एजेन्सी । अस्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार सम्पन्न निर्वाचनमा कन्जरभेटिभ दलले जित हासिल गर्ने सम्भावना देखिएको छ । यसले प्रधानमन्त्री एन्थोनी अल्बानिज नेतृत्वको लेबर पार्टीलाई ठूलो पराजयको सामना गराउन सक्ने अनुमान गरिएको छ ।
अस्ट्रेलियाको दोस्रो ठूलो सहर मेलबर्न रहेको भिक्टोरियामा मध्यवामपन्थी लेबर पार्टीले १२ वर्षदेखि शासन गर्दै आएको छ । तर, यसै साता सार्वजनिक मतसर्वेक्षणहरूले राज्यको लिबरल पार्टीकी नेता जेस विल्सनले लेबरलाई सत्ताबाट हटाउने सम्भावना देखाएका छन् ।
३६ वर्षीया विल्सनले अत्यधिक ऋणमा रहेको राज्यको वित्तीय अनुशासन कायम गर्ने प्रतिबद्धता जनाएकी छिन् । बिहीबार सार्वजनिक न्युसपोल सर्वेक्षणले कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले ठूलो अन्तरले जित्ने देखाएको छ ।
वर्तमान मुख्यमन्त्री बेन क्यारोललाई पराजित गरेमा विल्सन राज्यको पहिलो महिला लिबरल मुख्यमन्त्री बन्नेछिन् । उनले भिक्टोरियाको देशकै सबैभन्दा बढी ऋण घटाउन २० अर्ब अस्ट्रेलियन डलर (१३ अर्ब अमेरिकी डलर) बराबरका उपाय अघि सारेकी छिन् । यसमा ढल निकास प्रणाली निजीकरण गर्ने विवादास्पद योजना पनि समावेश छ ।
‘यो निर्वाचन मानिसहरूले सोचेभन्दा बढी प्रतिस्पर्धात्मक हुनेछ’, उनले च्यानल सेभेनसँग भनिन् ।
भिक्टोरियालाई देशव्यापी राजनीतिक प्रवृत्तिको सङ्केत दिने राज्यका रूपमा हेरिन्छ । यहाँ लेबर पराजित भएमा दोस्रो कार्यकालको मध्यावधिमा रहेका प्रधानमन्त्री अल्बानिजमाथि थप दबाब बढ्न सक्छ । जीवनयापनको बढ्दो लागतप्रति असन्तुष्टिका कारण उनको लोकप्रियता अहिलेसम्मकै न्यून स्तरमा झरेको छ ।
मध्यपूर्वमा जारी लामो युद्ध र मुद्रास्फीतिको दबाबलाई कारण देखाउँदै अस्ट्रेलियाको केन्द्रीय बैंकले यसै महिना ब्याजदर बढाएर १८ वर्षयताकै उच्च स्तरमा पुर्याएको थियो ।
मतदान केन्द्रहरू स्थानीय समयअनुसार बिहान ८ बजे खुलेर साँझ ६ बजे बन्द भएका थिए । यद्यपि, लाखौँ मतदाताले अग्रिम मतदान गरिसकेका थिए ।
आप्रवासनविरोधी ‘वन नेसन’ पार्टीले पनि राज्यको संसद्मा पहिलोपटक सिट जित्ने सम्भावना देखिएको छ । राष्ट्रिय स्तरमा पाउलिन ह्यान्सन नेतृत्वको उक्त पार्टी पछिल्लो समय यथास्थितिप्रतिको असन्तुष्टिका कारण लोकप्रिय बनेको छ ।
ह्यान्सनले भिक्टोरियाको आगामी सरकार गठनमा आफ्नो पार्टी निर्णायक बन्न सक्ने बताएका छन् । शनिबार सञ्चारमाध्यमसँग कुरा गर्दै उनले लेबरको पराजयमा वन नेसनको ठूलो भूमिका रहेको दाबी गरे ।
‘लेबर राज्यबाट बाहिरिँदै छ । उसको काम सकियो’, उनले भने, ‘लिबरलहरूले आफ्नै बलमा यो निर्वाचन जित्न सक्ने थिएनन् ।’






















