ।
एंगोलाको लुवान्डामा पनि अलि छिटो डुबिरहेको छ । दक्षिण अफ्रिकाको डर्बान भने स्थायी रहेको छ । यसरी गरिएको अध्ययनले मूल कारण अप्राकृतिक टापु बनाउने नै हो । पानी नियमित झिक्ने क्रमले सतह खँदिलो हुने र यसले चाँडो डुब्दै गएको पनि वैज्ञानिकहरूले बताएका छन् ।
लागोसका सवालमा भने कृत्रिम टापु बनाइने कामले नै चाँडो जमिन डुब्दै जानुको मूल कारण मानिएको छ । यसको समस्या समाधानका लागि अन्य स्रोतको पानी धेरै प्रयोग गर्ने र समुद्री सतहलाई नचलाउने भएको धेरैले जनाएका छन् । यस अध्ययनमा संलग्न वैज्ञानिकहरूले अब समस्यामा रहेका सहर त्यहाँको सरकारका लागि नयाँ बाटो खुला भएको बताएका छन् ।
यस २० सहरको अध्ययनले केही नयाँ रहस्य पनि पत्ता लगाइएका छन् । सन् २०५० सम्ममा ७० लाख मानिस र १० लाख सहर यसको जोखिममा पर्नेछन् ।
लागोसको सवालमा कुनै समय आउन सक्ने बाढीको जोखिममा अहिले नै २६ लाख जना प्रभावित छन् । यो क्रम बढ्दै गएर सन् २१०० सम्ममा ४० लाख जना जोखिममा पर्न सक्नेछन् । अलेजान्द्रियामा यसरी जोखिम बढिरहँदा क्यामरुनका डुवालमा सामान्य र लाइबेरियाको मनरोभीमा यसको असर पर्नेछ । मोजाम्बिकको मापुटो भने स्थिर रहेको अध्ययनले देखाएको छ । केन्याको मोम्पासा पनि स्थिर नै रहेको देखियो ।
अध्ययन गरिएका सहर

भूमध्य सागर र एटलान्टिकको किनारमा रहेका चार सहरको अध्ययन गरिएको हो । यी ४ सहरमा अलेजान्द्रियाका अलावा मोरक्कोको कासाब्लान्का, लिबियाको ट्रिपोली र ट्युनिसियाको ट्युनिस छन् ।
एटलान्टिक तथा गुयनाको खाडीमा रहेका पश्चिम अफ्रिकाका ६ सहरको पनि अध्ययन भएको छ ।
आइभरी कोस्टको अभिडजान, घानाको आक्रा, सेनेगलको डकार, नाइजेरियाको लागोस, टोगोको लोम र लाइबेरियाको मनरोभी यस क्षेत्रमा छन् ।
यसरी अध्ययन गरिएका सहरमा एटलान्टिक र गुयना खाडीकै किनारमा रहेका मध्य अफ्रिकाका ३ सहर छन् । यी ३ सहरमा क्यामरुनको डुवाला, गाबोनको ल्रिबेभिल र एंगोलाको लुवान्डा छन् ।
लाल सागर र हिन्द महासागरको किनारमा रहेका पूर्वी अफ्रिकाका चार सहरको अध्ययन भएको थियो । तान्जानियाको दारेसलाम, जिबाउटीको जिबाउटी सिटी, सोमालियाको मोगादिसु र केन्याको मोम्बासा अध्ययन गरिएका सहर हुन् ।
एटलान्टिक र हिन्द महासागरको तटमा रहेका दक्षिण अफ्रिकाको केपटाउन र डर्बानको साथमा मोजाम्बिकको मापुटोको अध्ययन गरिएको हो ।
पुरानो सहरमा नै धेरै समस्या

अहिले वार्षिक ६ मिलिमिटर सतह बढिरहेको अलेजान्द्रिया स्थापना ईसापूर्व ३३१ मा अलेक्जेनन्डर द ग्रेटले गरेका हुन् । टोलेमिक वंशको शासनकालमा अलेक्ज्यान्ड्रिया इजिप्टको राजधानी बनेको थियो । यो सहर परापूर्व कालदेखि नै व्यापार तथा ज्ञानको एक प्रसिद्ध केन्द्रका रूपमा स्थापित समेत थियो । यो सहर आफ्नो विशाल पुस्तकालय (ग्रेट लाइब्रेरी) र प्राचीन विश्वका सात आश्चर्यहरूमध्ये एक ’फारोसको लाइट हाउस’ का लागि प्रसिद्ध थियो ।
रोमन, बाइजान्टिन, अरब र अटोमन शासनको शताब्दीऔँ लामो इतिहासपछि १८०० को दशकमा अलेक्ज्यान्ड्रियाको पुनरुत्थान भएको हो । हाल यो इजिप्टको दोस्रो ठुलो सहरको रूपमा रहेको छ ।
यद्यपि यो ऐतिहासिक तटीय महानगरले अहिले एक गम्भीर आधुनिक खतराको सामना गरिरहेको छ ।
भूमिगत पानीको अत्यधिक दोहन, भारी सहरी निर्माण र नाइल नदीमा बनाइएका बाँधहरूले प्राकृतिक माटो र बालुवाको प्रवाह रोक्दा यो समस्या निम्तिएको वैज्ञानिक मत छ । जमिन भासिने प्रक्रिया र भूमध्य सागरको बढ्दो जलस्तर मिलेर यहाँ तटीय कटान र बाढीको जोखिमलाई अत्यन्तै गम्भीर बनाएको छ ।
-बीबीसी, फोर्ब्स र युरेक अलर्टलगायतको सहयोगमा


मनोज घिमिरे 



















