images
images
  • इनम सापकोटाका प्रहरीमाथि १७ गम्भीर आरोप : दुई दिन आँखामा कालोपट्टी, जबराविरुद्ध बयान दिन दबाबदेखि झुटा प्रमाण बनाएको दाबीसम्म

    राष्ट्रिय मानव अधिकार आयोगमा दिएको निवेदनमा प्रहरी हिरासतमा यातना, परिवारलाई ज्यान मार्ने धम्की, मोबाइलमा छेडछाड र अनुसन्धानका सामग्री चुहाएको आरोप

    काठमाडौं – पक्राउ परेपछि प्रहरीले आफूलाई शारीरिक तथा मानसिक यातना दिएको, आँखामा कालोपट्टी बाँधेर दुई दिनसम्म अज्ञात स्थानमा राखेको र प्रभावशाली राजनीतिक तथा न्यायिक व्यक्तिहरूविरुद्ध बयान दिन दबाब दिएको आरोप इनम सापकोटाले लगाएका छन् ।

    सापकोटाले राष्ट्रिय मानव अधिकार आयोगमा दिएको निवेदनमा प्रहरी अनुसन्धानका क्रममा आफूले भोग्नुपरेको भनिएको यातना, धम्की, दबाब, प्रमाण सिर्जना र गोपनीयता उल्लंघनका विषय उठाएका छन् ।

    उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, नेपाली कांग्रेसका सभापति गगन थापा, व्यवसायी मीनबहादुर गुरुङलगायत व्यक्तिहरूविरुद्ध बयान दिन प्रहरीले दबाब दिएको दाबी गरेका छन् । आफूले नभनेका कुरा लेखिएको कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेपछि झुटा मुद्दामा फसाइएको उनको आरोप छ ।

    निवेदनमा सापकोटाले प्रहरीमाथि लगाएका १७ प्रमुख आरोप यस्ता छन् :

    विमानस्थलबाटै पक्राउ गरिएको दाबी

    सापकोटाका अनुसार २०८३ असोज १४ गते बिहान करिब १०ः३० बजे भारतको नयाँदिल्ली जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । बोर्डिङ पास लिएर अन्तिम सुरक्षा जाँचमा पुगेपछि प्रहरीले नियन्त्रणमा लिएको उनको दाबी छ । प्रहरीले आफूसँग रहेका दुईवटा मोबाइल फोन खोसेर आँखामा पट्टी बाँधी अज्ञात स्थानमा लगेको उनले बताएका छन् ।

    दुई दिनसम्म अज्ञात स्थानमा राखेको आरोप

    पक्राउपछि असोज १४ देखि १५ गते साँझसम्म आँखामा कालोपट्टी बाँधेर अज्ञात स्थानमा राखिएको उनले निवेदनमा उल्लेख गरेका छन् । उक्त अवधिमा प्रहरीले विभिन्न व्यक्तिबारे सोधपुछ गर्दै उनीहरूविरुद्ध प्रमाण र बयान दिन दबाब दिएको उनको आरोप छ।

    जबरा, गगन थापासहितका व्यक्तिविरुद्ध बयान दिन दबाब

    प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका भाइ तथा छोरा, कांग्रेस सभापति गगन थापा, नेता तथा व्यवसायी उमेश श्रेष्ठ, भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ, हिमालय होटलका नवीन तुलाधर र सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध बयान दिन दबाब दिएको सापकोटाको दाबी छ।

    उनका अनुसार केही व्यक्तिसँग आफ्नो राम्रो व्यक्तिगत सम्बन्ध छ, केही गुरु तथा शिक्षक हुन् भने केहीलाई आफूले चिन्दै नचिनेको अवस्थामा समेत उनीहरूविरुद्ध प्रमाण दिन भनिएको थियो।

    परिवारलाई समेत ज्यानको धम्की दिएको आरोप

    आफूले प्रहरीको चाहनाअनुसार बयान नदिए लामो समय जेलमा सड्नुपर्ने गरी झुटा मुद्दा लगाइदिने र परिवारकै ज्यान जोखिममा पार्ने धम्की दिइएको उनले बताएका छन्। आफूलाई किन पक्राउ गरिएको हो र के अपराध गरेको हो भन्ने प्रश्नको समेत स्पष्ट जवाफ नदिइएको उनको दाबी छ।

    आफूले नभनेका कुरा लेखिएको कागजमा हस्ताक्षर गर्न दबाब

    प्रहरीले केही विवरण पढ्न लगाएर त्यसमा सहमति जनाए र हस्ताक्षर गरे आफूलाई छाडिदिने प्रस्ताव गरेको सापकोटाको भनाइ छ। एक आँखाको पट्टी खोलेर ठूलो स्वरमा विवरण पढ्न लगाइएको र पछि त्यही विवरण लेखिएको कागजमा हस्ताक्षर गर्न भनिएको उनले बताएका छन्।

    आफूलाई जानकारी नभएका र नगरेका कामसमेत समेटिएको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरेपछि थप दबाब दिइएको उनको आरोप छ ।

    भद्रकाली प्रहरी परिसरमा पुर्‍याएर खल्तीमा कागज राखिदिएको आरोप

    हस्ताक्षर गर्न अस्वीकार गरेपछि पुनः आँखामा पट्टी बाँधेर अर्को चस्मासमेत लगाउन लगाई गाडीमा राखेर अन्यत्र लगिएको उनले बताएका छन्। साँझपख जिल्ला प्रहरी परिसर भद्रकाली पुर्‍याइएको थाहा पाएको र त्यहाँ प्रहरीले दुईवटा कागज आफ्नो खल्तीमा हालिदिएर हिरासतमा राखेको उनको दाबी छ।

    घर खानतलासीका क्रममा बरामदी विवरण गलत बनाएको आरोप

    असोज १६ गते बिहान करिब ८ः३० बजे हतकडी लगाएर दुईवटा सुटकेससहित आफूलाई पानीपोखरीस्थित अपार्टमेन्टमा लगिएको उनले बताएका छन्।

    घरका कोठाहरू खानतलासी गर्दा पुरानो ल्यापटप, पुरानो मोबाइल र केही कागजात मात्रै फेला परेको तर पछि घरबाहिर राखिएका सुटकेसबाट विदेशी मुद्रा निकालेर बरामद भएको देखाइएको उनको आरोप छ।

    नियन्त्रणमा लिइसकेको आईफोन घरबाट बरामद भएको देखाउन खोजेको दाबी

    पक्राउकै दिन प्रहरीले आफ्नो आईफोन खोसेको भए पनि असोज १६ गते घरमा खानतलासी गर्दा त्यही फोन घरबाट बरामद भएको देखाउन खोजिएको सापकोटाको आरोप छ।

    परिवारका सदस्यले प्रहरीकै नियन्त्रणमा रहेको फोन घरबाट कसरी बरामद भयो भन्दै प्रश्न गरेपछि उक्त विषय मुचुल्कामा उल्लेख नगरिएको उनको दाबी छ।

    विमानस्थलबाहिर अभद्र व्यवहार गरेको झुटो मुद्दा लगाएको आरोप

    आफूलाई विमानस्थलभित्रैबाट पक्राउ गरिएको भए पनि प्रहरीले विमानस्थलअगाडिको सार्वजनिक सडकमा महिला तथा सर्वसाधारणमाथि अश्लील हर्कत गरी अभद्र व्यवहार गरेको आरोपमा मुद्दा चलाएको सापकोटाले बताएका छन्।

    आफूले त्यस्तो कुनै गतिविधि नगरेको दाबी गर्दै उनले विमानस्थलको सीसीटीभी फुटेज, टिकट, बोर्डिङ पास र अन्य कागजात जाँच गर्न माग गरेका छन्।

    १३०० अमेरिकी डलर र भारतीय रुपैयाँका विषयमा मुद्दा चलाइएकोमा आपत्ति

    आफूसँग रहेको १३०० अमेरिकी डलर र केही भारतीय रुपैयाँ बरामद भएको भन्दै विदेशी विनिमयसम्बन्धी कसुरमा म्याद थप गरिएको उनले बताएका छन्।

    नेपाल राष्ट्र बैंकको विदेशी विनिमय कारोबारसम्बन्धी परिपत्र, २०८२ को विषयसूची नम्बर ९ अनुसार उक्त रकम कानुनले राख्न र सटही गर्न अनुमति दिएको परिवर्त्य विदेशी मुद्रामध्ये पर्ने उनको जिकिर छ।

    सम्पत्ति शुद्धीकरणको मुद्दा थपेर थुनामा राख्न खोजेको आरोप

    विदेशी मुद्रासम्बन्धी आरोपमा कानुनी प्रतिवाद गरेपछि प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत थपेको सापकोटाको दाबी छ।

    कुनै न कुनै मुद्दामा फसाएर लामो समय हिरासतमा राख्ने उद्देश्यले थप कसुर सिर्जना गरिएको उनको आरोप छ।

    आफूले नभनेका कुरा समेटेर अडियो सार्वजनिक गरेको दाबी

    पक्राउ भएकै दिन प्रहरीले आफूलाई पढ्न लगाएका विवरणको अडियो रेकर्ड गरेको र त्यसलाई काटछाँट गरेर सार्वजनिक गरेको सापकोटाले बताएका छन्।

    नेपाली कांग्रेसको आधिकारिकताको विवाद र सर्वोच्च अदालतका न्यायाधीशहरूको सेटिङजस्ता विषय आफूले नबोलेको तथा त्यसबारे कुनै जानकारीसमेत नभएको उनको दाबी छ।

    अडियो आफ्नै आवाज भएको भन्दै मानसिक दबाब दिएको आरोप

    प्रहरीले अडियो परीक्षणका क्रममा आवाज आफ्नै हो कि होइन भनेर सोधेको र आफूले आवाज आफ्नै जस्तो लागे पनि त्यसमा भनिएका विषय सम्झना नभएको जवाफ दिएको उनले बताएका छन्।

    सोही अडियोलाई आधार बनाएर बयान दिन मानसिक दबाब तथा यातना दिइएको उनको आरोप छ।

    मोबाइलमा छेडछाड गरी नक्कली प्रमाण तयार पारेको आरोप

    आफू प्रहरी नियन्त्रणमा रहेका बेला मोबाइलमा छेडछाड गरेर हुँदै नभएका प्रमाण सिर्जना गरिएको सापकोटाले निवेदनमा उल्लेख गरेका छन्।

    कृत्रिम बुद्धिमत्ता ९एआई० प्रयोग गरेर तयार पारिएका कागजातसमेत प्रमाणका रूपमा प्रस्तुत हुन थालेको कुरा आफन्त तथा कानुन व्यवसायीबाट जानकारी पाएको उनको दाबी छ।

    अनुसन्धानका सामग्री चुहाएर सञ्चारमाध्यमबाट बदनाम गरेको आरोप

    अनुसन्धानका क्रममा संकलन गरिएका सामग्री बाहिर सार्वजनिक गरेर आफूलाई देशकै ठूलो बिचौलिया तथा ुफिक्सरु का रूपमा चित्रण गरिएको सापकोटाको आरोप छ।

    आफू दोषी प्रमाणित नभइसकेको अवस्थामा सञ्चारमाध्यममा दोषीसरह प्रस्तुत गरिएको र श्रीमतीलाई समेत जोडेर परिवारको प्रतिष्ठामा आघात पुर्‍याइएको उनको दाबी छ।

    संविधानप्रदत्त न्याय र गोपनीयताको हक हनन भएको दाबी

    सापकोटाले संविधानको धारा २० अन्तर्गतको न्यायसम्बन्धी हक र धारा २८ अन्तर्गतको गोपनीयताको हक उल्लंघन भएको दाबी गरेका छन्।

    कसुर प्रमाणित नहुँदै दोषीका रूपमा प्रस्तुत गर्ने, अनुसन्धानका सामग्री सार्वजनिक गर्ने र दबाबमा बयान लिन खोज्ने कार्यले निष्पक्ष अनुसन्धान तथा निर्दोषिताको अनुमानसम्बन्धी अधिकार कुण्ठित भएको उनको भनाइ छ।

    आफू र परिवारको जिउज्यानको सुरक्षा माग

    प्रहरीबाट आफू र परिवारका सदस्यलाई समेत धम्की आएको तथा आफूलाई फसाउने षड्यन्त्र भइरहेको आशंका व्यक्त गर्दै सापकोटाले राष्ट्रिय मानव अधिकार आयोगसँग सुरक्षा माग गरेका छन्।

    उनले प्रहरी नियन्त्रणमा रहँदा भएको भनिएको यातना, मोबाइलमा छेडछाड, झुटा प्रमाण सिर्जना तथा अनुसन्धानका सामग्री चुहावटमा संलग्न प्रहरी र अन्य व्यक्तिको पहिचान गरी अनुसन्धान गर्न माग गरेका छन्। दोषी देखिने व्यक्तिमाथि कानुनअनुसार कारबाहीका लागि सिफारिस गर्न पनि उनले आयोगसँग आग्रह गरेका छन्।

    अब मानव अधिकार आयोगको भूमिका के हुन्छ ?

    सापकोटाले लगाएका यी आरोप गम्भीर प्रकृतिका छन्। विशेषगरी पक्राउको स्थान, हिरासतमा राखिएको अवधि, आँखामा पट्टी बाँधिएको भनिएको घटना, बयानका लागि दिइएको दबाब, बरामदी मुचुल्का र मोबाइलमा छेडछाड भएको दाबी स्वतन्त्र रूपमा परीक्षण गर्नुपर्ने विषय हुन् ।

    यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीसीटीभी फुटेज, पक्राउ तथा हिरासतसम्बन्धी अभिलेख, खानतलासी मुचुल्का, डिजिटल फरेन्सिक परीक्षण, अडियो रेकर्डिङको मूल प्रति तथा अनुसन्धानमा संलग्न अधिकारीहरूको भूमिका जाँच गर्नुपर्ने देखिन्छ ।

    तर निवेदनमा लगाइएका आरोप मात्रैका आधारमा कुनै प्रहरी अधिकारीलाई दोषी ठहर गर्न मिल्दैन। त्यसैगरी, अनुसन्धानको नाममा यातना, दबाब, गैरकानुनी हिरासत वा प्रमाण निर्माण भएको भए त्यो पनि गम्भीर मानव अधिकार तथा कानुनी प्रश्न हो ।

    अब राष्ट्रिय मानव अधिकार आयोगले निवेदनमाथि कस्तो छानबिन गर्छ, प्रहरीको जवाफ के आउँछ र सापकोटाका दाबीलाई प्रमाणले कति पुष्टि गर्छन् भन्ने विषयले यो प्रकरणको आगामी दिशा निर्धारण गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images