images
images
  • मुम्बईको कप्तान फेरी रोहित

    काठमाडौं – मुम्बई, तीन वर्षअघि हार्दिक पाण्ड्याले कप्तानी सम्हालेपछि पदबाट हटाइएका रोहित शर्मा आइपिएल २०२७ का लागि पुनः मुम्बई इन्डियन्स (एमआई) को कप्तान बनेका छन् । गत साता खेलाडी रिटेन्सनको अन्तिम समय सीमाअघि मुम्बईले हार्दिकलाई पन्जाब किंग्स (पीबीकेएस) सँग अर्श दीप सिंहसँग साटफेर गरेपछि रोहितलाई कप्तान नियुक्त गरिएको हो । आगामी अप्रिलमा ४० वर्ष पुग्ने रोहितले पछिल्लो पटक सन् २०२३ मा मुम्बईको कप्तानी गरेका थिए। त्यस वर्ष मुम्बई गुजरात टाइटन्ससँग क्वालिफायर–२ मा पराजित भएको थियो ।

    क्लबले कप्तानीका लागि विचार गरेका सम्भावित विकल्पमध्ये रोहित एक थिए । अन्य विकल्पमा जसप्रित बुमराह, सूर्यकुमार यादव, तिलक वर्मा र न्युजिल्यान्डका सीमित ओभरका कप्तान मिचेल सान्टनर पनि थिए । रोहितले भने, ‘मुम्बई इन्डियन्स मेरो जीवनको महत्त्वपूर्ण हिस्सा बनेको छ । यो टोलीको नेतृत्व गर्नु सधैँ मेरा लागि गर्वको विषय रहँदै आएको छ । आगामी सिजनका विषयमा नीता ९अम्बानी० भाभी र आकाश (अम्बानी) सँग भएका छलफल निकै उत्साहजनक छन् । हामीले हासिल गर्न सक्ने उपलब्धिप्रति म पूर्ण विश्वस्त छु ।’

    उनले थपे, ‘म आइपिएलको २०औँ सिजन र त्यसका चुनौती सामना गर्न तयार छु । हाम्रो समर्थक समूहलाई खुसी मनाउने धेरै अवसर दिन चाहन्छु । हाम्रो ध्यान आफ्नै शैलीको क्रिकेट खेल्ने, एकजुट भएर प्रतिस्पर्धा गर्ने र खेलको आनन्द लिनेमा हुनेछ ।’ रोहित मुम्बई इन्डियन्सका सबैभन्दा लामो समय कप्तानी गर्ने खेलाडी हुन् । उनले आइपिएल र च्याम्पियन्स लिग टी–२० गरी १६३ खेलमा टोलीको नेतृत्व गरेका छन् । उनको कप्तानीमा मुम्बईले ९३ खेल जित्दा ७० खेलमा पराजय बेहोरेको छ ।

    उनले सन् २०१३, २०१५, २०१७, २०१९ र २०२० गरी पाँच पटक आइपिएल फाइनलमा मुम्बईको कप्तानी गरे। ती पाँचै फाइनलमा मुम्बईले उपाधि जितेको थियो । आइपिएल २०२४ अघि मुम्बईले गुजरात टाइटन्सबाट हार्दिकलाई टोलीमा भित्र्याएको थियो । त्यसपछि उनलाई रोहितको स्थानमा कप्तान नियुक्त गरिएको थियो । हार्दिकको नेतृत्वमा पाँच पटकको च्याम्पियन मुम्बईले त्यसपछिका तीन सिजनमा स्थिरता र निरन्तरता कायम गर्न सकेन। टोली सन् २०२४ मा अङ्कतालिकाको अन्तिम स्थानमा रह्यो। त्यसपछिको सिजनमा प्लेअफसम्म पुगे पनि क्वालिफायर–२ मा पन्जाब किंग्ससँग पराजित भयो । आइपिएल २०२६ मा भने मुम्बई नवौँ स्थानमा सीमित भयो ।

    सन् २०२४ मा मुम्बईको कप्तान बनेपछि घरेलु मैदानमै समर्थकबाट आलोचना र हुटिङको सामना गरेका हार्दिकले त्यसपछि पनि निरन्तर दबाब झेल्नुपर्‍यो । उनको कप्तानीमाथि तीव्र प्रश्न उठ्दै आएको थियो । त्यसमाथि उनको व्यक्तिगत प्रदर्शन पनि अपेक्षाअनुसार हुन सकेन । अन्ततः गत वर्ष उनले फ्रेन्चाइजलाई आफू टोलीबाट अलग हुन तयार रहेको जानकारी गराएका थिए । हार्दिकलाई टोलीमै राख्ने सम्भावनासहित समग्र परिस्थितिको समीक्षा गरेपछि मुम्बईले उनलाई अर्श दीप सिंहसँग साटफेर गर्ने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images