images
images
  • सरकारलाई गिज्याउँदै संसद् भवन, ६ पटक थपिइसक्यो म्याद, लागत बढेको बढ्यै

    काठमाडौं – यही मंसिर ८ गते सभामुख डोलप्रसाद अर्यालसहित संसद् सचिवालयका अधिकारीहरूले निर्माणाधीन संसद् भवनको अवलोकन गरे ।

    अवलोकनमा सभामुख अर्यालसँगै निर्माण व्यवसायीका प्रतिनिधि, आयोजना हेर्ने पूर्वाधार मन्त्रालयका प्रतिनिधि, प्रतिनिधिसभा कार्यव्यवस्थाका अधिकारीहरू, प्रविधि व्यवस्थापन, आन्तरिक व्यवस्थापन तथा सुरक्षा व्यवस्थापनका अधिकारीहरू थिए ।

    अवलोकनपछि संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले त्यसबारे जानकारी दिएका थिए ।

    उनले भनेका छन्, ‘१२ वटै भवनको समग्र भौतिक प्रगति ९५ प्रतिशत छ । तर, संसद् बैठक सञ्चालन गर्ने हलको मात्रै हेर्दा भौतिक निर्माणको प्रगति लगभग सकिएको छ । आन्तरिक सजावट र प्रविधि स्थापनाको काममा भने अझै सुधारको आवश्यकता देखिएको छ । उक्त कार्यहरू शीघ्र सम्पन्न गर्न भनिएको छ ।’

    अर्थात्, संघीय संसद्को अधिवेशन आह्वान भएपछि बैठक नयाँ भवनकै हलमा बस्न सक्छ कि सक्दैन भन्नेमा संसद् सचिवालय प्रस्ट छैन ।

    अवलोकनमा सहभागी अधिकारीहरू सिंहदरबारभित्र निर्माणाधीन संघीय संसद् भवनले सरकारको विकास निर्माणको गति र सार्वजनिक आयोजना व्यवस्थापनको अवस्थामाथि प्रश्न उठाइरहेको बताउँछन् ।

    २०७६ असोजमा शिलान्यास गरेर निर्माण सुरु गरिएको संसद् भवन २०७९ असोजमै सम्पन्न गर्ने लक्ष्य थियो ।

    २०७९ को निर्वाचनबाट निर्वाचित संसद् नयाँ भवनबाट सञ्चालन गर्ने सरकारको योजना थियो । तर निर्धारित समयभित्र भवन तयार भएन । त्यसपछि पटकपटक म्याद थपियो । निर्माण अवधि लम्बिँदै जाँदा लागतसमेत बढेको छ । सात वर्ष बितिसक्दा पनि संसद् भवनको निर्माण सम्पन्न हुने निश्चित समय सार्वजनिक गर्न आयोजना व्यवस्थापनले सकिरहेको छैन ।

    सरकारले अरू विकास आयोजनाका ठेकेदारलाई समयमै काम गर्न दबाब दिन्छ । सम्झौता तोड्ने, ठेक्का रद्द गर्ने र कारबाही गर्ने चेतावनी दिन्छ ।

    संसद् सचिवालयका तीन अधिकारी भन्छन्, ‘तर आफ्नै संसद् भवन निर्माणमा वर्षौंको ढिलाइ हुँदा सरकारको कठोरता देखिँदैन किन होला, यो बुझ्न सकिएको छैन ।’

    संसद् भवन निर्माणको मुख्य ठेक्का ५ अर्ब ६७ करोड रुपैयाँमा भएको थियो । सम्झौताअनुसार २०७९ असोज ३ मा निर्माण सम्पन्न गर्नुपर्ने थियो । त्यसपछि ६ पटक म्याद थपियो । छैटौँ पटक म्याद थप्दा समेत निर्माण कहिले सकिन्छ भन्ने टुंगो लाग्न नसकेको हो ।

    निर्माणको मूल ठेक्का, इन्टेरियर र छानाको काम अलग–अलग ठेक्कामा छन् । मुख्य निर्माणको ठेक्का रकम ५ अर्ब ६७ करोड रुपैयाँ, इन्टेरियरको २ अर्ब ३५ करोड रुपैयाँ र छानाको काम ३ करोड ७९ लाख रुपैयाँमा सम्झौता भएको थियो ।

    यी रकम जोड्दा संसद् भवन निर्माणका विभिन्न ठेक्काको प्रारम्भिक सम्झौता रकम नै ८ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ । मुख्य निर्माणको ठेक्का रकम संशोधन भएर ६ अर्ब ३० करोड रुपैयाँभन्दा माथि पुगेको छ । तर पनि अझै निर्माण सम्पन्न हुन सकेको छैन ।

    वैकल्पिक संरचनामा बस्दैछ संसद्

    नयाँ संसद् भवनको मुख्य संरचना तयार नहुँदा प्रतिनिधिसभा र राष्ट्रियसभाका गतिविधि वैकल्पिक संरचनामा सञ्चालन हुँदै आएका छन् ।

    संसद् भवन परिसरको ३०० सिट क्षमताको बहुउद्देश्यीय हललाई प्रतिनिधिसभा सञ्चालनका लागि प्रयोग गरिएको छ । राष्ट्रियसभाको बैठक प्रतिनिधिसभाअन्तर्गतको तत्कालीन कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक कक्षमा सञ्चालन भइरहेको छ ।

    अर्थात्, संसद् भवन निर्माणमा भएको ढिलाइले संसद् सञ्चालन, समितिका बैठक, सचिवालय व्यवस्थापन र पूर्वाधारको प्रयोगमा पनि प्रत्यक्ष असर परेको छ ।

    निर्माणाधीन संसद् भवन परिसरमा १२ वटा छुट्टाछुट्टै संरचना छन् ।

    यसअघि संसद् सञ्चालनका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर प्रयोग हुँदै आएको थियो । जेनजी आन्दोलनका क्रममा त्यो जलेपछि संसद् वैकल्पिक संरचनामा बस्दै आएको हो ।

    सरोकारवालाहरू यसले सरकारको गति र प्राथमिकतालाई देखाइरहेको बताउँछन् । किनभने संसद् भवन कुनै सामान्य आयोजना होइन । यो देशको विधायिका सञ्चालन हुने संरचना हो । यसकै भवन निर्माणमा भएको वर्षौंको ढिलाइ, म्याद थप र लागत संशोधनले सरकारको विकास व्यवस्थापन क्षमतामाथि प्रश्न उठाएको छ ।
    मध्यान्ह दैनिकबाट

    प्रतिक्रिया दिनुहोस्
    images
    images