images
images
  • धेरै अधुरा कामले थाकिरहेको छ तपाईंको मस्तिष्क ? तनाव कम गर्न अपनाउनुस् यी पाँच उपाय

    काठमाडौं– काम सकिएपछि पनि दिमागमा अनेक कुरा खेलिरहन्छन् ? गर्न बाँकी कामको चिन्ताले फुर्सदको समयमा समेत मन शान्त हुँदैन ? यस्तो समस्या ‘जाइगार्निक प्रभाव’ का कारण हुन सक्छ । केही सामान्य उपाय अपनाएर अधुरा कामको मानसिक बोझ कम गर्न सकिन्छ ।

    मेरो कम्प्युटरमा प्रायः दर्जनौँ ब्राउजर ट्याब खुलिरहेका हुन्छन् । तीमध्ये धेरैजसो यसै स्तम्भका लागि आवश्यक अनुसन्धान सामग्री हुन्छन् । आज मात्रै एउटा विन्डोमा ६१ वटा ट्याब खुला रहेको गनेँ ।

    कुनै परियोजना पूरा भएपछि त्यससँग सम्बन्धित वेबपेज बन्द गर्दा मन हलुका भएको महसुस हुन्छ । किनभने प्रत्येक खुला ट्याबले कुनै न कुनै अधुरो कामको सम्झना गराइरहेको हुन्छ । अनुसन्धानहरूले पनि अधुरा कामले मस्तिष्कमा बोझ थप्ने र ध्यान केन्द्रित गर्ने क्षमतामा असर पार्ने देखाएका छन् ।

    तर कामको प्रकृति नै यस्तो हुन्छ कि एउटा परियोजना सकिनासाथ अर्को सुरु भइहाल्छ । कतिपय अवस्थामा त धेरै काम एकैपटक अघि बढिरहेका हुन्छन् ।

    अधुरा कामका कारण उत्पन्न हुने मानसिक थकान कसरी कम गर्न सकिन्छ भन्ने विषयमा मैले विभिन्न विज्ञसँग कुराकानी गरेँ । त्यसक्रममा कामबाट केही समय अलग हुन सक्नु मानसिक स्वास्थ्यका लागि निकै फाइदाजनक हुने र त्यसका लागि सचेत प्रयास आवश्यक पर्ने थाहा पाएँ ।

    किन अधुरा कामले दिमागमा ठाउँ ओगटिरहन्छन् ?

    अधुरा कामहरू पूरा भएका कामको तुलनामा हाम्रो स्मृतिमा बढी समयसम्म रहिरहन्छन् भन्ने अवधारणा झन्डै एक शताब्दी पुरानो हो ।

    सन् १९२७ मा रुसी मनोवैज्ञानिक ब्लुमा जाइगार्निकले एउटा अध्ययन सार्वजनिक गरेकी थिइन् । उनले गरेको अनुसन्धानमा बीचमै रोकिएका कामहरू पूरा गर्न दिइएका कामको तुलनामा मानिसले बढी सम्झिने पाइएको थियो ।

    यस अनुसन्धानको प्रेरणा एउटा रेस्टुरेन्टमा काम गर्ने वेटरबाट मिलेको बताइन्छ । उनका सुपरभाइजर तथा मनोवैज्ञानिक कुर्ट लेविनले व्यस्त रेस्टुरेन्टमा वेटरहरूले ग्राहकको भुक्तानी नहुँदासम्म उनीहरूको ठूलो अर्डर सम्झिरहने तर भुक्तानी भइसकेपछि त्यसलाई तुरुन्तै बिर्सने गरेको देखेका थिए ।

    टेलिभिजनमा देखाइने अधुरा कथाहरूले पनि दर्शकलाई अर्को भाग हेर्न उत्सुक बनाइरहन्छन् । कथाको गाँठो नफुक्दासम्म पात्रहरूको यात्रा र घटनाक्रम हाम्रो स्मृतिमा ताजा रहिरहन्छ ।

    मनोविज्ञानमा यसलाई अहिले पनि ‘जाइगार्निक प्रभाव’ भनिन्छ । यद्यपि अधुरा काम बढी सम्झिने विषयमा भएका प्रारम्भिक निष्कर्षलाई पछिल्ला अनुसन्धानले सधैँ एकरूपताका साथ पुष्टि गर्न सकेका छैनन् । तर यस अवधारणाले अधुरा कामले हाम्रो मस्तिष्कमा निरन्तर ठाउँ ओगटिरहने विषयमा थुप्रै अध्ययनलाई प्रेरित गरेको छ ।

    जर्मनीस्थित युनिभर्सिटी अफ एप्लाइड साइन्सेस बोन-राइन-सिगकी मनोविज्ञान प्राध्यापक क्रिस्टिन साइरेकका अनुसार मानिसमा कुनै पनि काम पूरा गर्ने र त्यसको निष्कर्षमा पुग्ने स्वाभाविक मानसिक आवश्यकता हुन्छ । काम पूरा नभएसम्म त्यससँग सम्बन्धित जानकारी हाम्रो दिमागमा सक्रिय रहिरहन्छ । साइरेकका अनुसार यसले पछि पुनः काम सुरु गर्दा आवश्यक विवरण सम्झन सजिलो बनाउँछ ।

    तर यसको मानसिक मूल्य पनि चुकाउनुपर्छ । साइरेक र उनका सहकर्मीहरूले गरेका अध्ययनमा साताको अन्त्यसम्म अधुरा रहेका काम तनाव र निद्रामा अवरोधसँग सम्बन्धित रहेको पाइएको छ । त्यस्तै, यस्ता कामले कामकै विषयमा निरन्तर सोचिरहने अवस्था पनि सिर्जना गर्न सक्छन् ।

    अधुरा कामको मानसिक बोझ कम गर्दै कामबाट अलग हुन अपनाउन सकिने पाँच उपाय यस्ता छन्ः

    १) समयलाई आधार बनाएर कामको लक्ष्य निर्धारण गर्नुहोस्

    काम अधुरै रहँदा मानिसमा आफ्नो क्षमता र कार्यसम्पादनप्रति नकारात्मक भावना उत्पन्न हुन सक्छ । एउटा अध्ययनमा काम पूरा नभएका कर्मचारीलाई त्यसबारे निरन्तर सोचिरहने र मानसिक रूपमा कामबाट अलग हुन कठिन हुने पाइएको थियो ।

    तर काममा केही प्रगति भएको महसुस हुँदा आफ्नो क्षमता र नियन्त्रणप्रति विश्वास बढ्ने तथा तनाव कम हुने देखिएको थियो । यसको अर्थ सबै काम अनिवार्य रूपमा पूरा गर्नुपर्छ भन्ने होइन । बरु बाँकी काम कसरी र कहिले पूरा गर्ने भन्ने स्पष्ट योजना बनाउनुपर्छ ।

    आफ्ना कामको प्राथमिकता निर्धारण गर्ने, लक्ष्य तय गर्ने र कामका क्रममा आउन सक्ने अवरोधबारे पहिल्यै सोच्ने मानिसलाई अधुरा कामबाट मानसिक रूपमा अलग हुन सजिलो हुन्छ ।

    प्राध्यापक साइरेकका अनुसार आफूले गर्नुपर्ने काम लेखेर राख्दा मनलाई ढुक्क बनाउन सकिन्छ । ‘मैले यो काम बिर्सिने छैन, किनभने यसलाई लेखेर राखेको छु’ भन्ने विश्वासले मस्तिष्कलाई आराम दिन्छ ।

    काम सुरु गर्नुअघि नै दिनभरिका गतिविधिको योजना बनाउनु पनि उपयोगी हुन्छ । बिहानै प्राथमिकताका आधारमा काम छुट्याउँदा काममा प्रवेश गर्न सहज हुने एउटा अध्ययनले देखाएको छ । मलाई पनि हरेक बिहान आफ्नो कार्यतालिका हेरेर अनुसन्धान र लेखनका लागि अवरोधरहित समय छुट्याउन उपयोगी लागेको छ । यसले निर्धारित काम समयमै पूरा हुने विश्वास दिलाउँछ ।

    २) मोबाइल र अन्य उपकरणका सूचना बन्द गर्नुहोस्

    मोबाइलमा आउने विभिन्न एपका सूचनाले मानिसलाई जुनसुकै समयमा पनि कामका लागि उपलब्ध भइरहन प्रेरित गर्छन् ।

    कामबाट फुर्सद पाएको समयमा समेत हाम्रो मस्तिष्क समस्याको समाधान खोज्नमै व्यस्त हुन सक्छ । क्यानडास्थित ब्रिटिस कोलम्बिया विश्वविद्यालयकी संज्ञानात्मक विज्ञानकी सहायक प्राध्यापक जोन ओङचोको भन्छिन्, उनी अघिल्लो साता पढाएको कक्षाबारे सपनामा समेत सोचिरहेकी थिइन् ।

    इमेल जाँच्ने बानीले पनि काम र पारिवारिक जीवनबीचको सन्तुलन बिगार्न सक्छ । एक समीक्षात्मक अध्ययनले घरमा समेत कामसम्बन्धी इमेल हेर्ने बानीले कार्यालयको कामलाई व्यक्तिगत जीवनसम्म पुर्‍याउने देखाएको छ ।

    त्यसैले तनाव कम गर्ने एउटा सरल उपाय भनेको इमेल जाँच्ने समय घटाउनु हो । कार्यालयको काम सुरु भएपछि मात्रै इमेल हेर्ने वा दिनमा निश्चित समय छुट्याएर इमेल जाँच्ने बानी बसाल्न सकिन्छ ।

    कामका लागि प्रयोग गरिने मेसेजिङ एपमा आउने सूचनाका हकमा पनि यही नियम लागू गर्नुपर्छ । त्यस्तै बिदाका समयमा कामबाट पूर्ण रूपमा अलग हुन सके बिदाको आनन्दसमेत लामो समयसम्म कायम राख्न सकिन्छ ।

    ३) सम्भव भएसम्म एकैपटक धेरै परियोजनामा काम नगर्नुहोस्

    हरेक दिन काम सुरु गर्दा कम्प्युटरमा खुला रहेका धेरै ब्राउजर ट्याबले सूचनाको अत्यधिक चाप अर्थात् ‘इन्फर्मेसन ओभरलोड’ सिर्जना गर्न सक्छन् ।

    एउटा कामबाट अर्को काममा जाँदा मस्तिष्कले उल्लेख्य मानसिक ऊर्जा खर्च गर्नुपर्छ । यसले कार्यक्षमता र एकाग्रतामा असर पार्न सक्छ । त्यसैले सम्भव भएसम्म एउटा काम पूरा गरेपछि मात्रै अर्को काम सुरु गर्नु उपयोगी हुन्छ । यसले मस्तिष्कको तत्कालीन स्मरण क्षमतामा पर्ने भार कम गर्छ ।

    प्राध्यापक ओङचोकोका अनुसार एउटा काम पूरा गरेर त्यसलाई मानसिक रूपमा बन्द गर्दा मस्तिष्कका अन्य कामका लागि आवश्यक स्रोत र ऊर्जा खाली हुन्छ । त्यसैले कुनै काम पूरा गरेपछि मानिसले आफूलाई थप ऊर्जावान् महसुस गर्न सक्छ ।

    ४) बिदाअघि नै कामको समयसीमा र योजना मिलाउनुहोस्

    विशेषगरी चाडपर्व र लामो बिदाको समयमा कामको तनाव बढ्न सक्छ । तर क्रिसमस बिदाअघि र पछि गरिएको एउटा अध्ययनले बिदामा जानुअघि कम अधुरा काम छाडेका कर्मचारीको काममा फर्किएपछिको मानसिक स्वास्थ्य राम्रो रहेको देखाएको थियो ।

    यस विषयमा व्यवस्थापकहरूले पनि कर्मचारीलाई समयमै योजना बनाउन प्रोत्साहित गर्न सक्छन् । प्राध्यापक साइरेकका अनुसार बिदामा जानुअघि सबै काम पूरा गर्नैपर्छ भन्ने छैन । तर आफू फर्किएपछि सहज रूपमा निरन्तरता दिन सकिने अवस्थामा काम छाड्नुपर्छ ।

    यसका लागि बाँकी कामको विवरण लेखेर राख्ने, आवश्यक कागजात व्यवस्थित गर्ने र अर्को चरणमा के गर्ने भन्ने स्पष्ट योजना बनाउने गर्न सकिन्छ । यसले बिदाका समयमा काम बिर्सिने चिन्ता र त्यसबारे बारम्बार सोचिरहने अवस्थाबाट बच्न मद्दत गर्छ ।

    ५) काम र व्यक्तिगत जीवनबीच दूरी बनाउन निश्चित बानी विकास गर्नुहोस्

    कामबाट व्यक्तिगत जीवनमा प्रवेश गर्दा अपनाइने निश्चित गतिविधि अर्थात् ‘ट्रान्जिसन रिचुअल’ ले मस्तिष्कलाई कामबाट अलग हुन मद्दत गर्छ ।

    नेदरल्यान्ड्सस्थित ग्रोनिङ्गेन विश्वविद्यालयका संगठनात्मक मनोविज्ञानका सहायक प्राध्यापक ओलिभर वेइगेल्टका अनुसार वातावरण परिवर्तन गर्नु यसको एउटा प्रभावकारी उपाय हो ।

    उदाहरणका लागि, घरबाटै काम गर्ने मानिसले काम सकिएपछि नजिकैको पार्क वा पसलसम्म हिँडेर जान सक्छन् । अर्को कोठामा प्रवेश गर्नु वा केही समय बाहिर घुमेर आउनु पनि उपयोगी हुन सक्छ ।

    क्यानडास्थित ब्रिटिस कोलम्बिया विश्वविद्यालयकी प्राध्यापक ओङचोकोका अनुसार एउटा कोठाबाट अर्को कोठामा प्रवेश गर्दा मस्तिष्कले अघिल्लो गतिविधिसँग सम्बन्धित स्मृतिलाई केही हदसम्म पन्छाएर नयाँ गतिविधिका लागि ठाउँ बनाउने प्रक्रिया सुरु गर्छ ।

    त्यस्तै काम सकिएपछि ल्यापटप अर्को कोठामा राख्नु पनि उपयोगी हुन्छ । यसले तनाव उत्पन्न गर्ने कामबाट मानसिक दूरी बनाउन सहयोग गर्छ ।

    यी उपायहरूले कामको तनावलाई सही दृष्टिकोणबाट हेर्न र व्यक्तिगत जीवनमा त्यसको प्रभाव कम गर्न मद्दत गर्न सक्छन् । प्राध्यापक वेइगेल्टका अनुसार ससाना काममा मात्रै केन्द्रित नभई समग्र अवस्थालाई हेर्न सक्दा अधुरा कामप्रतिको अनावश्यक चिन्ता कम गर्न सकिन्छ ।

    यी कुरालाई ध्यानमा राख्दै मैले पनि कार्यालय समयबाहिर इमेल नहेर्ने र दैनिक कामको योजना अझ व्यवस्थित बनाउने प्रयास सुरु गरेकी छु । यससँगै म ‘जाइगार्निक प्रभाव’ सँगै ‘ओभ्सियान्किना प्रभाव’ लाई पनि बुझ्ने प्रयास गरिरहेकी छु । यो अवधारणाले मानिसमा अधुरा काम पुनः सुरु गरेर तिनलाई पूरा गर्ने स्वाभाविक चाहना रहने देखाउँछ ।

    त्यसैले कम्प्युटरमा खुला रहेका धेरै ट्याबलाई तनावको स्रोतका रूपमा मात्रै हेर्नुको सट्टा ती पूरा गर्न बाँकी कामको सम्झना गराउने माध्यमका रूपमा लिन थालेकी छु । किनभने अधुरा कामले मानिसलाई निरन्तर आफूतिर आकर्षित गरिरहन्छन् । प्राध्यापक ओङचोकोका अनुसार अधुरा कामप्रतिको आकर्षण निकै बलियो हुन सक्छ । तर यसले कहिले अनावश्यक तनाव सिर्जना गरिरहेको छ भन्ने कुरा पहिचान गर्न सक्नु महत्त्वपूर्ण हुन्छ ।

    -मेलिसा हगबुम/बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images