images
images
  • ऊर्जामन्त्री श्रेष्ठद्वारा विभिन्न आयोजनाको अनुगमन

    काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार कास्कीस्थित रूपाताल संरक्षण तथा एकीकृत विकास आयोजनाको अनुगमन गर्नुभएको छ । अनुगमनका क्रममा उहाँले आयोजनाको भौतिक प्रगतिलगायत विषयमा जानकारी लिनुभएको थियो ।

    मन्त्री श्रेष्ठसमक्ष आयोजना व्यवस्थापनले हालसम्म ६५ प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको र आर्थिक वर्ष २०८५/८६ भित्र आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी गराएको थियो । मन्त्री श्रेष्ठले आयोजनास्थलमा देखिएको रुख कटानसम्बन्धी समस्या समाधान गरी कामलाई थप गति दिन मन्त्रालयका तर्फबाट आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ ।

    कुल चार अर्ब ५२ करोड रुपैयाँ लागत रहेको यो आयोजना रूपाताल संरक्षणसँगै पर्यापर्यटन प्रवर्द्धन र स्थानीय विकासका लागि महत्त्वपूर्ण मानिएको छ । रूपाताललाई वातावरण संरक्षण, जैविक विविधताको जगेर्ना र पर्यापर्यटनको नमुना गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिए । यही आधारमा कास्कीका अन्य तालको पनि संरक्षण योजना बनाउन सकिने उनले बताए । प्राकृतिक स्रोतको संरक्षण, विकास र दिगो उपयोगलाई सँगसँगै अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

    मन्त्री श्रेष्ठले शुक्रबार नै गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री फणीन्द्र देवकोटासँग भेट गरी पोखराको पहिचानसँग जोडिएको फेवाताललगायत प्रदेशका ताल तथा जलाशयहरूको संरक्षण, व्यवस्थापन र दिगो उपयोगका लागि सङ्घ र प्रदेशबीच सहकार्य गर्ने विषयमा छलफल गरेको थियो ।

    दुई मन्त्रीबीच गण्डकी प्रदेशको ऊर्जा विकास, जलस्रोतको बहुआयामिक उपयोग, नदी नियन्त्रण, तटबन्धन तथा सिँचाइ आयोजनालाई सङ्घ र प्रदेश सरकारबीचको समन्वय र सहकार्यमा अघि बढाउने विषयमा पनि कुराकानी भएको थियो ।

    त्यस्तै, मन्त्री श्रेष्ठले पोखरास्थित लेखनाथ सबस्टेसनको स्थलगत अनुगमन गरी पोखरा तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति र वितरण प्रणालीको अवस्थाबारे जानकारी लिनुभएको छ । अनुगमनका क्रममा उहाँले विद्युत् प्रणालीको वास्तविक समयको तथ्याङ्क व्यवस्थापन, अनुगमन र विश्लेषणका लागि डाटा सेन्टरको प्रभावकारी सञ्चालन तथा उपयोगिताबारे जानकारी लिएको थियो ।

    हिउँदमा आन्तरिक उत्पादन, बढ्दो माग र अन्तरदेशीय विद्युत् व्यापारबीच उचित तालमेल मिलाउँदै विद्युत् आपूर्ति व्यवस्थापन गर्नुपर्ने मन्त्री श्रेष्ठले बताउनुभयो । उनले नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्रका प्रमुखहरूसँग छलफल गरी विद्युत् वितरण प्रणालीको अवस्था, सेवा प्रवाह र सुधारका चुनौतीबारे जानकारी लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images