काठमाडौं – मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४५ लाख ४६ हजार ८३२ रुपैयाँ बराबरको भेटी सङ्कलन भएको छ । मुक्तिनाथ विकास समिति कोषमा चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि कात्तिकसम्म रसिद र दान पेटिकामार्फत उक्त रकम सङ्कलन भएको हो ।
समितिका व्यवस्थापक दिनेश भुसालका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा रसिद र दान पेटिकामार्फत नेपाली २६ लाख ५९ हजार ५५७ रुपैयाँ र भारतीय ११ लाख ७९ हजार ५४७ रुपैयाँ कोषमा जम्मा भएको थियो । उहाँका अनुसार भक्तजनले स्वेच्छाले १०० रुपैयाँभन्दा बढी चन्दा दिन चाहेमा रसिद काटेर सहयोग सङ्कलन गरिँदै आएको छ ।
त्यस्तै, १०० रुपैयाँभन्दा कम दान गर्न चाहने भक्तजनका लागि दान पेटिकामा स्वेच्छिक रूपमा रकम जम्मा गर्न सक्ने व्यवस्था गरिएको छ । चालु वर्षको साउनदेखि कात्तिकसम्म भक्तजनले रसिदमार्फत प्रदान गरेको नेपाली १७ लाख ५८ हजार ५६२ रुपैयाँ र भारतीय तीन लाख ९२ हजार ६८७ रुपैयाँ सङ्कलन भएको छ । मन्दिरमा नेपाली र भारतीय मुद्राबाहेक अन्य १० राष्ट्रका मुद्रा पनि रसिदमार्फत सहयोग तथा दान पेटिकामा जम्मा भएका छन् ।
व्यवस्थापक भुसालका अनुसार चालु आर्थिक वर्षको यस अवधिमा अमेरिकी डलर ८०२, अस्ट्रेलियन डलर २७०, थाइ भाट ४४०, यूएई दिराम १,०२५, क्यानेडियन डलर ७०, मलेसियन रिङ्गेट १२३, बेलायती पाउन्ड २१, ओमानी रियाल पाँच, युरो एक र युआन १३० भेटी सङ्कलन भएको छ ।
समितिका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ सम्म कोषमा ११ करोड ७६ लाख ३३ हजार १९१ रुपैयाँ मौज्दात रहेको छ । उक्त चन्दा रकम कोषको कृषि विकास बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक र साङ्ग्रिला बैंकमा रहेका खातामा जम्मा हुने गरेको छ ।





















