images
images
  • अध्यादेश अड्किएपछि रविमार्फत राष्ट्रपतिलाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। यो भेटवार्ता कुनै नियमित पनि होइन। राष्ट्रपति कार्यालय स्रोतका अनुसार यो भेटका लागि सभापति लामिछानेले बुधबार बेलुकै राष्ट्रपति कार्यालयको सचिवालयमा फोन गरेर समय मागेका थिए। शुक्रबारको भेट सभापति लामिछानेको अनुरोधमा भएको हो।

    सभापति लामिछानेले बिहीबार प्रधानमन्त्री बालेन शाहसँग ५ घण्टा लामो छलफल गरेका थिए। स्रोतका अनुसार लामिछानेले यसअघिका सामान्य पद्धति र मर्यादालाई कामय राख्न शाहलाई सुझाव दिएका थिए। उनले भारत भ्रमणमा जानुअघि भेट नभए पनि फर्केर आएपछि सामान्य मर्यादाका लागि राष्ट्रपतिलाई भेट्न आग्रह गरेको स्रोतले बतायो। प्रधानमन्त्री शाहले जवाफमा सभापति लामिछाने आफैले यस विषयमा राष्ट्रपतिलाई भारत भ्रमणको ब्रिफिङ गर्न आग्रह गरेको स्रोतको दाबी छ।

    राष्ट्रपति कार्यालय शीतलनिवासमा करिब ४५ मिनेट भएको भेटवार्तामा सरकारले जारी गर्न सिफारिस गरेका तर राष्ट्रपति पौडेलले जारी नगरेका अध्यादेशबारे छलफल भएको हो।

    राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को बैठकले कात्तिक १७ गते सिफारिस गरेको प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र मन्त्रिपरिषद्को मङ्सिर ४ गतेको बैठकले ‘जेनजी आन्दोलनमा भएका घटनाका मुद्दाको छानबिन, क्षतिपूर्ति तथा परिपूरण आयोग अध्यादेश, २०८३’ जारी गरेका छैनन्।

    ती ३ अध्यादेश के कारणले रोकिएका हुन् भन्नेबारे बुझ्न र अध्यादेश ल्याउनु पर्नाको कारणबारे राष्ट्रपति पौडेललाई प्रस्ट पार्न सभापति लामिछाने राष्ट्रपति कार्यालय पुगेका हुन् ।

    प्रधानमन्त्री बालेन्द्र शाह र सभापति लामिछानेबीच बिहीबार लामो छलफल भएको थियो । त्यो छलफलपछि सभापति लामिछाने राष्ट्रपति पौडेललाई भेट्न पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    प्रधानमन्त्री शाहले यही मङ्सिर ६ र ७ गते गरेको राजकीय भ्रमणबारे पनि राष्ट्रपति पौडेललाई जानकारी गराउन गएका थिएनन्। त्यो बारे पनि सभापति लामिछानेले राष्ट्रपतिलाई जानकारी गराएका छन्।

    राष्ट्रपति पौडेललाई प्रधानमन्त्री शाहले नभेटेको लामो समय भयो। औपचारिक कार्यक्रमबाहेक शाह राष्ट्रपति पौडेललाई भेट्न पुगेको अहिलेसम्म सार्वजनिक भएको छैन। त्यही भएर प्रधानमन्त्री शाहले सभापति लामिछानेलाई ब्रिफिङ गर्ने, सभापति लामिछानेले राष्ट्रपति पौडेललाई ब्रिफिङ गर्ने चल्दै आएको छ।

    विगतका प्रधानमन्त्रीहरूले संसद् बैठक आह्वान गर्दा, स्थगित गर्दा विदेश भ्रमणमा जाँदा आफै राष्ट्रपति कार्यालयमा उपस्थित भएर जानकारी गराउँथे। तर प्रधानमन्त्री शाहले त्यो परम्परा तोडेका छन्। उनी न संसद् आह्वान र स्थगित गर्दा राष्ट्रपतिलाई जानकारी गराउन गए, न त विदेश भ्रमणमा जाँदा र फर्केपछि राष्ट्रपतिलाई भेट्न पुगे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images