images
images
  • हेटौंडामा ३८ करोड ९१ लाखको खानेपानी आयोजना सञ्चालन हुँदै, बोलपत्र आह्वान

    काठमाडौं – हेटौंडा उपमहानगरपालिकाको नगर क्षेत्रमा स्वच्छ, सुरक्षित र दिगो खानेपानी सेवा विस्तार तथा व्यवस्थापनका लागि ३८ करोड ९१ लाख २७ हजार रुपैयाँ लागतको सहलगानी खानेपानी आयोजना कार्यान्वयन हुने भएको छ । आयोजनाका लागि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, भरतपुर, चितवनले बोलपत्र आह्वान गरेको छ ।

    नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मातहतमा रहेको कार्यालयले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा आयोजना सञ्चालन गर्न लागेको हो ।

    सिमलटार, हटिया र रातोमाटे सहलगानी खानेपानी तथा सरसफाइ आयोजना (स्किम–२) अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा खानेपानीका स्रोत, प्रशोधन तथा भण्डारण संरचना निर्माण र वितरण प्रणाली विस्तार गरिनेछ।

    आयोजनाअन्तर्गत हेटौंडा उपमहानगरपालिका–१ मा दुईवटा समवेल, प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) र ३०० घनमिटर क्षमताको भूमिगत पानी भण्डारण ट्यांकी निर्माण गरिनेछ । वडा नं. २ मा कार्यालय भवन निर्माण गर्ने योजना छ। त्यसैगरी, वडा नं. ३ मा समवेल र २०० घनमिटर क्षमताको भूमिगत पानी ट्यांकी निर्माणसँगै १० किलोमिटर पाइपलाइन विस्तार गरिनेछ । वडा नं. ६ मा डिप ट्युबवेल, ३०० घनमिटर क्षमताको भूमिगत पानी ट्यांकी तथा चार किलोमिटर पाइपलाइन निर्माण हुनेछ ।

    वडा नं. ७ र १६ मा डिप ट्युबवेल तथा प्रत्येक वडामा चार लाख ५० हजार लिटर क्षमताका ओभरहेड पानी ट्यांकी निर्माण गरिनेछ। वडा नं। १४ मा ३६ किलोमिटर पाइपलाइन विस्तार गर्ने योजना छ। यसैगरी, वडा नं. १८ को हर्नामाडीमा डिप ट्युबवेल र ४०० घनमिटर क्षमताको भूमिगत पानी ट्यांकी निर्माण गरिनेछ । आरमपुर–भोर्ले क्षेत्रमा पनि डिप ट्युबवेल निर्माण तथा दुई किलोमिटर पाइपलाइन विस्तार गरिनेछ । यी संरचनाका अतिरिक्त आयोजनाअन्तर्गत आवश्यक अन्य पूर्वाधार निर्माण तथा विद्युतीकरणका कामसमेत सञ्चालन गरिने हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ ।

    आयोजना सम्पन्न भएपछि हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा खानेपानीको स्रोत, भण्डारण क्षमता र वितरण प्रणालीमा सुधार आउने बोर्डको अपेक्षा छ ।

    यसैगरी, संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, चितवन, हेटौंडा उपमहानगरपालिका र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको सहलगानीमा २० करोड रुपैयाँ लागतको अर्को खानेपानी आयोजना पनि सञ्चालन भइरहेको छ । १८ महिनाअघि सुरु भएको यस आयोजनाअन्तर्गत हेटौंडा उपमहानगरपालिका–९ स्थित बेतखोल्सीमा ६ लाख लिटर पानी भण्डारण क्षमताको ओभरहेड ट्यांकीसहित दुईवटा डिप बोरिङ निर्माण गरिएको छ। हेटौंडा उपमहानगरपालिका–१४ को उत्तरीपानी र वडा नं. १५ मा ग्राउन्ड ट्यांकी निर्माण गरिएको छ ।

    भीमफेदी गाउँपालिका–१ को बुङ्दल मुहानलाई सुरक्षित र व्यवस्थित गर्ने कामसमेत गरिएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाले बताए । १८ महिनाअघि निर्माण सुरु गरेको कम्पनीले आयोजनाको ८० प्रतिशत काम सम्पन्न गरिसकेको छ ।

    हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले दैनिक तीन करोड ७० लाख लिटर पानी उत्पादन गरी ३० हजार १२९ वटा धारामार्फत वितरण गर्दै आएको छ ।

    बोर्डले मासिक १० हजार लिटर पानीको महसुल ८५ रुपैयाँ मात्रै लिँदै आएको छ। बोर्डले आफ्नो पानी महसुल मुलुककै सबैभन्दा सस्तो रहेको दाबी गर्दै आएको छ। बोर्डले अत्याधुनिक पानी परीक्षण प्रयोगशालासमेत स्थापना गरेको छ। साथै, सयभन्दा बढी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएको छ ।

    संघीय सरकारले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई नमुना बोर्डका रूपमा लिँदै मुलुकभरका खानेपानी उपभोक्ता समितिलाई बोर्डमा आबद्ध गराउने नीति तथा नियम निर्माणको तयारी गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन कार्यालयका एक वरिष्ठ अधिकृतले बताए। उनले भने, ‘हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड मुलुककै नमुना बोर्ड रहेको छ ।’

    नेपाल सरकारले २०७० जेठ १० गते हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड स्थापना गरेको हो । स्थापना हुँदा बोर्डअन्तर्गत ८ हजार ५३७ वटा मात्रै धारा थिए । त्यसबेला अधिकांश धारामा मंसिरदेखि जेठसम्म पानी आउँदैनथ्यो । उपभोक्ताहरू खाली गाग्री बोकेर तत्कालीन नेपाली खानेपानी संस्थानको हेटौंडास्थित कार्यालय घेराउ गर्न पुग्थे ।

    तर, अहिले अवस्था फेरिएको छ । पानीको चापले धाराको पाइप फुट्ने भएकाले पानीको प्रवाह कम गरिदिन आग्रह गर्दै उपभोक्ता बोर्डको कार्यालय पुग्ने गरेका छन् ।

    खानेपानी संस्थानले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरेको १३ वर्षमा २२ हजारभन्दा बढी नयाँ धारा जडान भइसकेका छन् । बोर्डका सूचना अधिकारी सञ्जय न्यौपानेका अनुसार मासिक रूपमा सयभन्दा बढी नयाँ धारा जडान हुने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images