काठमाडौं– बागमतीलगायत खोलाकिनारका सुकुमवासी बस्तीमा डोजर चलाएपछि विरोध गर्नेलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले जवाफ दिएका थिए– ‘खोलाछेउमा उहाँहरूलाई डुबानको जोखिम छ, सरकारले सुरक्षित ठाउँमा स्थायी व्यवस्थापन गर्छ ।’ तर, प्रधानमन्त्रीको आश्वासनअनुसार लालपुर्जा पर्खिरहेका सुकुमवासीलाई सरकार रित्तै हात लखेट्दै छ । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीलाई ठाउँ खाली गर्न बुधबार सूचना टाँसेर शुक्रबार माइकिङ गरेको प्रशासनले शनिबार खाना र पानीसमेत बन्द गरिदियो । सुकुमवासी भोकै परेको हल्लाखल्ला भएपछि अभियन्ताले बाहिरबाट खाना बनाएर लगिदिए । तर, प्रशासनले भित्र लैजान रोकेपछि होल्डिङ सेन्टरका वृद्धवृद्धादेखि बालबालिकासम्म बाहिर सडकमा निस्किएर खान बाध्य भए ।
थापाथली, गैरीगाउँ र मनोहरा सुकुमवासी बस्तीबाट हटाइएकामध्ये १९ परिवारका ५९ जना बोडेको कृषि विकास बैंकमा बनाइएको होल्डिङ सेन्टरमा छन् । गत बर्खामा कीर्तिपुरको राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँबाट विस्थापित केही परिवारसमेत बोडेमै छन् । केही परिवारलाई कोठा भाडा दिने भनेर सरकारले कीर्तिपुरबाटै पाखा लगाएको थियो । केही परिवारले होल्डिङ सेन्टर नछाड्ने अडान लिएपछि बोडे पुर्याएको थियो । अहिले बोडेको होल्डिङ सेन्टरबाट पनि लखेट्न लागेपछि तनावमा छन् ।
‘बागमतीमा बाह्रैमासा आउने गन्ध र बर्खाको भेलले पनि त्यति पीडा दिएन, जति यो सात महिनामा सरकारले दिएको छ । थापाथलीको टहरामा डोजर चलाएयता एक रात पनि राम्ररी निदाउन सकेको छैन,’ बोडे होल्डिङ सेन्टरबाट हटाउन लागिएका झवरलाल उरवाले गुनासो गरे, ‘यहाँबाट निस्किएपछि सडकपेटीमै बस्नुपर्छ, त्यसैले निस्किँदैनौं । सरकारले मेरो तीन पुस्ता होइन, पाँच पुस्ता हेरोस्, मेरो कहिँकतै जग्गा रहेछ भने थुनोस्, सजाय भोग्न म तयार छु । तर बस्ने ठाउँ नै नदिई यहाँबाट ननिकालोस् ।’
थापाथलीको छाप्रोमा छँदा उरवाले चटपटे पसल चलाउँथे । त्यहाँबाट हटाएर कीर्तिपुर होल्डिङ सेन्टरमा पुर्याइएपछि उनको कामकाज रोकियो । केही समय कतै काम पाइन्छ कि भनेर खोजे, तर पाएनन् । पछि सरकारले कीर्तिपुरबाट बोडे पुर्यायो । अहिले फेरि स्थायी वासस्थानको कुनै ज्ञारेन्टी नै नगरी अस्थायी सेल्टरबाट पनि निस्किन दबाब दिँदै खाना र पानीसमेत बन्द गर्ने निर्मम कदम चालेको छ ।
उरवाले काठमाडौं महानगरपालिका– ११ स्थित मतदानस्थलबाट ०७४, ०७९ र गत फागुनको प्रतिनिधिसभा निर्वाचनमा मतदान गरे । संविधानले दिएको मताधिकार प्रयोग गर्न पाएका छन् किनकी उनको भोट सत्ता ताक्ने नेतालाई चाहिन्छ । तर, संविधानले नै मौलिक हकका रूपमा राखेको आवासको ज्ञारेन्टी भने उनले पाएका छैनन् । संविधानको धारा ३७ ९१० मा छ, ‘प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ ।’
थापाथली क्षेत्रबाटै हटाइएका दलमर्दन कामीको परिवार पनि बोडेस्थित होल्डिङ सेन्टरमै छ । उनको परिवारले बागमती नदी किनारमा २५ वर्ष गुजारेको थियो । अहिले सरकारले होल्डिङ सेन्टरबाट पनि रित्तै उठाउन खोजेपछि कामीको परिवार रन्थनिएको छ ।
‘अन्त जाने ठाउँ नै छैन, तर यहाँबाट उठेर जाउ भनेको छ,’ उनले भने, ‘लालपुर्जा पनि नदिने, जग्गा पनि नदिने, हाम्रो कहिँपनि जग्गा छैन, कहाँ जाने हो रु सरकारले लालपुर्जा नदिएसम्म यो ठाउँ छाड्दैनौं, बरू हरेक दिन धर्ना दिएर बस्छौं ।’
होल्डिङ सैन्टरमै बसेकी हरिमाया जिम्दालाई पनि बासको ठूलो चिन्ता छ । राज्यको दुई छाक खाएर लालपुर्जा पर्खिरहेकी उनलाई त्यही दुई छाक पनि रोकिदिएर विना लालपुर्जा हटाउन खोजेपछि ऐठन भएको छ । ‘यतिका महिनासम्म लालपुर्जा दिने तयारी भइरहेको होला भनेको त रित्तै पठाउने रे १ हाम्रो अन्त ठाउँ छैन, कहाँ गएर बस्नु रु जग्गा नै नदिने भए किन आश्वासन मात्रै दिनु रु’ उनले भनिन्, ‘सरकारले हामीलाई बस्ने ठाउँ देओस्, यहाँ एक मिनेट पनि बस्दैनौं । तर बास नहुँदासम्म यो ठाउँ छाड्दैनौं ।’
बोडे होल्डिङ सेन्टरमै बस्दै आएका प्रवेश राईगाई दैनिक ज्याला मजदुरी गर्छन् । उनी बिहानै होल्डिङ सेन्टरबाट निस्किन्छन्, बेलुकी फर्किन्छन् । शुक्रबार सुत्केरी श्रीमती र बच्चालाई होल्डिङ सेन्टरमा छाडेर काममा गएका उनी बेलुका फर्किँदा नमिठो खबर सुने– यो ठाउँ छाड्नुपर्यो रे । ‘बच्चाबच्ची लिएर कहाँ जानु रु कि त सरकारले स्थान देखाइदिनुपर्यो, बासको व्यवस्था नगरी हट् भनेर भन्न मिल्छ रु उनको प्रश्न छ, ‘खोला किनारबाट यस्तो स्थानमा ल्याएर राख्यो, फेरि यहाँबाट पनि घर न घाटको बनाउन मिल्छ रु’
बोडे होल्डिङ सेन्टरमा बसेका लाई हटाउन शुक्रबार बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । चर्को बिरोधपछि पछि हटेको सरकारले उनीहरूलाई खाना र पानी दिन छाडेको थियो । होल्डिङ सेन्टरबाट पानीका बोतल र जारसमेत फिर्ता लगेको सुकुमवासीहरूको गुनासो छ । उनीहरू बस्ने कोठा–कोठामै ‘छाड्न’ सूचना टाँसिएको छ ।
त्यसो त सुकुमवासी परिवारलाई खानपानको व्यवस्था सरकारले आफ्नो खर्चमा गरेको पनि थिएन । शान्तिसेवा गृहले खुवाउँदै आएको थियो । प्रशासनको आदेशपछि उक्त संस्थाले खाना खुवाउन पाएन । शुक्रबार उनीहरू फुको चिउरा र दालमोठमै गुजारा चलाउन बाध्य भए । शनिबार बिहान अभियान्ताहरूले लगेको खाना भित्र लैजान नदिएपछि होल्डिङ सेन्टरबाहिर सडकमा निस्किएर खाए । सरकारी कदमको चौतर्फी आलोचना भएपछि शनिबार साँझको छाक भने शान्ति सेवा गृहले नै खुवाएको छ ।
गत १२ वैशाखदेखि खोला किनारबाट हटाएका सुकुमवासीलाई सात महिनासम्म पनि सरकारले जग्गा वितरणको कुनै तयारी गरेको देखिँदैन । जग्गाको ज्ञारेन्टी नगरी होल्डिङ सेन्टरबाट हटाएर उनीहरूको जन्मका आधारमा सम्बन्धित जिल्लामा पठाउन खोजेको छ । त्यसपछि जिल्ला प्रशासनमार्फत् जग्गा खोज्न लगाउने भनेको छ ।
सरकारले वैशाख १२ पछि चार दिनमा नदी किनारका १९ वस्तीबाट दुई हजार ६०८ सुकुमवासी परिवारलाई हटाएको थियो, जहाँ १५ हजार प्रभावित भएका थिए । डोजर चलाउन सुरू गरेको अघिल्लो दिन ११ वैशाखको राति प्रधानमन्त्री बालेनले ‘अतिक्रमणकारी र वास्तविक सुकुमवासी छुट्याएर सुरक्षित स्थानमा सार्ने’ बाचा फेसबुकमार्फत् गरेका थिए । देशभरका सुकुमवासी र काठमाडौंको नदी किनारका सुकुमवासीको समस्या फरक रहेको भन्दै प्रक्रिया पुर्याएर वास्तविक सुकुमवासीलाई यथासक्य चाँडो जग्गा वितरण गर्ने दाबी गरेका थिए । त्यसपछि पनि पटक–पटक उठेको बिरोधको जवाफमा उनले असुरक्षित ठाउँबाट उठाइएका सुकुमवासीलाई सुरक्षित ठाउँमा व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउँदै आएका थिए । तर, विस्तारै–विस्तारै धकेल्दै अब पूर्णरूपमा धपाउन खोजेको देखिन्छ ।
सुरूमा विस्थापितलाई भक्तपुरको बोडे, खरिपाटी, नगरकोट, काभ्रेको बनेपा, काठमाडौंको कीर्तिपुर र इचंगुनारायणलगायत होल्डिङ सेन्टरमा राखिएको थियो । तत्कालका लागि राहतस्वरूप प्रतिपरिवार २५ हजार दिइएको थियो ।
पछि उनीहरूलाई होल्डिङ सेन्टरबाट निकाल्ने निर्णय लिँदै सरकारले तीन महिनासम्म मासिक १५ हजारका दरले भाडा उपलब्ध गराउने निर्णय गर्यो । तर, होल्डिङ सेन्टरबाट निकालिएका अधिकांशले त्यो १५ हजार पाएका छैनन् । होल्डिङ सेन्टरबाट बाहिरिन नमानेकालाई अहिले हटाउन खोजेको छ । भक्तपुरमा हाल बोडे र खरिपाटीमा गरी ५१ परिवारका १३७ जना छन् । बोडेमा १९ परिवारको ५९ जना तथा खरिपाटीमा ३२ परिवारका ७८ जना बस्छन् ।
यसअघि किर्तिपुरस्थित राधास्वामी सत्संग आश्रममा बसिरहेकालाई पनि जबजस्ती हटाइएको थियो । त्यहाँबाट हटाइएका कतिपय बोडे र खरिपाटीमा आइपुगेका छन् । दुई महिनाअघि बसेको मन्त्रीपरिषद बैठकले होल्डिङ सेन्टरमा महिला तथा बालबालिकासमेत रहेको भन्दै सुकुमवासीको बसोबास तथा हेरचाह गर्ने जिम्मा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयाई दिने जिम्मा गरेको थियो । तर, हालसम्म मन्त्रालयले संख्या यकिन गर्नेबाहेक व्यवस्थापनको कुनै काम गरेको छैन । विभिन्न होल्डिङ सेन्टरमा ३५० हाराहारी महिला र बालबालिका रहेको मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका सूचना अधिकारी बसन्त भट्टराईले सुकुमवासीलाई जग्गा वितरण गर्नेबारे गृहले काम गरिरहेको बताए ।
‘सुकूम्बासीलाई जग्गा वितरण गर्नेबारे गृहले काम गरिरहेको होला,’ उनले भने, ‘सम्बन्धित जिल्लाको सिडिओको संयोजकत्वमा बनेको समिति छ, समितिले नै जग्गा वितरण तथा बसोबासको व्यवस्थापन गर्छ ।’
बोडेपछि हटाउँदै छ खरिपाटी र इचंगुनारायणका सुकुमवासी
हाल बोडेमा बसेकालाई हटाउन लागेको सरकारले खरिपाटी र इचंगुनारायणमा बस्दै आएका सुकुमवासीलाई पनि हटाउने तयारी गरिरहेको छ । सुविधा सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार इचंगुनारायणस्थित आवास भवन ९होल्डिङ सेन्टर० मा हाल ४५ परिवार बसोबास गर्छन् । त्यहाँ बालबालिका र वृद्धबृद्धा बढी छन् । उनीहरूका आफन्त खोजेर जिम्मा लगाउने र कोही नभएकालाई वृद्धाश्रम, अनाथालयजस्ता स्थानमा समेत राख्ने सरकारको तयारी छ । त्यस्तै, खरिपाटीमा ३२ परिवारका ७८ जना बस्छन् । उनीहरूलाई पनि लालपुर्जा र जग्गा वितरण नगरी हटाउने तयारी गरिएको छ ।
बोडे पुगेको मन्त्रीसहित सरकारी टोलीको तीन महिनाभित्र लालपुर्जा बाँड्ने आश्वासन, लालपुर्जा हात नपरेसम्म होल्डिङ सेन्टर नछाड्ने सुकुमवासीको अडान
लगििबलजफ्ती हटाउने प्रशासनको प्रयास सफल नभएपछि सुकुमवासीसँग छलफल गर्न भूमि व्यवस्थामन्त्री प्रतिभा रावल, काठमाडौं र भक्तपुरका सिडिओलगायत टोली शनिबार बोडेस्थित होल्डिङ सेन्टरमै पुग्यो । टोलीले आइतबारसम्म होल्डिङ सेन्टर छाड्न र तीन महिनासम्म सरकारले दिने १५ हजार बुझ्न अनुरोध गर्दै तीन महिनाभित्र लालपुर्जा बाँड्ने आश्वासन दियो । तर, सुकुमवासीले लालपुर्जा हात नपरेसम्म होल्डिङ सेन्टर नछाड्ने अडान राखेपछि सरकारी टोली त्यसै फर्कियो ।
छलफल दुई घण्टासम्म चलेको थियो । त्यसक्रममा सरकारी टोली र सुकुमवासीबिच चर्काचर्की परेको थियो । केही सुकुमवासी नाराबाजीमै उत्रिएका थिए । होल्डिङ सेन्टरमा बस्दै आएका झवरलाल उरवाले सोमबार फेरि मन्त्रीसहितको टोली थप छलफलका लागि आउने निर्णय भएको बताए ।
‘यहाँ आएर उहाँहरूले आश्वासन दिँदै हट्न भन्नुभयो, तर हामीले जागिर चाहिँदैन, खाना चाहिँदैन, जग्गा देऊ भनेका छौँ,’ उनले भने, ‘नयाँ प्याकेज लिएर आउनुभयो कि भनेको उल्टै हटाउनका लागि फकाउन आउनुभएको रहेछ । अब हटाउनका लागि फेरि सोमबार आउनुहुन्छ रे १’
भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सम्बन्धित जिल्लामा जग्गा वितरण हुने र त्यहीँ गएर बस्नुपर्ने सरकारी निष्कर्ष रहेको बताए । ‘उहाँहरू होल्डिङ सेन्टरबाट निस्कनैपर्छ, हामीले उहाँहरूलाई सहजीकरण गरिदिन्छौँ, कोठा खोज्न, नोकरीदेखि लालपुर्जा वितरणसम्म सहयोग गर्ने भनेका छौँ । उहाँहरूको थातथलो जहाँ हो, त्यहीँ जग्गा वितरण हुन्छ, त्यहाँ लिन्नँ भन्न पाउनुहुन्न । सम्बन्धित जिल्ला प्रशासनले उहाँहरूलाई वितरण गर्छ ।’
नयाँ पत्रिकाबाट






















