मानवअधिकार आयोगमा इनम सापकोटाको निवेदन, धम्की दिँदै उच्चपदस्थविरुद्ध बयान दिन लगाएको दाबी, रहस्यमय बन्दै अनुसन्धान
काठमाडौ –मानवअधिकार आयोगमा इनम सापकोटाको निवेदन, धम्की दिँदै उच्चपदस्थविरुद्ध बयान दिन लगाएको दाबी, रहस्यमय बन्दै अनुसन्धान
उनका अनुसार अनुसन्धानका क्रममा प्राप्त कागजात, सापकोटाको बैंक खातामा देखिएको शंकास्पद कारोबारको विवरण, कल डिटेल रेकर्ड र दुई वटा मोबाइलबाट रिकभर गरिएका ह्वाट्सएप संवादलगायतका विषयमा सोधपुछ भइरहेको छ । ‘अनुसन्धान सकेर अभियोजनको रायसहित बुझाइने प्रतिवेदनमा समावेश गर्ने बयान सधैं सरकारी वकिलको रोहबरमा हुन्छ । त्यस्तोमा पट्टी बाँधेर बयान लिने भन्ने हुँदैन,’ ती अधिकृतले दाबी गरे, ‘हामीले अनुसन्धानमा नयाँ विषय खुल्दै गएपिच्छे पूरक बयान लिइरहेका छौं । बयानपछि नै यो घटनामा थप व्यक्तिहरू पनि पक्राउ परेका हुन् ।’
जिल्ला प्रहरी परिसर काठमाडौंले सापकोटामाथि सम्पत्ति शुद्धीकरण र नेपाल राष्ट्र बैंक ऐनविपरीतको कसुरमा अनुसन्धान गरिरहेको छ । सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले अदालतको अनुमतिमा आरोपीलाई अधिकतम ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । ‘दुई महिना पूरा भइसकेको छ । यो अवधिमा राष्ट्र बैंकबाट विवरण माग्नेदेखि अन्य निकायसँग पनि आवश्यक विवरण माग्दै पत्राचार गर्ने काम भएका छन्,’ ती अधिकृतले भने, ‘मोबाइल फोनको विश्लेषणदेखि अन्य अनुसन्धानका काम पनि गरिएका छन् ।’ उनका अनुसार सापकोटाकी पत्नी कविता पाण्डेको समेत बयान कागज गराइएको छ ।
सापकोटालाई प्रहरीको विशेष ब्युरोले १४ असोज २०८३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो । पत्नी कवितामार्फत राष्ट्रिय मानवअधिकार आयोगमा दिएको निवेदनमा सापकोटाले १५ भदौको साँझसम्म अज्ञात स्थलमा आँखामा कालोपट्टी बाँधेर राखी सोधपुछ गरिएको जिकिर गरेका छन् । उनले निवेदनमा ‘तिम्रो व्यक्तिगत केही नभएको’ भन्दै पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, कांग्रेस सभापति गगन थापा, कांग्रेस नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका सञ्चालक नवीन तुलाधर र सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध बयान दिन धम्की दिइएको उल्लेख गरेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दानबहादुर थापाले भने आयोगमा परेको उजुरीबारे प्रहरीलाई जानकारी नभएको बताए । ‘हामीलाई कसैले त्यसबारे जानकारी गराएको छैन । बयान लिने विषय अनुसन्धान अधिकारीको कुरा हो,’ उनले भने, ‘यसमा ९० दिनसम्म अनुसन्धान गर्न सकिन्छ । अनुसन्धान पहिल्यै सकियो भने प्रहरीले प्रतिवेदन बुझाउन पनि सक्छ ।’
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार सापकोटाकै बयानलगायतका आधारमा प्रहरीले ३१ असोजमा लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई पक्राउ गरेको थियो । ती अधिकारीहरूको दाबीमा सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई छुटाउने उद्देश्यले सापकोटा भेटघाटमा सक्रिय थिए । त्यसक्रममा उनी र सुशीलबीच पनि कुराकानी भएको अनुसन्धान अधिकृतहरूको दाबी छ ।
प्रहरीले यही प्रकरणमा कांग्रेस नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठलाई २८ कात्तिकमा पक्राउ गरेको थियो । प्रहरीले संकलन गरेको सापकोटाको बैंक खाताको विवरणमा पछिल्लो एक वर्षमै अस्वाभाविक कारोबार भएको भेटिएको थियो । एक वर्षमा एउटै बैंक खातामा मात्रै ६ करोड ३१ लाख रुपैयाँ जम्मा हुँदा महेश श्रेष्ठले सबैभन्दा बढी अर्थात् १ करोड ४२ लाख ५० हजार रुपैयाँ जम्मा गरेको देखिएको थियो । यही कारोबारको विवरण र बयानका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
आँखामा पट्टी बाँधी धम्की दिँदै चोलेन्द्र, उमेश र गगनविरुद्ध बयान दिन लगाइयोः इनम
सापकोटाले बयानमा उमेश श्रेष्ठसँग आफूले पढेको लिटिल एन्जल्स स्कुलका संस्थापक भएकाले चिनजान भएको जिकिर गरेको स्रोतको दाबी छ । ‘बयानमा अधिकांश रकम सापटी लिएको भन्ने दाबी आएको छ । सबै विषयको स्रोत खोज्ने काम चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो ।
अनुसन्धानमा संलग्न अधिकृतहरूका अनुसार सापकोटाले कांग्रेस नेता उमेश श्रेष्ठसँग जग्गाको विषयमा ह्वाट्सएपमा कुराकानी गरेको पनि भेटिएको छ । ‘धनीपुर्जाको फोटो आदानप्रदान भएको देखिन्छ,’ ती अधिकृतले भने, ‘उमेश श्रेष्ठमाथि समेत अनुसन्धान अघि बढाएका छौं । उस्तै परे पक्राउ गर्नुपर्ने हुन सक्छ ।’ श्रेष्ठसमेत सञ्चालक रहेको जनमैत्री फाउन्डेसनबाट २० लाख रुपैयाँ सापकोटाको खातामा ट्रान्सफर भएको विवरणसमेत प्रहरीले फेला पारेको थियो ।
सापकोटा पक्राउ परेको दुई दिनसम्म उनको मोबाइल प्रहरीको नियन्त्रणबाहिर पुगेको समाचारसमेत सार्वजनिक भएका छन् । तर, प्रहरीले त्यसबारे केही बताएको छैन । प्रहरी अधिकृतहरूको दाबीमा हालसम्मको अनुसन्धानबाट सापकोटाले अदालतमा पुगेका मुद्दा–मामिलामा ‘फिक्सिङ’ गर्ने भन्दै सम्पर्क विस्तार र रकम असुली गरेको आधार देखिएका छन् ।
त्यसको केन्द्रमा पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नै देखिने प्रहरी अधिकारीहरूको भनाइ छ । ‘सबै विषयलाई जोडेर हेरिरहेका छौं,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने ।
विवादास्पद व्यवसायी दीपक भट्टलाई छुटाउन अदालतमा चलखेल भएको आशंकामा थालिएको अनुसन्धानको सुरुवात पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाट भएको थियो । उनलाई ११ असोजको मध्यरातमा निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालय पुर्याइएको थियो । त्यसपछि प्रहरीले उनको मोबाइल जाँच गरेको थियो । जबरासम्म पुग्ने सम्पर्कसूत्र मानिएका सापकोटाबारे त्यसपछि प्रहरीले अनुसन्धान थालेको थियो । ‘अनुसन्धान गर्ने अधिकारीहरूले मोबाइलबाट कनेक्सन पत्ता लगाए । उनी भाग्न लागेको सूचना भने माथिल्लो तहबाटै आएको थियो र समात्न टोली खटिएको थियो,’ एक प्रहरी उच्च अधिकृतले भने ।
इनमको मोबाइलमा भेटिएको सत्ता, प्रहरी र न्यायालयको कनेक्सन
१४ असोजमा दिल्ली जान लागेका सापकोटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । प्रहरीले सुरुमा अभद्र व्यवहारसम्बन्धी आरोपमा उनलाई पक्राउ गरेको बताउँदै प्रशासनबाट हिरासतमा राख्ने अनुमति लिएको थियो ।
तर, अदालतमा उनको तर्फबाट बन्दीप्रत्यक्षीकरणको निवेदन परेपछि प्रहरीले राष्ट्र बैंक ऐनसम्बन्धी कसुर तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पनि अनुसन्धान अघि बढाएको थियो । उनको मोबाइलमा प्रहरी तथा सशस्त्र प्रहरीका उच्च अधिकारी, न्यायाधीश, राजनीतिज्ञ, व्यवसायी र मुद्दा खेपिरहेका व्यक्तिहरूसँगका संवाद भेटिएपछि हलचल मच्चिएको थियो ।
सापकोटासँगको सम्पर्ककै कारण सशस्त्र प्रहरी बलका एआईजी वंशीराज दाहाल पनि पदबाट बर्खास्त भएका थिए । प्रधानमन्त्रीको आवागमनसम्बन्धी संवेदनशील सूचना सापकोटालाई दिएको र पदावधि थप गराउन उनीमार्फत प्रयास गरेको आरोप दाहालमाथि लागेको थियो । पूर्वप्रधानन्यायाधीश जबरालाई नियन्त्रणमा लिइएको रात उनी टेकुस्थित प्रहरी कार्यालय पुगेर भेटेको विवरण पनि अनुसन्धानमा खुलेको थियो ।
दुई वर्षअघिका प्राइमरी शिक्षक इनमको खातामा एक वर्षमै करोड
नेपाल प्रहरीका तत्कालीन आईजीपी दानबहादुर कार्की पनि सापकोटासँग सम्पर्कमा रहेको विवरण सार्वजनिक भएपछि चर्किएको विवाद उत्कर्षमा पुगेका बेला पदबाट हटाइएका थिए । कात्तिक १८ मा मन्त्रिपरिषद्ले कार्कीलाई पदमुक्त गरी प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने र एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको थियो । कार्कीले आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । तर, उनको पक्षमा अदालतले अन्तरिम आदेश दिएको थिएन ।
सापकोटाको सम्पर्क न्यायालयसम्म पुगेको विषय सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालसँग भएको ह्वाट्सएप कुराकानीको स्क्रिनसट बाहिरिएपछि छताछुल्ल भएको थियो । विचाराधीन मुद्दामा ‘पीएम ९प्रधानमन्त्री०’ को चासो रहेको भन्दै सापकोटाले न्यायाधीशसँग कुराकानी गरेको विवरण सार्वजनिक भएपछि न्यायिक निष्पक्षता र अदालतमा बाह्य प्रभावको प्रश्न उठेको थियो । फुयालले पनि सापकोटासँग कुराकानी भएको स्विकारेका थिए । तर, न्याय सम्पादनमा त्यसको कुनै प्रभाव नपरेको उनको जिकिर थियो ।
कान्तिपुर दैनिकबाट






















